७ बैशाख २०८१, शुक्रबार

नेपालको गौरव र नेपालीको स्वाभिमान : नेपालको राष्ट्रिय झण्डा


नेपालको राष्ट्रिय झण्डा
डा. जगमान गुरुङ
डा. जगमान गुरुङ

नेपालको राष्ट्रिय झण्डाको भावपक्ष, कलापक्ष र अन्तरवस्तु अर्थात् दार्शनिकतत्त्वको विवेचना गर्नका लागि ज्योतिषशास्त्र र तन्त्रशास्त्रको ज्ञान अपरिहार्य छ । भावपक्ष भनेको ज्ञान अथवा दार्शनिक चिन्तन र कलापक्ष चाहिँ त्यसको प्रस्तुति हो । त्यसकारण नेपालको राष्ट्रिय झण्डाको दार्शनिक विवेचना गर्नुभन्दा पहिले यसको भौतिक संरचनाको व्याख्या गर्न आवश्यक छ ।

नेपालको राष्ट्रिय झण्डामा दुईवटा त्रिकोणलाई साङ्केतिक रुपमा प्रस्तुत गरिएको छ । त्यसकारण नेपालको राष्ट्रिय झण्डाको स्वरुप त्रिकोणात्मक एवं द्विपताकायुक्त छ । अत: सबभन्दा पहिले त्रिकोणको व्याख्या गर्न आवश्यक छ ।

नेपालको राष्ट्रिय झण्डाको भावपक्ष, कलापक्ष र अन्तरवस्तु अर्थात् दार्शनिकतत्त्वको विवेचना गर्नका लागि ज्योतिषशास्त्र र तन्त्रशास्त्रको ज्ञान अपरिहार्य छ ।

आधुनिक विज्ञानले त्रिकोण, त्रिभुज वा Triangle लाई Electron, Proton र Neutron को प्रतीकात्मक स्वरुप मानेको छ । Electron, Proton र Neutron त्रिशक्ति हुन् र यिनै त्रिशक्तिको संयोजनबाट यस जगतको संरचना र सन्चालन भएको छ ।

नेपालको राष्ट्रिय झण्डामा दुईवटा त्रिकोणलाई साङ्केतिक रुपमा प्रस्तुत गरिएको छ । त्यसकारण नेपालको राष्ट्रिय झण्डाको स्वरुप त्रिकोणात्मक एवं द्विपताकायुक्त छ ।

यी तीन तत्त्वमा Electron चाहिँ Negation अथवा Negative हो । Proton चाहिँ Position अथवा Positive हो । Neutron चाहिँ Neutral हो । यसमध्ये Electron अथवा Negation वा Negative चाहँ स्त्रीतत्त्व र Proton अथवा Position वा Positive चाहिँ पुंतत्त्व अर्थात् पुरुषतत्त्व हो । Neutron अथवा Neutral चाहिँ मध्यस्थतत्त्व हो ।

Electron र Proton यी दुई विद्युतीय धार अनादिकालदेखि नै अविरल रुपमा वगिरहेको छ र यिनै Electron र Proton को Motion अथवा घर्षणबाट उत्पन्न हुने उर्जा अथवा शक्तिबाट यो सम्पूर्ण जगत परिचालित छ ।

योगविज्ञानमा Electron, Proton र Neutron लाई इडा, पिङगला र सुषुम्ना भनेको छ । यी तीन नाडीमा इडा नाडि चन्द्र नाडी हो र चन्द्र नाडी Electrron अथवा Negation हो । पिङ्गला नाडी सूर्य नाडि हो र सूर्य नाडी Proton अथवा Position हो । सुषुम्ना नाडी अग्नि नाडी हो र अग्नि नाडी Neutron अथवा Neutral हो ।

इडा नाडी वा चन्द्र नाडी वा Electron अथवा Negation वायाँवर्त (Anti Clockwise) घुम्दछ र पिङ्गला नाडी वा सूर्य नाडी अथवा Proton वा Positive चाहिँ दायांवर्त (Clockwise) घुम्दछ । यसरी ज्ञान र विज्ञानले मानेका त्रिकोण ,त्रिभुज वा Triangle छन् ।

उपरोक्त प्रकारका दुईवटा त्रिकोणको संयोजनबाट षट्कोण बन्दछ । षट्कोण सृष्टि चक्रको प्रतीक हो । सृष्टि चक्रको सन्दर्भमा सबभन्दा पहिले प्रकृति पुरुषात्मकं जगत् अर्थात् प्रकृति र पुरुषको संयोजनबाट जगतको संरचना भएको छ भन्ने सिद्धान्त बुझ्न आवश्यक छ ।

षट्कोणमा उर्ध्वत्रिकोण अथवा तलबाट माथितिर फर्केको त्रिकोण पुंतत्त्व अथवा पुरुषतत्त्वको प्रतीक हो । यसैगरी अधोत्रिकोण अथवा माथिबाट तलतिर फर्केको त्रिकोण स्त्रीतत्त्वको प्रतीक हो । प्रकारान्तरले उर्ध्वत्रिकोण लिङ्गको प्रतीक हो र लिङ्ग पुरुषको चिह्न हो । यसैगरी अधोत्रिकोण योनीको प्रतीक हो र योनी स्त्रीको चिह्न हो ।

यस प्रकारको षट्कोणको मध्यभागमा वैन्धवचक्र अथवा महाबिन्दुको रुपमा एउटा बिन्दु रहेको हुन्छ । शुक्लबिन्दु र रक्तबिन्दुको समन्वयबाट महाबिन्दु बनेको हुन्छ । शुक्लबिन्दु पुरुषतत्त्व हो, किनभने पुरुषको वीर्य सेतो वर्णको हुन्छ । रक्तबिन्दु स्त्रीतत्त्व हो, किनभने स्त्रीको रज रातो वर्णको हुन्छ ।

यसरी शुक्लबिन्दु र रक्तबिन्दु अथवा बिन्दु बिन्दुबाट महाबिन्दु बन्दछ । यो महाबिन्दु परम शून्यता (Absolute Voidness) हो । शून्यता विद्यते तत्र तस्यामपि स: विद्यते अथवा शून्यतामा शून्य स्वरुपले रहेको त्यो महाबिन्दु अविनाशी ईश्वर हो । त्यही अविनाशी ईश्वर महाबिन्दुबाट नै यस सम्पूर्ण चराचर जगतको सृष्टि हुन्छ र त्यही महाबिन्दुमा गएर चराचर जगतको लय हुन्छ ।

षट्कोणको मध्यवर्ती यस महाबिन्दुलाई आधुनिक विज्ञानले डट ( . ) मानेको छ र अहिले यही डट (. ) कमबाट यो विश्व जगत परिचालित छ । नेपालको राष्ट्रियझण्डामा चन्द्र र सूर्यलाई षट्कोणको केन्द्रमा अवस्थित महाबिन्दुको रुप मानिएको छ । द्वादशादित्य अर्थात् बाह्र महिनाका बाह्र सूर्य हुन्छन् । अत: सूर्यलाई बाह्र कोणमा प्रस्तुत गरिन्छ । चन्द्रमाको सोह्र कला हुन्छ । त्यसकारण आफ्नो सोह्र कलाले पूर्ण भएको चन्द्रमा पूर्णचन्द्र कहलाउँदछ ।

कृष्ण पक्षको चन्द्रमा क्षीण हुन्छ । शुक्ल पक्षको चन्द्रमा भरिलो हुन्छ । अत: शुक्ल पक्षको चन्द्रमा अभिवृद्धिको प्रतीक हो । त्यसकारण नेपालको राष्ट्रिय झण्डामा अभिवृद्धिका द्योतक शुक्लपक्षका प्रतीक स्वरुप अर्द्धचन्द्र अङ्कित गरिएको छ ।

नेपालको राष्ट्रिय झण्डामा चन्द्र सूर्य दुबैलाई सेतो वर्णमा प्रस्तुत गरिएको छ, किनभने शुक्लां ब्रह्मविचार सार परमाम् यस्तो सदुक्ति छ । ब्रह्मविचार भनेको अकाट्य सत्य र सदज्ञान, सद्विचार हो । ब्रह्मविचार शुक्ल अथवा सेतो र सफा वर्णको हुन्छ । त्यसकारण नेपालको राष्ट्रिय झण्डामा चन्द्र र सूर्यलाई ब्रह्मविचार अथवा अकाट्य सत्य र सदज्ञान, सद्बुद्दिको प्रतीक स्वरुप सेतो वर्णमा प्रस्तुत गरिएको हो ।

