१५ बैशाख २०८१, शनिबार

विश्व सम्पदा ललितपुरको रातो मच्छेन्द्रनाथ


रातो मच्छेन्द्रनाथ
डा. जगमान गुरुङ
डा. जगमान गुरुङ

काठमाडौँ, भदौ २० । चौरासी बौद्ध सिद्धमा मीनपालाई आठौँ र गोरक्षपालाई नवौँ मानिएको छ । तिनै मीनपा नै मच्छेन्द्रनाथ वा मत्स्येन्द्रनाथ र गोरक्षपा नै गोरखनाथ हुन् । यसैगरी नवनाथमा मत्स्येन्द्रनाथलाई पहिलो र गोरक्षनाथ अथवा गोरखनाथलाई दोस्रो मानिन्छ । शैवहरु मच्छेन्द्रनाथलाई भगवान् शिवका अवतार मान्दछन् भने बौद्धहरुले चाहिँ पद्मपाणी बोधिसत्त्व मान्दछन् ।

भगवान् शाक्यमुनि बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि भविष्यका बुद्ध मैत्रेयले अवतार लिनु भन्दा अघिको यश बीचको अवस्थामा लोकको पालन गर्ने दायित्त्व पद्मपाणी बोधिसत्त्वलाई दिएको छ । अत: वर्तमान कालका कार्यवाहक बुद्ध पद्मपाणी बोधिसत्त्व हुन् । त्यसैले पद्मपाणी बोधिसत्त्व लोकनाथ र जगन्नाथ हुन् । षट्लोकका षट्प्राणिलाई करुणाको दृष्टिले अवलोकन गर्ने हुँदा पद्मपाणी बोधिसत्त्व आर्यावलोकितेश्वर र करुणामय कहलाए ।

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाण्डौका वन्धुदत्त वज्राचार्य र ललितपुरका ललित ज्यापूले मच्छेन्द्रनाथलाई कामरूप कामाख्या देश (असाम) बाट नेपालमा ल्याएको हो भन्ने कथा, विश्वास र मान्यता प्रचलित छ।सिद्ध मच्छेन्द्रनाथ कौलमार्गी र शावरमन्त्रका अधिष्ठाता थिए । यसरी ललितपुरको रातो मच्छेन्द्रनाथको परम्परामा शौवतन्त्र र बौद्धतन्त्रको राम्रो समन्वय पाइन्छ ।

पद्मपाणी बोधिसत्त्व पद्मकुलका बोधिसत्त्व हुन् । पद्मकुलका कुलेश एवं ध्यानीबुद्ध अमिताभ हुन् । पद्मकुलका कुलेश अमिताभको वर्ण रातो हुने हुनाले पद्मकुलका बोधिसत्त्व पद्मपाणिको वर्ण पनि रातो भएको हो । पद्मपाणी बोधिसत्व आर्यावलोकितेश्वर नै प्रसिद्ध बौद्ध षटाक्षरी मन्त्र ॐमणिपद्मेहूँका अधिष्ठाता हुन् ।

सबभन्दा पहिले कारण्डव्यूहासूत्रमा आर्यावलोकितेश्वर र षटाक्षरी मन्त्र ॐमणिपद्मेहूँको उल्लेख आएको छ । इस्वी पाँचौँ शताब्दीमा भारतको भ्रमणमा आएका चिनियाँ यात्री फाह्यानले समुद्रको प्रवासमा समुद्री आँधीबाट वचन आर्यावलोकितेश्वरको प्रार्थना गरेका थिए ।

नेपालका राजकुमारी भृकुटीले आफुसंग रक्तचन्दनमा बनेको पद्मपाणी बोधिसत्त्वको मूर्ति लगेका थिए । अहिले पनि उक्त मूर्ति ल्हासाको जोखाङमा स्थापित छ ।

खस समुदायका कुलदेवता बाह्र भाइ मष्ट, नौ बहिनी भवानी र तिनका मामा लामा- विष्णु हुन् । एउटै देवतालाई लामा पनि र विष्णु पनि मान्ने हुनाले लामा-विष्णु भनेको हो । यस सन्दर्भमा लामा भन्नाले लामा बौद्ध धर्ममा अति लोकप्रियताका साथ मानिने पद्मपाणी बोधिसत्त्व आर्यावलोकितेश्वर (फाग्प च्यङरेसी) हुन् ।

प्रसिद्ध खस राहा पृथ्वी मल्लको दुल्लुको कीर्ति स्तम्भको शीर्ष भागमा बौद्ध चैत्यको आकृति अङ्कित गरिएको छ र प्रसिद्ध बौद्ध षटाक्षरी मन्त्र ॐमणिपद्मेहूँबाट कीर्ति स्तम्भको व्यहोरा शुभारम्भ गरिएको छ ।

कार्णीलीको लामा-विष्णु गण्डकीमा आएपछि मुक्तिनाथको रूपमा स्थापित हुन्छ । मुक्तिनाथलाई हिन्दूहरु भगवान् विष्णु र बौद्धहरु आर्यावलोकितेश्वर ( फाग्प च्यङरेसि ) मान्दछन् । मुक्तिनाथको मन्दिरमा भोटेनी झुमा पुजारी र सुवेदी ब्राह्मण पुरेतका रूपमा मिलेर बसेका छन् ।

ललितपुरको रातो मच्छेन्द्रनाथको पूजा बौद्धतन्त्र अनुसार गरिन्छ।यहांका पूजारी शाक्य छन् र वज्राचार्यले आचार्यत्व ग्रहण गर्दछ । अघि स्वयं भगवान् शिवको साक्षात् दर्शन र आशीर्वाद पाएका क्वाल्खु जोशीका सन्तानले मच्छेन्द्रनाथको साइत हेर्दछ ।

वर्षमा एक पटक वैशाख महिनामा ब्राह्मणद्वारा एक आवृत्ति रूद्री पाठ गरेर मच्छेन्द्रनाथलाई श्रवण गराउने परम्परा छ । अक्षया तृतियाको दिनमा ब्राह्मणलाई गौदान गरिन्छ र रथयात्राको अगुवाई पनि ब्राह्मणले नै गर्दछ ।

यसरी ललितपुरको रातो मच्छेन्द्रनाथमा सर्वधर्मसमभावको भावना पाइन्छ । ललितपुरका विविध समुदायका मानिसहरु आ-आफ्नो तोकिएको कार्यमा लागेका हुन्छन् ।

शिवत्व, बुद्धत्व र बोधिसत्त्वको भावना जगतको कल्याण गर्नु हो । अहिले ललिरपुरको रातो मच्छेन्द्रनाथको रथयात्रा विश्व सम्पदाको सूचीमा सूचीकृत भएकोछ । अत: हामीले हाम्रो विश्व सम्पदालाई विश्व सम्पदा कै आदर्श र मर्यादा अनुरूपको व्यवहार गर्न सक्नु पर्दछ ।

रातो मच्छेन्द्रनाथलाई विरन्चिनारायणको रूपमा पनि मानिन्छ । विरन्चिनारायण भनेका सूर्यनारायण हुन् । अत: जसरी सूर्यको किरण सर्वत्र प्रकाशमान हुन्छ, त्यसरी नै करुणामय रातो मच्छेन्द्रनाथको करुणा दृष्टि पनि समद्रुष्टिले सबैमा रहेको हुन्छ ।

त्यसकारण कुनै एउटा व्यक्ति, समूह, जाति एवं समुदाय, एउटा निश्चित भेक र देश भित्र मात्रै करुणामय मच्छेन्द्रनाथको महिमालाई संकुचित बनाएर राख्न हुँदैन । व्यापक र उदार दृष्टिले मच्छेन्द्रनाथको महिमा र गरिमालाई विश्वमा स्थापित गर्नु पर्दछ ।

रातो मच्छेन्द्रनाथको परम्परा र रथयात्रा कुनै एउटा व्यक्ति र समूहको इच्छ्या र मर्जी अनुसार चल्ने कुरा होइन । सबैको रीति थिति र नियम परम्परा छ । ललितपुरका राजा श्रीनिवास मल्लले सबै परम्पराको वर्ष दिनभरीको थिति बाँधेर तबहाल अथवा मच्छेन्द्रबहालमा संवत्सर ल्होँ (संवत्सर शिलापत्र) राखिदिएका छन् । अत: त्यही शिलापत्र अनुसार सबै व्यवस्था चल्नुपर्दछ ।

जुन दिनमा रातो मच्छेन्द्रनाथको रथयात्रा शुभारम्भ गर्ने हो, त्यस दिन आज भगवानको रथयात्रा गरिन्छ भनेर मच्छेन्द्रनाथलाई बक्साउनु पर्दछ । यसैगरी मङ्गलबजारस्थित दरबारमा गएर ललितपुरका मल्ल राजाको खडगलाई बक्साउनु पर्दछ ।

त्यसपछि उक्त खड्गलाई झल्लरी छाता ओडाएर राजकीय सम्मानका साथ गुरुजुको पल्टनलाई अघि लगाएर खड्गलाई रथमा ल्याएर विराजमान गराउनु पर्दछ । त्यसपछि राजाको आज्ञा अनुसार रथतात्रा गराउनु पर्दछ।रथले अखडा छोडेपछि बन्दुक पड्काएर बढाइँ गर्नुपर्दछ ।

यो नीति नियम र धर्म हो । यतो धर्म, ततो जय।यो शास्त्र वचन छ । त्यसकारण जहाँ धर्म हुन्छ; त्यहाँ जय हुन्छ।धर्म भएन भने क्षय हुन्छ । जसले अधर्म गर्छ, त्यसको क्षय हुन्छ । जो धर्ममा रहन्छ, जसले नीति नियम मान्दछ, त्यसको जय हुन्छ ।

त्यसकारण बडो संतमित भएर आफ्नो पनि इज्जत रहने, समुदायको पनि इज्जत रहने राष्ट्रको पनि इज्जत बढ्ने काम गरेर विश्व सम्पदाको सूचीमा सूचीकृत रातो मच्छेन्द्रनाथको प्रत्येक कृयाकलापलाई राम्ररी सुसम्पन्न गर्नका लागि हामीले हाम्रो सोँचाई र व्यवहारमा कुशल रूपान्तरण ल्याउन अत्यावश्यक छ । अत: हामीहरु बडो सुसंस्कृत भएर हाम्रा मूर्त-अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा लागौँ ।

करुणामय भगवान् श्री रातो मच्छेन्द्रनाथले हामी सबैलाई यस दिशातिर उन्मुख हुनका लागि सद्ज्ञान,सद्बुद्धि र शुभ आशीर्वाद दिउन्।
।।शुभम्।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

बेला बखतका कुरा : डा. जगमान गुरुङ

गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व

नेपालको गौरव र नेपालीको स्वाभिमान : नेपालको राष्ट्रिय झण्डा

नेपाल राष्ट्रका लागि जागौँ 

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !