, वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व

वैशाख शुक्ल पूर्णिमाको अर्को नाम चण्डी पूर्णिमा हो

 डा. जगमान गुरुङ

डा. जगमान गुरुङ

चन्द्रमा विशाखा नक्षत्रको नजिकमा गएर आफ्नो सोह्र कलाले पूर्ण भएको दिन वैशाख शुक्ल पूर्णिमा कहलाउँदछ र वैशाख शुक्ल पूर्णिमाको नामबाट त्यस महिनाको वैशाख नाम रहेको हुन्छ । वैशाख शुक्ल पूर्णिमा समन्वयको पर्व हो किनभने वैशाख शुक्ल पर्णिमालाई माध्यम बनाएर त्यस दिन विभिन्न समुदायले आ-आफ्ना तरिकाबाट पर्व मनाउँदछन् ।

वैशाख शुक्ल पूर्णिमाको अर्को नाम चण्डी पूर्णिमा हो । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भइन् । चण्डिका भगवतीले चण्डनाम दैत्यलाई बध गरेको हुँदा देवी भगवती चण्डी अथवा चण्डिका कहलाइन् र वैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।

वैशाख शुक्ल पूर्णिमाको अर्को नाम चण्डी पूर्णिमा हो । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भइन् ।

नेपाली समाज र संस्कृति तन्त्रमय छ । अत: चण्डी पूर्णिमाका दिन कतिपय समुदायले आफ्नो देवाली वा कुलपूजा गर्दछन् । नेपाली समाज र संस्कृतिमा देवाली वा कुलपूजाको ठूलो महत्त्व छ । त्यसकारण नेवारको गुठी, पर्वतेको देवाली र गुरुङको अर्घौँ भन्ने उखान प्रचलित छ ।

कुलपूजा वा कुलायान पूजा भन्नाले सामान्यतया आफ्नो कुल परम्परा अनुसार गरि आएको पूजा भन्ने बुझिन्छ तर कुलपूजा वा कुलायन पूजा शक्ति उपासनाद्वारा गरिने शक्ति पूजा हो किनभने कुल भनेका शक्ति र अकुल भनेका शिव हुन् । त्यसकारण कुलका उपासकहरु कौल कहलाउँदछन् र कौलहरुको उपासना पद्धतिलाई कौलमार्ग भन्दछन् ।

कौलमार्ग पनि पूर्वकौल र उत्तरकौल गरि दुई प्रकारका छन् । यी दुबै मार्गमा चक्रपूजा गरिन्छ । चक्रपूजा भनेको योनि पूजा हो । योनी प्रजनन र उर्बरको प्रतेर्क हो । पूर्व कौलले धातुपत्र वा वस्त्रमा योनीको प्रतीक स्वरुप अधि त्रिकोण लेखेर त्यसमा चक्रपूजा गर्दछन् तर उत्तरकौलले चाहिँ जीवित मानव कन्याको योनिमा चक्रपूजा गर्दछन् । आजकल जीवित मानव कन्याको योनिमा चक्रपूजा नगरेर कन्या कुमारीको पूजा गर्ने प्रचलन रहेको पाइन्छ ।

यसरी चक्रपूजा गर्ने विधान कौल मार्गको हो तर नेपालमा गरिने कुलायन पूजामा भने आ-आफ्नो कुल परम्परा अनुसार मानी आएको देवीको पूजा गरिन्छ । वैशाख शुक्ल पूर्णिमाको मध्याह्न कालमा लुम्बिनी उपवनमा भगवान् शाक्यमुनि बुद्धको जन्म भयो । त्यसपछि वैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्तीको रुपमा प्रसिद्ध भयो ।

भगवान् शाक्यमुनि बुद्धको जन्म तिथि मितिका सम्बन्धमा सिंहली र केन्टोनिज गरि दुई वटा मत छन् । सिंहलीमत साहित्यिक स्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहलीमतको विकाश भएको हो । नेपालमा थेरवादी बौद्धधर्मको प्रचार प्रसार श्रीलङ्काबाट भएको छ । त्यसकारण अहिले नेपालमा सिंहलीमत अनुसारको भगवान् बुद्धको जन्म मिति प्रचलित छ ।

केन्टोनिजमतको विकाश पूर्वी चीनको केन्टन शहरबाट भएको हो । भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि प्रत्येक वर्ष केन्टनको एउटा ढुङ्गाको गुफाको पहरोमा एउटा थोप्लो अङ्कित गरेर बुद्धको महापरिनिर्वाण वर्षको अभिलेख राख्न थालियो।यसलाई डटेट रेकर्ड भनिन्छ । सन् ४८९ सम्म यस्तो थोप्लोको संख्या ९७५ पुगेको थियो ।

भगवान् शाक्यमुनि बुद्धको जन्म ई. पू .५६६ मा भएको मानिएको छ । यदि सिंहलीमतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ र भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ तर केन्टोनिजमतलाई मान्दा ई. पू. ५६६ मा बुद्धको जन्म भएको थिति मिति मिल्न आउँछ ।

यदि साहित्यिक प्रमाणलाई पुरातात्त्विक प्रमाणले पुष्टि गर्छ भने साहित्यिक प्रमाणलाई मान्न सकिन्छ तर साहित्यिक प्रमाण र पुरातात्त्विक प्रमाण फरक पय्रो भने साहित्यिक प्रमाणलाई भन्दा पुरातात्त्विक प्रमाणलाई मान्यता दिनुपर्छ । त्यसकारण भगवान् शाक्यमुनि बुद्धको जन्मको थिति मितिका सन्दर्भमा सिंहलीमत भन्दा केन्टोनिजमत नै प्रामाणिक ठहरिन आउँछ ।

भगवान् शाक्यमुनि बुद्धको जन्मका सन्दर्भमा पश्चात्कालिन महायानी ग्रन्थहरुले अतिरन्जित र अलौकिक बनाइदिएको पाइन्छ । आषाढ शुक्ल पूर्णिमाको रातमा सेतो हात्तीको रुपमा शिशु बोधिसत्वले मायादेवीको गर्भमा प्रवेश गरे भन्ने कथा प्रचलित छ तर यो कुरा मान्न सकिँदैन किनभने पुरुषले गर्भाधान नगरेसम्न कुनै पनि महिलाले जाय जन्म गर्न सक्तौन । त्यसकारण सेतो हात्तीको रुपमा शिशु बोधिसत्वले मायादेवीको गर्भमा प्रवेश गरेको नभई आषाढ शुक्ल पूर्णिमाको रातमा शुद्धोधन महाराजले मायादेवीलाई गर्भाधान गरेको हुनुपर्छ ।

यसैगरी भगवान् बुद्ध मायादेवीको योनिबाट जन्मेका होइनन्, मायादेवीको दाहिने कोखाबाट बाहिर निस्केका हुन् भन्ने कथा जोडेर बुद्धलाई अयोनिज सिद्ध गर्ने प्रयाश गरिएको छ । थेरवादी जातक कथा र प्रारम्भिक महायानी ग्रन्थहरुमा यस्तो उल्लेख पाइँदैन । त्यसकारण अघि नै भनिए झौँ पश्चात्कालिन महायानी एवं वज्रयानी साहित्यले बुद्धमा देवत्व आरोपित गरेर उनको जीवनीलाई अलङकारिक, अतिरन्जित र अलौकिक बनाइदिए ।

हुनसक्छ, त्यसबेला पनि अहिलेको जस्तो सर्जिकल प्रविधिको विकाश भएर त्यसको माध्यमबाट जातकलाई दाहिने कोखाबाट निकाल्न नसकिने होइन, यो कुरा स्वाभाविक छ तर बुद्धले जन्मना साथ सात पाइला हिँडे, पृथ्वीले पाइलै पिच्छे एक एकवटा कमलको फूल उत्पन्न गराए, त्यही कमलको फूलमा टेकेर बुद्ध हिंडे, सातौँ पाइलामा पुगेपछि उभिएर दाहिने हातको चोर औँला ठड्याएर आफ्नो जन्म बारे उद्घोष गरेको कथा चाहिँ अतिरन्जित र अलौकिक छ । त्यसकारण यो कुरा कदापि हुन सक्तैन ।

त्यसकारण हामीले हाम्रा कथा र कथाका पात्रहरुलाई भक्तिभावको फूलले छोपेर ईश्वरको नाउँमा अतिरन्जित र अलौकिक बनाइदिन हुन्न । सबै कुराको वैज्ञानिक व्याख्या र विश्लेषण गरिनुपर्छ । यसो गरिएमा सबैले विश्वास गर्छन् र पत्याउँछन् । विज्ञान सम्मत व्याख्या र विश्लेषण गरिएन भने हाम्रा श्रद्धा र आस्थाहरु अन्धविश्वासको घेरामा सीमित हुन जान्छ र आफुलाई कथावाचक पण्डित भन्न रुचाउने एउटा व्यक्तिले धर्मभिरु भक्तहरुका सामुन्ने कथा भन्ने एउटा विषयवस्तु मात्र बन्न जानेछ ।

वैशाख शुक्ल पूर्णिमाको मध्याह्न कालमा जन्मेका भगवान् बुद्धले वैशाख शुक्ल पूर्णिमाको ब्रह्म मुहूतमा निरन्जना नदीको किनारामा अवस्थित उरुबेला तीर्थमा पिपलवृक्षको फेदमा बोधिज्ञान प्राप्त गर्नुभयो । त्यसपछि उक्त स्थान बुद्ध गयाको नामबाट प्रसिद्ध भयो र पिपलवृक्ष बोधिवृक्ष नामले कहलायो र हिन्दू तथा बौद्ध दुबै धर्ममा पिपलवृक्षले ठूलो महत्त्व पायो ।

वैशाख शुक्ल पूर्णिमाको मध्याह्न कालमा जन्मेका भगवान् बुद्धले वैशाख शुक्ल पूर्णिमाको ब्रह्म मुहूतमा निरन्जना नदीको किनारामा अवस्थित उरुबेला तीर्थमा पिपलवृक्षको फेदमा बोधिज्ञान प्राप्त गर्नुभयो ।

भगवान् बुद्धले वौशाख शुक्ल पूर्णिमा कै मध्याह्न कालमा कुशिनगरको शलवनमा महापरिनिर्वाण प्राप्त गर्नुभयो । भगवान् बुद्धको जन्म, बोधिज्ञान प्राप्त, धर्मचक्रप्रवर्तन र महापरिनिर्वाणको घटनालाई महाप्रातिहार्य भन्दछ । त्यसकारण वैशाख शुक्ल पूर्णिमा केवल बुद्धको जन्मसंग मात्र नभएर जन्म, बोधिज्ञाम प्राप्त र महापरिनिर्वाण यी तिनवटा महाप्रातिहार्यसंग सम्बन्धित छ ।

वैशाख शुक्ल पूर्णिमा केवल बुद्धको जन्मसंग मात्र नभएर जन्म, बोधिज्ञाम प्राप्त र महापरिनिर्वाण यी तिनवटा महाप्रातिहार्यसंग सम्बन्धित छ ।

भगवान् बुद्धको जन्म नेपालमा भयो तर बुद्धले बोधिज्ञान भारतमा प्राप्त गर्नुभयो । धर्मचक्रप्रवर्तन पनि भारतमा गर्नुभयो, महापरिनिर्वाण पनि भारत मै प्राप्त गर्नुभयो । यसरी भगवान् बुद्धको जन्मभूमि नेपाल हो भने कर्मभूमि भारत हो ।

भगवान् शाक्यमुनि बुद्धको गरिमा र प्रसिद्धिलाई केवल नेपालमा मात्र सीमित गराउन हुन्न किनभने भगवान् बुद्ध अखिल विश्व ब्रह्माण्डका शान्तिका नायक हुन् तापनि हामी भगवान् शाक्यमुनि बुद्धलाई नेपालको धर्तिपुत्र हो भन्न मन लाग्छ र वास्तवमा भगवान् नेपाली हुन् किनभने भगवान् बुद्धमा म नेपाली हुँ भन्ने भावना थियो र बुद्धको मन नेपाली मन थियो ।

पाली त्रिपिटक अन्तरगत सूत्रपिटकको खुद्दक निकाय, सुत्तनिपस्त, महावग्ग, पब्बज्जासुत्तमा एउटा प्रसङ्ग आउँछ, जस्तै-भिक्षाटनमा आएका सिद्धार्थ गौतमको व्यक्तित्वबाट प्रभावित भएर मगधका राजा बिम्बिसार सिद्धार्थ गौतमले तपस्या गरेको पाण्डव पर्वतको गुफामा गएर उनले सिद्धार्थ गौतमलाई हे भिक्षु ! तिमी कुन जातिका हौ र कहाँ जन्मेका हौ भनेर सोधे ।

त्यसबेला सिद्धार्थ गौतमले हे महाराज ! मगधदेखि उत्तरको जनपदमा मेरो जन्म भएको हो भन्दैनन् । सिद्धार्थ गौतमले बिम्बिसारलाई यसरी जवाफ दिन्छन् – उजुँ जनपदो राजा हिमवन्तस्स पस्सतो हे महाराज ! हिमालयको नजिकमा रहेको धन र ऐश्वर्यले सम्पन्न जनपदका सूर्यवंशी शस्क्य जातिबाट म प्रवजित भएको हुँ भनेर हिमालयसंग नाता जोडेर सिद्धार्थ गौतमले आफ्नो परिचय दिन्छन् ।

नेपाल हिमालयको पर्याय हो किनभने नेपाल हिमवत्खण्ड हो । हिमालयका पाँंच खण्डमा केदारदेखि पूर्वको देश नेपाल मानिएको छ । यस सन्दर्भमा महाकवि कालिदास विरचित कुमारसम्भवको यो उक्ति स्मरणीय छ -अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराज: ।

नेपाल हिमालयको पर्याय हो किनभने नेपाल हिमवत्खण्ड हो । हिमालयका पाँंच खण्डमा केदारदेखि पूर्वको देश नेपाल मानिएको छ ।

विश्वका प्रसिद्ध हिमालयहरु नेपाल मै छन् । त्यसकारण नेपाल हिमालयको पर्याय हो र हिमालयपुत्र भगवान् बुद्ध नेपाली हुन् । आज विश्वभरि नै वैशाख शुक्ल पूर्णिमाले बुद्ध जयन्तीको रुपमा प्रसिद्धि पाएको छ । त्यसकारण नेपालका धर्तिपुत्र भगवान् शाक्यमुनि बुद्धको नाभि गाडेको ठाउँ नेपालका हामी नेपालीहरुका लागि वैशाख शुक्ल पूर्णिमा केवल एउटा पर्व मात्र नभएर स्वाभिमान र गौरवको विषय पनि हो । क्रमश: कूर्मजयन्ती, गोरखनाथ जयन्ती, चण्डीनाच , घाटुनृत्य र लुम्बिनीका सन्दर्भमा क्रमश: प्रकाश पारिनेछ ।

नेपालका धर्तिपुत्र भगवान् शाक्यमुनि बुद्धको नाभि गाडेको ठाउँ नेपालका हामी नेपालीहरुका लागि वैशाख शुक्ल पूर्णिमा केवल एउटा पर्व मात्र नभएर स्वाभिमान र गौरवको विषय पनि हो ।

।।शुभम्।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

पापेन पापं भवति, पुण्येन पुण्यं भवति

अमूर्त सांस्कृतिक सम्पदा र मन्त्रविद्या

नेपालको एकीकरण र तान्त्रिक साधना

समन्वयको परिवेशमा विकसित नेपाली राष्ट्रियता