, नेपाल राष्ट्रका लागि जागौँ 

नेपाल राष्ट्रका लागि जागौँ 

हिमालयका पाँच खण्डमा केदारदेखि कामरुप (असाम) सम्मको देश नेपाल हो । विश्वमा सबैभन्दा पहिले जीवको सृष्टि नेपालको दामोदर कुण्डमा भएको हो

डा. जगमान गुरुङ

डा. जगमान गुरुङ

नेपाल राष्ट्रका लागि जागौँ 

कृते सत्यवती ज्ञेया त्रेतायां च तपोवती।
द्वापरे मुक्तिसोपाना कलौ नैपालिकापुरी।।
– हिमवत्खण्डपुराण।।७२ ।।६४ ।।

कृते अथवा सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवती, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपाल नामबाट प्रसिद्ध भूमि नेपाल पार्वतीले रचना गरेको शिवको देश, वेद व्यास, गौतम बुद्ध र सिद्ध गोरखनाथको जन्मभूमि, सीता र भृकुटीको माइत, वज्रगुरु पद्मसम्भव र जैन साधु भद्रवाहु आदि सिद्ध साधकहरुको साधना स्थल, महर्षी याज्ञवल्क्य र विदुषी गार्गीको चिन्तनको थलो तथा विदेह जनक जस्ता पुण्यात्मा राजाद्वारा पालित पुण्यभूमि र देवभूमि हो। भारतवर्षका देव देवीहरु सबै नेपाल भूमिमा विविध नामका हिमालय स्वरुपले रहेका छन्, जस्तै –

अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराज: ।
– कुमारसम्भव।

हिमालयका पाँच खण्डमा केदारदेखि कामरुप (असाम) सम्मको देश नेपाल हो । विश्वमा सबैभन्दा पहिले जीवको सृष्टि नेपालको दामोदर कुण्डमा भएको हो । शालिग्राम यसका प्रमाण हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा अवस्थित छ । सगरमाथाको टुप्पामा घाम झुल्केपछि विश्वको सृष्टिकाल शुभारम्भ हुन्छ र सगरमाथाको टुप्पामा घाम अस्ताएपछि विश्वको प्रलयकाल शुरु हुन्छ, किनभने दिन सृष्टिकाल र रात चाहिँ प्रलयकाल हो ।

हिमालयका पाँच खण्डमा केदारदेखि कामरुप (असाम) सम्मको देश नेपाल हो । विश्वमा सबैभन्दा पहिले जीवको सृष्टि नेपालको दामोदर कुण्डमा भएको हो ।

विश्व जगतका मालिक विश्वनाथ काशीमा विराजमान हुनुहुन्छ । काशी विश्वनाथ भौतिक जगतका नाथ हुन् । समस्त प्राणी अथवा जीवका स्वामी पशुपतिनाथ नेपालमा विराजमान हुनुहुन्छ । चेतन अथवा जीवको कल्याण नभएसम्म भौतिक जगतको कल्याण हुँदैन । त्यसकारण श्रीविश्वनाथो जयति । श्रीपशुपतिनाथ सहाय । यो नीति वचन छ । यो नीति वचन सत्य वचन हो । त्यसकारण श्रीपशुपतिनाथ विराजमान भएको देश नेपाल सहाय नभएसम्म श्रीविश्वनाथ विराजमान भएको देश भारतको जय कल्याण हुन सक्तैन ।

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा अवस्थित छ । सगरमाथाको टुप्पामा घाम झुल्केपछि विश्वको सृष्टिकाल शुभारम्भ हुन्छ र सगरमाथाको टुप्पामा घाम अस्ताए पछि विश्वको प्रलयकाल शुरु हुन्छ, किनभने दिन सृष्टिकाल र रात चाहिँ प्रलयकाल हो ।

अहिले पूरै विश्व सौर्य उर्जाबाट परिचालित छ । नेपालको सप्तकोशीको किनारामा अवस्थित वराह क्षेत्रमा तपस्या गरेर देवर्षि विश्वामित्रले सूर्योपासनाद्वारा ब्रह्मगायत्रीको अनुष्ठान सम्पन्न गरेका थिए । नेपालमा अहिलेसम्म वैदिक सनातन धर्म, दर्शन, सभ्यता र संस्कृति अक्षुण्ण रुपले रहि आएको छ । नेपालको चन्द्र सूर्य अङ्कित द्विपताकायुक्त त्रिकोणात्मक राष्ट्रिय झण्डा यसको ज्वलन्त उदाहरण हो । नेपालको ईस्वी पाचौँ शताब्दीका राजा मानदेवको मानाङ्क मुद्रामा द्विपताकायुक्त त्रिकोणात्मक झण्डा अङ्कित गरिएको छ ।