यसरी नेपालको त्रिकोणात्मक एवं द्वीपताकायुक्त राष्ट्रिय झण्डामा जगतको स्रुष्टिचक्र सम्बन्धी दर्शनलाई साङ्केतिक अथवा प्रतीकात्मक रुप (Symbolic Representation) मा प्रस्तुत गरुएको छ । यो नै नेपालको त्रिकोणात्मक एवं द्वीपताकायुक्त राष्ट्रिय झण्डाको भावपक्ष, कलापक्ष एवं अन्तरवस्तु वा दार्शनिक चिन्तनको प्रस्तुति हो ।

नेपालको राष्ट्रिय झण्डाको घेरामा नीलो रङले रेखाङ्कन गरिएको छ । नीलो रङ आकाशको प्रतीक हो र आकाश सर्वव्यापकताको द्योतक हो । झण्डाको भित्री भागमा रातो रङको प्रयोग गरिएको छ । रातो रङ विजयको प्रतीक हो । अत: रातो भूईँ र नीलो घेराले विश्व विजयको महत्वाकाङ्क्षालाई बुझाउँदछ । नीलो वर्ण अक्ष्योभ्य अर्थात् अक्षय र शान्तिको प्रतीक पनि हो । अत: नेपालको राष्ट्रियझण्डामा प्रयुक्त रातो र नीलो वर्णले विश्व विजय, विश्व शान्ति र विश्वमा शान्तिको स्थायित्वको भावनालाई दर्शाउँदछ ।

नेपालको राष्ट्रिय झण्डामा प्रयुक्त चन्द्र र सूर्यको चिह्नले ठूलो दार्शनिक महत्त्व राख्दछ । नेपालको राष्ट्रिय झण्डामा चन्द्रमालाई माथि र सूर्यलाई तलपट्टी राखिएको छ । पृथ्वीबाट चन्द्रमा नजिक र सूर्य टाढा छ । अत: चन्द्रमालाई तल र सूर्यलाई माथिपट्टि राख्न पर्ने मत पनि छ । यस सन्दर्भमा बुझ्न पर्ने कुरा के छ भने सूर्यको सौर्यशक्तिबाट यो जगत परिचालित छ । सूर्य अग्नितत्त्व र चन्द्रमा जलतत्त्व हो । जलतत्त्व अम्रुततत्त्व हो । अम्रुततत्त्व अमरत्व हो । अमरत्व मृत्युन्जय हो । त्यसकारण महामृत्युन्जय भगवान् शिवले आफ्नो मस्तकमा त्यो अमरत्वको प्रतीक चन्द्रमा धारण गरेर शशाङ्कशेखर कहलाउनु हुन्छ र कालकूट विष पिएर जगतको कल्याण गर्नुहुन्छ ।

अर्को कुरा चन्द्रमा मनसो जात: अर्थात् चन्द्रमा मानिसको मन हो।यसैगरी मनैव मनुष्याणां कारणं बन्धमोक्षयो अर्थात् मन नै मानिसको बन्धन र मोक्षको कारण हो । त्यसकारण सूर्यको सौर्यशक्तिको सदुपयोग गरेर त्यस शक्तिलाई विश्व जगतको कल्याणमा लागाउने आशयको प्रत्याभूतिका लागि नेपालको राष्ट्रिय झण्डामा चन्द्रमालाई माथि र सूर्यलाई तल राखिएको हो । चन्द्र र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाको मनोविज्ञान यही हो । त्यसकारण चन्द्र र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा विज्ञान सम्मत छ ।

यसरी नेपालको राष्ट्रियझण्डा ज्ञान, विज्ञान, दर्शन, ज्योतिष, तन्त्र र कलाकारिताले संयुक्त छ । यो नै नेपालको राष्ट्रियझण्डाको गरिमा र महत्ता हो । अब यस्तो गरिमामय राष्ट्रिय झण्डाको ऐतिहासिकताको सन्दर्भमा विवेचना गर्न आवश्यक छ । लिच्छवि राजा मानदेव (ईस्वी ४६४) को समयदेखि अभिलेखीय प्रमाणहरुको आधारमा नेपालको ईतिहास प्रष्टिन आउँछ । जुन देशको आफ्नो मुद्रा हुँदैन, त्यो देश स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुन सक्तैन । मानदेवको मानाङ्क अभिलेख अङ्कित तामाको मुद्रा पाइएको छ । मानदेवको मानाङ्क मुद्रामा सिंह र द्वीपताकायुक्त झण्डा अङ्कित गरिएको छ ।

सिंह राज्यसत्ताको प्रतीक र झण्डा चाहिँ सार्वभौमसत्ताको प्रतीक हो । यसरी मानदेवको मानाङ्क मुद्राले नेपालको स्वतन्त्रता र सार्वभौमिकता प्रदर्शन गरेको छ । लिच्छविकालका शासक महासामन्त अंशुवर्मा (ईस्वी ६०५) को मुद्रामा पनि द्वीपताकायुक्त झण्डा अङ्कित गरिएको छ । यसका साथै अंशुवर्माका मुद्राहरुमा चन्द्र र सूर्यका आक्रुतिहरु अङ्कित गरिएका छन् ।

यसरी नेपालको चन्द्र र सूर्य अङ्कित त्रिकोणात्मक द्वीपताकायुक्त झण्डा कम्तिमा पनि १६०० वर्ष अघि देखिको लामो गौरवमय ईतिहास भएको राष्ट्रियझण्डा हो र अतीत कालदेखि वर्तमानसम्म चन्द्र र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाको परम्परा रहि आएको छ । प्रत्यक्षं ज्यौतिषंशास्त्र चन्द्रार्कौ यस्य साक्षीणौ यो ज्योतिषशास्त्रको मान्यता छ र नेपालले यो मान्यतालाई अहिलेसम्न अक्षुण्ण रुपले पालन गरि आएको छ । त्यसकारण ज्ञान, विज्ञान , दर्शन, ज्योतिष, तन्त्र र भावनात्मक अमूर्त कला कारिता आदि सम्पूर्ण शास्त्रले संयुक्त यस्तो लामो एवं गरिमामय ईतिहास भएको राष्ट्रिय झण्डा नेपाल बाहेक विश्वका अरु कुनै पनि देशको छैन ।

ज्ञान, विज्ञान , दर्शन, ज्योतिष, तन्त्र र भावनात्मक अमूर्त कला कारिता आदि सम्पूर्ण शास्त्रले संयुक्त यस्तो लामो एवं गरिमामय ईतिहास भएको राष्ट्रिय झण्डा नेपाल बाहेक विश्वका अरु कुनै पनि देशको छैन ।

अत: नेपालको राष्ट्रिय झण्डा केवल नेपालको मात्रै नभएर सम्पूर्ण विश्व कै सम्पदा र गौरव हो । नेपाल अहिलेसम्न कुनै देशको दास र गुलाम भएर बसेको छैन । अतित कालदेखि नै चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डाको छहारीमा नेपाल राष्ट्र अडिएको छ र नेपाली राष्ट्रियताको विकास ( Process of Nepalisation ) भएर आएको छ ।

चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा नेपालको स्वाभिमान हो । टिष्टादेखि काँगडासम्म र दिगर्चादेखि मिथिला र अवधका फाँटहरुमा फहराएको यो राष्ट्रिय झण्डा नेपालीहरुको शान हो ।

तसर्थ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा नेपालको स्वाभिमान हो । टिष्टादेखि काँगडासम्म र दिगर्चादेखि मिथिला र अवधका फाँटहरुमा फहराएको यो राष्ट्रिय झण्डा नेपालीहरुको शान हो । त्यसकारण अन्ततोगत्वा चन्द्र र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाको यस्तो गुह्य तत्त्वज्ञान र गौरव गाथालाई राम्ररी हृदयंगम गरी चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा मुनि समन्वयात्मक अध्यात्मवादको भावनाले ओतप्रोत भई एकताबद्ध ढङ्गले रहेर नेपाल राष्ट्रको लामो गौरवमय ईतिहास र परम्परालाई अखण्डित र अक्षुण्ण राखेर आफ्नो नेपाल राष्ट्रको स्वतन्त्रता, सार्वभौमिक्ता र स्वाभिमानलाई बचाएर बाँच्न सक्नु आजका हामी सबै नेपालीहरुको परम दायित्त्व हो।

।।ॐ राष्ट्र धारयेत ध्रुवम्।। जय नेपाल ।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

नेपाल राष्ट्रका लागि जागौँ 

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !