, वैशाख शुक्ल पूर्णिमा - सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

यो नेपाल सिद्ध साधकहरुको पुण्य र शुभ आशिर्वादबाट बाँचेको देश हो । त्यसकारण राज्यले सच्चा योगीजनको आत्मासम्मान गर्न अत्यावश्यक छ

डा. जगमान गुरुङ

डा. जगमान गुरुङ

सिद्ध गोरखनाथको जन्म वैशाख शुक्ल पूर्णिमाको दिनमा भएको हो । त्यसकारण वैशाख शुक्ल पूर्णिमा चण्डिका भगवती उत्त्पत्ति, कूर्म जयन्ती, बुद्ध जयन्ती र सिद्ध गोरखनाथ जयन्ती हो । सिद्ध गोरखनाथको जन्म कहाँ भएको थियो ? उनको जात वंश के हो ? उनका बा आमा को थिए ? यस सम्बन्धमा राम्ररी निश्चय गर्न सकिएको छैन ।

आचार्य अभयदत्तश्रीले रचना गरेको र वाराणसीको सारनाथस्थित केन्द्रीय उच्छ तिब्बती शिक्षा संस्थानद्वारा प्रकाशित चौरासी सिद्धहरुको वृत्तान्तमा नवौँ सिद्धको रुपमा गोरक्षपाको उल्लेख आएको छ । त्यस वृत्तान्तमा गोरक्षपालाई पूर्वी भारतका देवपालको समयका गाई गोठालाको रुपमा वर्णन गरिएको छ । यसको आशय मगधका राजा देवपाल हुन् । तिनै गाई गोठाला गोरक्षपालाई नै सिद्ध गोरखनाथ मानिएको छ ।

सिद्ध गोरखनाथको जन्म वैशाख शुक्ल पूर्णिमाको दिनमा भएको हो । त्यसकारण वैशाख शुक्ल पूर्णिमा चण्डिका भगवती उत्त्पत्ति, कूर्म जयन्ती, बुद्ध जयन्ती र सिद्ध गोरखनाथ जयन्ती हो ।

चौरासी बौद्ध सिद्धका बारेमा अनुसन्धान गरेका दिल्ली विश्वविद्यालयका रसिक बिहारी मंजुलले प्रस्तुत गरेको हठयोग प्रदीपिकामा गोरखलाई पाचौँ सिद्धको क्रममा राखेको छ र वर्ण रत्नाकरमा चाहिँ गोरक्षनाथलाई दोस्रो सिद्धको रुपमा प्रस्तुत गरिएको छ ।

नाथ सम्प्रदायमा विस्तृत रुपले अनुसन्धान गरेका हजारी प्रसाद द्विवेदीले प्रस्तुत गरेको योगी संप्रदाय विष्कृति नामक ग्रन्थमा नव नाथमा गोरखनाथलाई समावेश गरिएको छैन र गोरखनाथलाई समावेश गरेर दस नाथको उल्लेख गरेको छ । गोरखपुरस्थित गोरखनाथ मन्दिरद्वारा प्रकाशित गोरक्ष दर्शन शीर्षक पुस्तकमा चाहिँ नव नाथमा मत्स्येन्द्रनाथलाई पहिलो र गोरखनाथलाई दोस्रो स्थानमा राखिएको छ ।

चौरासी बौद्ध सिद्धका बारेमा अनुसन्धान गरेका दिल्ली विश्वविद्यालयका रसिक बिहारी मंजुलले प्रस्तुत गरेको हठयोग प्रदीपिकामा गोरखलाई पाचौँ सिद्धको क्रममा राखेको छ र वर्ण रत्नाकरमा चाहिँ गोरक्षनाथलाई दोस्रो सिद्धको रुपमा प्रस्तुत गरिएको छ ।

कौलावत्ती तन्त्रमा बाह्र मानव गुरुमा गोरक्षलाई पाचौँ गुरु मानिएको छ । श्यामा रहस्यमा चाहिँ गोरक्षलाई छैटौँ मानव गुरुको स्थानमा राखिएको छ । सिद्ध गोरखनाथले नाथ संप्रदायका स-साना विभागलाई संयोजन गरेर नाथ संप्रदायको बाह्रपन्थको विकाश गरेको मानिएको छ । महापण्डित राहुल सांकृत्यायनले गोरक्षलाई ८४ सिद्ध मध्ये नवौँ सिद्ध मानेकाछन् । राहुल सांकृत्यायनले गोरक्षलाई मगधका राजा देवपालको समयको मानेका छन् तर राहुल सांकृत्यायनले पनि सिद्ध गोरखनाथको जन्मभूमि भने निश्चय गर्न सकेका छैनन् ।

नाथ सम्प्रदाय शीर्षक पुस्तकका लेखक हजारी प्रसाद द्विवेदीले तिब्बती विद्वान लामा तारानाथले गोरखनाथलाई अघि उनी अनङ्गवज्र नामक बौद्ध साधक थिए भनेको र भारतीय विद्वान पण्डित हरप्रसाद शास्त्रीले चाहिँ गोरखनाथ अनङ्गवज्र नभएर रमणवज्र नामक बौद्ध साधक थिए भनेको प्रसङ्ग प्रस्तुत गरेकाछन् । यसैगरी हजारीप्रसाद द्विवेदीले गोरखनाथका गुरु मत्स्येन्द्रनाथ पनि सम्भवत: बौद्ध साधक हुनसक्छ भनेका छन् तर हजारी प्रसाद द्विवेदीले पनि सिद्ध गोरखनाथको जन्म थलो पत्ता लगाउन सकेका छैनन् ।

Gorakhanath and The Kanphata Yogis पुस्तकका लेखक George Weston Briggs ले नेपाल र नेपालको गोरखासंग सिद्ध गोरखनाथको अति निकटतम सम्बन्ध रहेको मानेका छन् । नाथ सम्प्रदायमा भैरवको उपासनाले महत्त्वपूर्ण स्थान राख्दछ । कोही यसलाई कालभैरव पनि भन्दछन् र काशीको कालभैरवसंग पनि सम्बन्ध जोड्दछन् तर नाथ सम्प्रदायमा उपासित भैरव चाहिँ वज्रभौरव हुन् ।

गोरखाको गोरखनाथ गुफामा लिच्छवि राजा शिवदेव द्वितीयको संवत् १२२ (वि.सं.७५५) को अभिलेख पाइएको छ र त्यस अभिलेखमा वज्रभैरव भट्टारकको उल्लेख छ । गोरखाको उपल्लोकोटमा अहिले पनि वज्रभौरवको स्थान अवस्थित छ र वज्रभैरवको स्थानमा गोरखनाथका पूजारी कन्फट्टा योगीबाट पूजा गरिन्छ ।

भारतको गोरखपुरस्थित गोरखनाथको मन्दिरमा प्रत्येक वर्ष माघे संक्रान्तिमा गोरखनाथलाई खिचडी चढाइन्छ । त्यस अवसरमा सबभन्दा पहिले नेपालको गोरखा दरबारबाट ल्याएको खिचडी चढाइन्छ । त्यसपछि त्यहाँका महन्त महाराजले खिचडी चढाउँदछ र त्यसपछि अरु दुनियाँदारले गोरखनाथलाई खिचडी चढाउँछन् । यसरी भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा माघेसंक्रन्तिमा सिद्ध गोरखनाथलाई खिचडी चढाउँदा नेपालको गोरखा दरबारको अग्रस्थान रहेको छ ।

सिद्ध गोरखनस्थको जन्म गोबरबाट भएको हो भन्ने कथा पनि प्रचलित छ तर गोबरबाट ता गोब्रे किरा मात्र जन्मन्छ, मान्छे जन्मन सक्दैन । कोही भक्तहरु सिद्ध गोरखनाथलाई अयोनिज पनि मान्दछन् तर यो पनि हुँदो कुरा होइन ।

भारतमा गोरखा नामको कुनै ठाउँ छैन । त्यसकारण सिद्ध गोरखनाथको जन्म गोबरबाट भएको र उनी गाई गोठाला थिए भन्ने कथाबाट गोरखाको कुनै गाई गोठमा गाई गोठालाको छोराको रुपमा सिद्ध गोरखनाथको जन्म भएको हुनसक्छ।गाई गोठमै सिद्ध गोरखनाथ जन्मे, गाई गोठमै उनी हुर्के, बढे । अनि युवा अवस्था प्राप्त भएपछि नाथ सम्प्रदायमा दीक्षित भए । यो कुरा धेरै तर्क सम्मत र सम्भव छ ।

सिद्ध गोरखनाथ गाई गोठमा जन्मेका गाई गोठाला थिए भन्दैमा उनको मानहानी हुँदैन किनभने भगवान् श्रीक्रुष्ण पनि गाई गोठाला नै थिए । सिद्ध गोरखनाथका गुरु सिद्ध मच्छेन्द्रनाथ थिए । सिद्ध मच्छेन्द्रनाथको जन्मभूमि भारतको असाम, कामरुप कामाख्या देश हो र उनको कर्मभूमि नेपाल हो । सिद्ध मच्छेन्द्रनाथ कौलमार्गी र शाबरतन्त्रका ज्ञाता थिए ।

सिद्ध मच्छेन्द्रनाथले नाथ सम्प्रदायको प्रवर्तन गरे । सिद्ध गोरखनाथले नाथ सम्प्रदायको भलिभाँति विकाश गरे । त्यसपछि नेपाल कै अर्का धर्तिपुत्र दाङका रत्नपरीक्षक सिद्ध रतननाथले नाथ सम्प्रदायलाई अन्तर राष्ट्रीयकरण गरिदिए। त्यसपछि भारतमा विकशित नाथ सम्प्रदायमा शैव मतले प्रभाव पार्दै लग्यो र नेपालमा विकशित नाथ सम्प्रदायमा चाहीँ प्राचीन पाशुपत मतको प्रभाव रहिरह्यो ।

नेपालमा विकशित नाथ सम्प्रदायका कतिपय मूल्य, मान्यता र पूजा पद्धतिले वज्रयानी बौद्धधर्मसंग सामन्जस्यता राख्दछ।साउन महिनामा नेपाल मण्डलका कुसुलेहरु जामा लगाएर, शिरमा उड्डियान टोपि लगाएर, मुखभरि खरानी घसेर, छातिमा त्रिशूल धारण गरेर डमरु बजाउँदै भिक्षा माग्न हिँडछन् । वज्राचार्यहरुलाई वज्राभिषेक दिँदा वज्राभिषेक दिने मूल गुरु वज्राचार्य जामा लगाएर डमरु बजाउँदै आगममा नाच्नुपर्दछ । त्यस अवसरमा गुरु वज्राचार्यले लगाउने पोशाक र कुसुलेले भिक्षा माग्न जाँदा लगाउने पोशाक एउटै खालको हुन्छ ।

फर्पिङको ऋषितरगुफा (ति :बल ह्युल असुरहि ट्हाग फुग) मा वज्र गुरु पद्मसम्भवले साधना गरेर सिद्धि प्राप्त गरि भोट देशमा गएर बौद्धधर्मको स्थापना गरेका थिए । आजकल उक्त गुफालाई गोरखनाथगुफा भनिन्छ र त्यहाँ गोरखनाथको पादुका पनि स्थापना गरिएको छ । फर्पिङको गोरखनाथगुफामा नेपालमण्डलका कुसुलेहरु पर्व पर्वणिहरुमा पूजा गर्न जान्छन् । सिद्ध कुशलनाथका सन्तान र अनुयायीहरु वर्तमानमा कुसुले कहलाएको पाइन्छ ।

एउटा प्राचीन थाङ्का चित्रलाई योगी नरहरिनाथले चीनको पद्म सम्भवाभिधानको गोरखनाथको चित्र मान्नु भएकोछ । यो चित्र ठ्याक्कै हुबहु वज्रगुरु पद्मसम्भव कै जस्तो छ । योगी नरहरिनाथले यसलाई वज्रसिद्धि , वज्रसत्व र वज्रगुरु भन्नू भएकोछ। त्यसकारण यो थाङ्का चित्र वज्रगुरु पद्मसम्भव कै हुनुपर्छ ।

जे होस् , नाथ सम्प्रदायले वज्रगुरु पद्मसम्भव र सिद्ध गोरखनाथलाई सपर्या अर्थात् एक साथ समान रुपले मान्यता दिएर पूजा आराधना र सम्मान गरेको पाइन्छ । महायानी एवं वज्रयानी बौद्ध परम्परा अनुसार उपासना गरिने मच्छेन्द्रनाथलाई बौद्धहरु पद्मपाणी बोधिसत्व आर्यावलोकितेश्वर र शैवहरु भगवान् शिवको अवतारको रुपमा मान्दछन् ।

महायानी एवं वज्रयानी बौद्ध परम्परा अनुसार उपासना गरिने मच्छेन्द्रनाथलाई बौद्धहरु पद्मपाणी बोधिसत्व आर्यावलोकितेश्वर र शैवहरु भगवान् शिवको अवतारको रुपमा मान्दछन् ।

काठमाण्डौको सेतो मच्छेन्द्रनाथको रथयात्रा असनमा पुगेपछि त्यहाँ नाथ सम्प्रदायका कन्फट्टा योगीले चक्रपूजा गर्ने परम्परा छ । नेपाल माहात्म्यमा सौराष्ट्रबाट आएका कारुणिक बुद्धले पार्वतीको आज्ञाबाट शिवधर्ममा लागेर बागमती र मणिमतीको संगम शंखमूलमा कारुणिकेश्वर शिवलिङ्ग स्थापना गरेको उल्लेख छ ।

काठमाण्डौ उपत्यकाको वरिपरि रहेका आठवटा महादेवलाई शैवहरुले भगवान् शिव र बौद्धहरु अष्टवैतराग अर्थात् अष्टबोधिसत्त्व मान्दछन् र ती स्थानहरुमा गएर बौद्धहरु अष्टमीव्रतको पूजा गर्दछन् । यसरी नेपालमा पार्वती अथवा तन्त्रले शैव र बौद्धलाई एकाकार गराएको छ ।

नेपालमा नाथ सम्प्रदायको मूल अखडा मृगस्थलीमा रहेकोछ।त्यहाँ गोरखनाथको भव्य मन्दिर निर्माण गरिएकोछ।उक्त मन्दिरमा सिद्ध गोरखनाथको पादुका स्थापना गरिएको छ । अहिले मृगस्थलीको अखडामा गुल्मी, भार्सेमा श्रीस मगर वंशमा जन्मेका योगी श्रीशनाथ महन्तको आसनमा विराजमान हुनुहुन्छ ।

सिद्ध गोरखनाथले भिक्षाटन गर्दा प्रयोग गर्ने खप्परुलाई पात्र देवताको रुपमा पूजा गरिन्छ । उक्त पात्र देवता वर्षमा एक पटक ६ महिनासम्म मृगस्थलीको अखडामा र ६ महिना फर्पिङ्ग दक्षिणकालीको अखडामा राखिन्छ । वर्षमा एक पटक जनै पूर्णिमामा उक्त पात्र देवतालाई बाजा गाजा र लावा लश्कर सहित गोसाइँकुण्डमा मेला भर्न लगिन्छ ।

अघि मध्यकालमा काठमाण्डौको मरुसत्तलमा बस्ने कापालिकहरु वर्षमा एक पटक गोसाइँकुण्डको मेला भरेर आएपछि चक्रपूजा गरेर भोज खान्थे । काष्ठमण्डपको बीचमा स्थापना गरिएको मूर्तिलाई आजकल गोरखनाथको मूर्ति मानिन्छ र त्यहाँ नाथ सम्प्रदायका कन्फट्टा योगीले पूजारीको रुपमा गर्दछन् तर उक्त मूर्ति गोरखनाथको नभएर लुहिपादको मूर्ति हो भनेर प्रमाणित भएको छ ।

चरासी सिद्धहरुमा लुहिपाद पहिला हुन् । यसबाट चौरासी सिद्ध परम्पराको विकाश हुनासाथ नेपालमा त्यस मतले प्रभाव पारेको पाइन्छ । काश्मिरको ब्राह्मण कुलमा जन्मेका सिद्ध नाडपादले बङ्गालका सिद्ध तिलपादसंग चक्रशंवरको दीक्षा लिएकाथिए ।

सिद्ध नाडपाद विक्रमशिल महाविहारका द्वार पण्डित थिए । सिद्ध नाडपादका धर्मकीर्ति र वागीश्वरकीर्ति नामका शिष्यहरु थिए । यिनीहारु फर्पिङ निवासी मानिएको छ । सिद्ध नाडपाद विक्रमशिल महाविहारको द्वार पण्डित हुँदा उनका नेपाली चेला वागीश्वरकीर्ति पनि विक्रमशिल महाविहारका द्वार पण्डित थिए ।