नेपालको चन्द्र सूर्य अङ्कित द्विपताकायुक्त त्रिकोणात्मक राष्ट्रिय झण्डा यसको ज्वलन्त उदाहरण हो । नेपालको ईस्वी पाचौँ शताब्दीका राजा मानदेवको मानाङ्क मुद्रामा द्विपताकायुक्त त्रिकोणात्मक झण्डा अङ्कित गरिएको छ ।

मानाङ्क मुद्राको त्यही द्विपताकायुक्त त्रिकोणात्मक झण्डा कै परम्परामा नेपालको वर्तमान राष्ट्रिय झण्डाको विकास भएको हो । यसरी १६०० वर्ष पुरानो ईतिहास भएको राष्ट्रिय झण्डा नेपाल बाहेक विश्वको अरु कुनै मुलुकको छैन । नेपालको चन्द्र सूर्य अङ्कित यो राष्ट्रिय झण्डा वैदिक परम्पराको झण्डा हो । यो कुरा केवल नेपाकको मात्रै नभएर पूरै विश्व कै गौरवको विषय हो ।

१६०० वर्ष पुरानो ईतिहास भएको राष्ट्रिय झण्डा नेपाल बाहेक विश्वको अरु कुनै मुलुकको छैन । नेपालको चन्द्र सूर्य अङ्कित यो राष्ट्रिय झण्डा वैदिक परम्पराको झण्डा हो । यो कुरा केवल नेपाकको मात्रै नभएर पूरै विश्व कै गौरवको विषय हो ।

यसैगरी विभिन्न मित्र राष्ट्रहरुसंग नेपालले विभिन्न समयमा विविध प्रकारको सन्धी सम्झौताहरु गरेका छन् तर नेपाल अहिलेसम्म कुनै पनि देशको गुलाम भएर बसेको छैन । नेपाल सुखं दु:खं आफ्नै मान, आफ्नै शान, आफ्नै स्वाभिमान र स्वतन्त्रतामा अडिएर रहिरहेको छ र भविष्य पर्यन्त पनि नेपाल आफ्नै स्वाभिमानमा अडिएरै रहिरहने छ ।

नेपालले आदिमकालदेखि नै आफ्ना छिमेकी राष्ट्रहरुसंग राम्रो दौत्य सम्बन्ध राख्दै आएको छ । नेपालका तान्त्रिकहरुले नेपालमा बिस्जेट जात्रा हेर्न आएका काशी विश्वनाथको टाउको काटेर भक्तपुरको तौमडी टोलस्थित भैरवनाथको मन्दिरमा स्थापना गरेर पूजा गरि राखेका छन् । मानिसको सम्पूर्ण ज्ञानेन्द्रियाहरु टाउकोमा रहेको हुन्छ । त्यसकारण काशी विश्वनाथको शीर्षभाग रहेको नेपाल भूमि अखिल भारतवर्षको मस्तिष्क हो । यसैगरी कुरुक्षेत्रमा महाभारतको युद्ध हेर्न आएका चीन देशका वज्रवीर महाकालाई नेपालका तान्त्रिकहरुले काठमाण्डौको टुँडिखेलस्थित महाकाल मन्दिरमा तान्त्रिक विधिले बाँधेर राखेका छन् ।

भारतको तान्त्रिक परम्परामा सप्तमातृकामा नरसिंहको शक्ति नारसिंहीलाई समावेश गरेर अष्टमातृकाको पूजा गरिन्छ तर नेपालको तान्त्रिक परम्परामा सप्तमातृकामा सर्व देवतानां तेजोराशि समुद्भव:अर्थात् सबै देवताहरुको तेजराशिबाट उत्पन्न भएका महालक्ष्मीलाई समावेश गरेर अष्टमातृकाको पूजा गरिन्छ । यसरी भारतको तान्त्रिक परम्परा भन्दा नेपालको तान्त्रिक परम्परा विशिष्ट छ ।

महाभारतको युद्धमा नेपालका प्रथम किराती राजा यलम्वरले कौरवपक्षलाई सहयोग गरेका थिए । त्यस युद्धमा यलम्वरको शिर काटियो । कुरुक्षेत्रको मैदानमा यलम्वरको शरीर ढल्यो तर उनको टाउको आकाशमार्गले उडेर आई काठमाण्डौको माझ मुटु ईन्द्रचोकमा आएर बजारियो । अहिले काठमाण्डौको ईन्द्रचोकस्थित आकाश भैरवको मकुण्डोलाई उनै किराती राजा यलम्वरको टाउको मानिन्छ ।

अहिलेको भौतिक विज्ञानले कुरुक्षेत्रबाट यलम्वरको टाउको उडेर काठमाण्डौ आएको कुरा मान्दैन र यो कुरा हुन पनि सक्तैन तर कथाको आशय के हो ? त्यो बुझ्न आवश्यक छ । यलम्वरले महाभारतको युद्धमा आफ्नो ज्यान दिएर कौरवलाई सहयोग तर उनी महत्वाकांक्षी र राष्ट्रवादी थिए । उनको टाउको आकाशमार्गले उडेर आयो भन्नाले उनी महत्वाकांक्षी थिए भन्ने बुझिन्छ । यलम्वरको टाउको उडेर नेपाल आयो भन्नाले उनी राष्ट्रवादी थिए भन्ने सिद्ध हुन्छ ।

आफ्नो राष्ट्रियतामा अडिएर यलम्वरले कौरव पक्षलाई सहयोग गरेका थिए । तसर्थ आज हामीले यलम्वरको चरित्रबाट अशल पाठ सिकेर आफ्ना मित्र राष्ट्रहरुलाई दिलो ज्यानले सहयोग गर्नु पर्दछ तर आफ्नो राष्ट्र र राष्ट्रियता गुमाउनु हुन्न । हामी यलम्वर बन्न सक्नुपर्छ । पाण्डवहरुले महाभारतको युद्ध जितेपछि ईन्द्रप्रस्त (दिल्ली) मा राजसूययज्ञ गरेका थिए । त्यस यज्ञमा नेपालका किरातीहरुले विविध प्रकारका उपहारहरु चढाएर पाण्डवहरुलाई मान सम्मान अर्पण गरेका थिए ।

गुप्तकालमा लिच्छवि दौहित्र (लिच्छविका छोरीका छोरा) समुद्र गुप्त (ई .३६१) ले प्रयागमा अश्वमेधयज्ञ गरेका थिए । त्यस अवसरमा नेपालका लिच्छविहरुले एउटा अशल छिमेकीको नाताबाट आफ्नो स्वतन्त्रता र सार्वभौमिकतालाई कायम राख्दै आफ्ना भन्जा राजा समुद्र गुप्तलाई मान्न गएका थिए ।

प्राचीन भारतवर्षको उत्तरी सीमाना हिमालय हो तर वर्तमान अवस्थामा नेपाल र भारत आ- आफ्ना राष्ट्रीयता र सार्वभौमसत्ताले सम्पन्न अलग अलग स्वतन्त्र राष्ट्र हुन् । नेपाल र भारतको जीवनशैली, भाषा, साहित्य, धर्म, दर्शन , सभ्यता, संस्कृति र आस्था एवं विश्वासको केन्द्रबिन्दु एक समान छ तापनि आ- आफ्ना राष्ट्रियताको कारणबाट नेपाल र भारत अलग अलग स्वतन्त्र राष्ट्र हुन् ।

भूगोलमा नेपाल भन्दा भारत ठूलो होला, नेपाल भारत भन्दा सानै होला तर संयुक्त राष्ट्र संघमा ता भारतको पनि एउटै भोट हो, नेपालको पनि एउटै भोट हो ।कुनै बेला नेपाल पनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को सदस्य थियो । त्यसकारण नेपाल र भारत समान स्तरका अलग अलग दुई स्वतन्त्र राष्ट्र हुन् । भारत वैदिक सभ्यता, संस्कृति , आदर्श र मर्यादामा गर्व गर्ने एउटा महान् देश हो । त्यसकारण भारतले प्राचीन भारत वर्षको आदर्श र मर्यादामा रहन सक्नु पर्दछ, जस्तै-
सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् ।
देवा भागं यथापूर्वे सं जानाना उपासते।।
– ऋग्वेद।।१० ।।१९१ ।।२ ।।
अपरं च
मित्रस्याहं चक्षुषा सर्वाणि भूतानि समीक्षे।
मित्रस्य चक्षुषा समीक्षामहे।।
– यजुर्वेद।।३६ ।।१८ ।।

सानाले ठूलालाई मान सम्मान गर्नु र ठूलाले सानालाई माया ममता गर्नु यो मानवीय गुण र धर्म हो । नेपालले यस मानवीय गुण, धर्म, आदर्श र मर्यादाको पालन गरेर भारतलाई मानेको मान्यै छ तर अहिले आएर नेपाल प्रति भारतको व्यवहार हेर्दा नेपालले भारतलाई गरेको मान सम्नान अलि बढी नै भयो कि ? भनेर नेपालीहरुले सोँच्न वाध्य भएको छ ।

विनम्रता, मान सम्मान र दासतामा फरक हुन्छ । अहिले भारतले नेपाल प्रति गरेको हेपाह प्रवृत्तिबाट नेपालले भारत प्रति दर्शाएको आदर सम्मानको भावलाई भारतले आफुप्रतिको नेपालको दासत्वभाव भन्ने सम्झेको बुझिन आएको छ । अत: विश्वको एउटा महान् राष्ट्र भएर पनि भारत आफ्नो महानतामा अडिन सकेको छैन । आफ्नो आदर्श र मर्यादामा रहन सकेको छैन ।आफ्ना कुनै पनि छिमेकी राष्ट्रहरुसंग भारतले राम्रो सम्बन्ध कायम रख्न सकेको छैन । भारतले आफ्ना छिमेकीहरु प्रति रक्षक नभएर भक्षकको नीति र व्यवहार अपनाएको देखिन आएको छ ।

ढुङ्गा साह्रो हुन्छ तर ढुङ्गा रसायो भने शिलाजित बन्दछ । मानिसले सहनुको पनि एउटा हद हुन्छ । सहँदा सहँदा सहेर पनि सहनै सकेन र साह्रै पीडा भयो भने अन्तमा मान्छेले आइया भन्छ र उ छट्पटाउँछ । अहिले त नेपालले भारतीय पीडा भोगे पनि आइया भन्न सकेको छैन तर भोलि कुनै दिन भारतीय अन्याय र अत्याचार सहन नसकेर नेपालले आइया भन्न वाध्य भयो भने त्यो परिस्थिति ज्यादै विकराल हुनेछ, किनभने मर्ता क्युँ नहिँ कर्ता … नेपालका लिच्छवि राजा नरेन्द्रदेव( ई. ६४३) ले भोट र चीनको सहयोगबाट आफ्नो गुमेको पैतृकसत्ता प्राप्त गरेका थिए । त्यसपछि नरेन्द्रदेवको पालामा वाङ हुएन से चिनियाँ राजदूत भएर नेपाल आए । वाङ हुएन से भारतका राजा हर्षवर्द्धनलाई भेट्न कन्नौज गए । त्यसबेला हर्षवर्द्धनको मृत्यु भइसकेको थियो । हर्षवर्द्धनका सेनापति अरुणाश्वले वाङ हुएन सेको अनादर गरे । वाङ हुएन सेले हर्षवर्द्धनलाई लगिदिएको सौगत अरुणाश्वले लुटिदिए ।

त्यसपछि वाङ हुएन से नेपाल फर्के । नेपाल, भोट र चीनको सहयोग लिएर वाङ हुएन से फेरि कन्नौज गए । अरुणाश्व पक्राउ परे।अरुणाश्वलाई बन्दी बनाएर नेपाल ल्याए । नेपालबाट अरुणाश्वलाई भोट चीनतिरै लगियो । त्यस अवसरमा नेपालले वाङ हुएन सेलाई ७००० हजार घोडचडी सेना र सक्दो जिउ धनले सहयोग गरेका थिए । चीनकी ताङ वृत्तान्तमा यो कुरा सगौरव लेखिएको छ ।

बाह्र वर्षमा खोला फर्कन्छ भन्छन् । त्यसकारण को जिउँदो ? को मर्दो ? नेपाल प्रति भारतको यस्तै हेपाह प्रवृत्ती रहिनै रह्यो भने परिस्थितिले कोल्टे फेर्न सक्छ । त्यसकारण यस्तो घटना नदोहोरिएला भन्न सकिँदैन, किनभने यो संसारमा भारत मात्रै छैन । त्यसकारण फेरि यस्तो घटना नदोहोरियोस् भनेर बेलैमा भारतले नेपाल प्रतिको आफ्नो हेपाह प्रवृत्तिलाई छोडेर बेलैमा सचेत र सतर्क हुन आवश्यक छ ।

काश्मिरका राजा जयापीड (ई.७८२) काश्मिरबाट पूर्वतिर मुलुक जित्दै आएपछी नेपालका मायावी राजा अरमुडिले कालीगण्डकीको किनारामा जयापीडलाई पक्रेर उनलाई ढुङ्गको अग्लो किल्लामा बन्दी बनाएर राखेका थिए । काश्मिरको राजवंशावली राजतरङ्गिनीमा यो घटनाको बारेमा लेखिएको छ । हिमवत्खण्ड पुराणमा नेपालको उत्तरी सीमाना नीलकण्ठ (गोसाइँकुण्ड मस्थिको हिमाल) र दखिनी सीमाना नटेश (भारतको पश्चिमी चम्पारणको नटेश्वर) मानिएको छ ।

भक्तपुरका राजा जगज्योति मल्ल( ई.१६१४) को समयमा लेखिएको नरपतिजयचर्या नामक पुस्तकमा जयस्थिति मल्लका नाति यक्ष मल्लले दक्षिणमा सुरनदी ( गङ्गा) सम्म साँध लगाएको उल्लेख छ । आधुनिक कालमा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरबाट मुसलमानलाई धपाए कै हो । सिन्धुलिगढिबाट अंग्रेजलाई लखेटे कै हो । नाँगा लुटेराहरुलाई साँगा आदि सात गाउँमा सुताए कै हो । त्यसपछिका दिनहरुमा भोटको सहमतिमा पूर्वी नेपालको चैनपुरसम्म आएका भोट र सिक्किमे फौजलाई जितेर पूर्वमा टिष्टा र पश्चिममा काँगडा र यमुनासम्न नेपालले साँध लगाए कै हो ।

बहादुर शाहको नायवीकालमा चीनका बादशाहका ज्वाइँ उजिर टुङथाङ चीन र भोटको विशाल सेना लिएर राजधानी काठमाण्डौबाट एक दिनको दरम्यान वेत्रावतीमा आइपुग्दा फकाई फुकाई सन्धि गरेर नेपाललाई जोगाए कै हो । अन्ततोगत्वा जङ्गबहादुर राणाले सुगौली सन्धिमा गुमेको भूभाग बाँके, बर्दिया, कैलाली र कन्चनपुरलाई भारतस्थित अंग्रेज सरकारसंग सन्धि गरेर फिर्ता ल्याएर सीमाना सीमानामा जङ्गे पिलर खडा गरे कै हो । अहिले ती जङ्गे पिलरहरु उखेलिँदै छ । नेपाल सरकारले त्यसको संरक्षण गर्न सकेको छैन । स्थानीयले जङ्गे पिलर र साँध सीमानाको संरक्षण गर्दछन् तर ती निमुखा जनताको सुरक्षा हुन सकेको छैन ।

त्यसपछि चन्द्रशमशेर राणाको समयमा पनि गोरखपुरको बस्ती जिल्लामा राप्ती नदीको नजिकको केही जमिन नेपाललाई फिर्ता आएकै हो । जङ्गबहादुर राणाको समय वि. सं. १९१२ देखि श्री ५ महेन्द्रको समय वि. सं. २०१२ एक शताब्दीसम्म तिब्बतले नेपाललाई प्रति वर्ष रु.१००००। सिर्तो तिरे तिरे कै हो । नेपालको यस्तो गौरवमय ईतिहास कसैलाई चित्त बुझ्ला नबुझ्ला, त्यो अर्कै कुरा हो तर नेपालको यो गौरवमय ईतिहास साँचो हो । यसको ईतिहास साक्षी छ । यो हाम्रो पुर्खाको नासो हो । हाम्रो धरोहर हो । त्यसकारण यसलाई जोगाएर राख्नु हाम्रो दायित्व हो, हाम्रो धर्म हो ।