सिद्ध नाडपाद नेपाल आएर पशुपतिमा सूर्यघाटको गुफामा बसेर साधना गरेका थिए । सिद्ध नाडपादले साधना गरेको उक्त गुफाभित्र लिच्छविकालिन शिवलिङ्ग स्थापना गरिएको छ । यसरी सिद्ध नाडपादले पाशुपतक्षेत्रमा भगवान् शिवलाई साक्षी राखी चक्रशंवरको साधना गरेर सिद्धि प्राप्त गरेको पाइन्छ ।यसरी नेपालभूमि नौ नाथ र चौरासी सिद्ध आदि सिद्ध साधकहरुको साधनाभूमिको रुपमा प्रसिद्ध रहेको बुझिन्छ ।

नेपालको आधुनिककालका नाथ सम्प्रदायका सिद्ध पुरुषहरुमा सल्यान राना गाउँका सिद्ध भगवन्तनाथ सर्वोपरी छन् । नेपालको एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सिद्ध भगवन्तनाथलाई सकलचक्राधीश्वर श्रीमन्महाराजाधिराजको उपाधिद्वारा विभूषित गरेर श्री६ को दर्जा दिएर सम्मान गरेको पाइन्छ । सिद्ध भगवन्तनाथले पृथ्वीनारायण शाहको हात हतियारमा मन्त्रसिद्ध गरिदिएका थिए । त्यसकारण पृथ्वीनारायण शाह निर्विघ्नपूर्वक पूर्वतिर अघि बढ्न सके । सिद्ध भगवन्तनाथले सल्यानमा रहेर पश्चिमतिरको वातावरण मिलाइ दिएका थिए ।

सिद्ध भगवन्तनाथले पृथ्वीनारायण शाहको हात हतियारमा मन्त्रसिद्ध गरिदिएका थिए । त्यसकारण पृथ्वीनारायण शाह निर्विघ्नपूर्वक पूर्वतिर अघि बढ्न सके । सिद्ध भगवन्तनाथले सल्यानमा रहेर पश्चिमतिरको वातावरण मिलाइ दिएका थिए ।

पश्चिमका बाइसे राज्यहरुमा सल्यान, जाजरकोट र बझाङ बलिया थिए । सिद्ध भगवन्तनाथले सल्यानका राजा श्रीकृष्ण शाहका छोरा राजकुमार रणभीम शाहसंग पृथ्वीनारायण शाहका छोरी विलाश कुमारीको विवाह गराएर राम्रो सम्बन्ध कायम गराए । सिद्ध भगवन्तनाथको कारणबाट पश्चिम नेपालमा पृथ्वीनारायण शाहको प्रभुत्व जम्यो । यही भूमिकाबाट पृथ्वीनारायण शाहका छोरा बहादुर शाहले कालिगण्डकीदेखि यमुनासम्मको भूभाग सजिलैसंग आर्जन गर्न सके ।

त्यसपछि योगी नरहरिनाथ नाथ सम्प्रदायका सिद्ध पुरुष भए।योगी नरहरिनाथले नेपाल राष्ट्रको सुद्रुढीकरण र इतिहासको अन्वेषणा अतुलनीय योगदान दिए । यदि योगी नरहरिनाथ नभएको भए नेपालको ईतिहास लेखिने नै थिएन । योगी नरहरिनाथ हठयोगका सिद्ध पुरुष थिए । यसका अनेकन् प्रमाण छन् । यस सम्बन्धमा अन्वेषण हुन बाँकी नै छ तर नेपालले योगी नरहरिनाथलाई चिन्न सकेन ।

यो नेपाल सिद्ध साधकहरुको पुण्य र शुभ आशिर्वादबाट बाँचेको देश हो । त्यसकारण राज्यले सच्चा योगीजनको आत्मासम्मान गर्न अत्यावश्यक छ । यसरी वैशाख शुक्क्ल पूर्णिमाका दिन जन्मेका भगवान् शाक्यमुनि बुद्ध र सिद्ध गोरखनाथले विश्व धर्म, दर्शन र संस्कृतिमा आ- आफ्नो वर्चस्व कायम गरेको छ । नेपालका शैव एवं बौद्धहरुमा अन्तरनिहित सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक समन्वयको भावनाले अखण्ड शिव-बुद्ध समन्वयवादको अनुपम नंमूना प्रस्तुत गर्दछ र यस समन्वयको भावनाले नेपाली मानसिकतालाई एकाकार गरेर राष्ट्र निर्माणको बाटोमा अघि बढाएको छ ।।
।।शुभम् ।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व