अहिले विश्वका समस्त हिन्दूहरु नेपाललाई हिन्दू राज्य बनाउन लागेका छन् । भारतमा अहिले हिन्दूवादमा आधारित दल भाजपाको वर्चस्व छ र उनैको शासन चली रहेको छ । भारतीय जनतामा भाजपाले राम्रो प्रभाव पारेको छ र यसको माध्यमबाट विश्वमा पनि भारतीय सभ्यता र संस्कृतिले मान्यता पाउन थालेको छ तर के भारतले नेपालको भूमि मिचेर नेपाल हिन्दू राज्य बन्छ त ? के भारतले नेपालको अस्मिता कुल्चेर नेपाल हिन्दू राज्य बन्न सक्छ ? के भारतले नेपाललाई पनि सिक्किम जस्तै गरि आफुमा विलय गराए पछि नेपाल हिन्दू राज्य बन्छ ?

नेपाल भूमिमा आएर सिद्धि प्राप्त गरेर वर्तमान अवस्थासम्न आउन सफल भएका र ऋषि समानका भारतीय प्रधन मन्त्री नरेन्द्र मोदीले नेपाल्को यो मर्म राम्ररी बुझ्न सक्नुपर्छ । नेपाललाई हिन्दू राज्य कायम गराएर नेपालमा राजतन्त्र स्थापना गर्न चाहने भारतको उत्तर प्रदेशका मुख्य मन्त्री गोरखपुर, गोरखनाथ मन्दिरका मठाधीश्वर योगी आदित्यनाथले यो कुरा बुझ्नसक्नु पर्छ । कान्ची कामकोटीपीठका जगद्गुरु शङकराचार्य विजयेन्द्र सरस्वती लगायत सम्पूर्ण सन्त महन्त र मण्डलेश्वरहरुले यो कुरा बुझ्नुपर्छ । विश्वका समस्त हिन्दू र बौद्धहरुले यो कुरा बुझ्न सक्नुपर्छ ।

नेपाल भूमि माथि भारतीय अतिक्रमण यही हो त हिन्दूको आदर्श ? के भारतको यो नीतिबाट विश्वको कल्याण हुन्छ ? अघि नेपाल र अंग्रेजको युद्ध हुँदा अंग्रेजले बडाकाजी अमरसिंह थापालाई तिमीलाई हामी गढवाल र कुमाउको राजा बनाइदिन्छौँ, तिमी हामीसंग मिल्न आउ भनेर लोभ्याउँदा अमरसिंह थापाले म सिनो खाने कुकुर होइन, बाघको बच्चा डमरु हुँ भनेर अंग्रेजको प्रस्तावलाई लत्याइदिएका थिए ।

अंग्रेजको छाउनिमा दिन दिनै मासु र भात हुन्थ्यो । स्केल अनुसारको ह्विस्की र ब्रैण्डी हुन्थ्यो । नेपालीहरु भने भात खान नपाएर काँचो चामल बुकाउँथे । किम्बुको पात चपाएर नुनिलो र अमिलोको छुत्ते मेट्थे तर नेपालीले कहिल्यै पनि हरेश खाएनन् । मातृभूमि प्रतिको आफ्नो कर्तव्यबाट कहिल्यै च्युत भएननन् । महाकाली नदीको साँध लगाएर नेपाल र अंग्रेजको सन्धि भएपछि पनि अंग्रेजसंग लड्ने धोको मेट्न कप्तन बलभद्र कुँवर पन्जाबका राजा रणजितसिंहको सेनामा सम्मिलित हुन लाहौर गए । पन्जाब र अंग्रेजको अन्तिम युद्धमा युद्धको मैदानमा ७२ जना सैनिक उभिएका थिए तर ती सैनिक पन्जाबी सैनिक नभेर कप्तान बलभद्र कुँवरको तैनाथका नेपाली सैनिक थिए । त्यसकारण नेपालीहरुको यो साहास र जुझारुपनलाई समस्त विश्वले बुझ्न आवश्यक छ ।

नेपाल र अंग्रेजको युद्धमा अंग्रेजले बुटवल हाम्रो हो भनेर निहुँ खोजेको थियो । वर्तमानमा महाकालीको सन्दर्भमा पनि भारतले टनकपुर र शारदा बयारेजको बारेमा निहुँ खोजेको थियो तर नेपालले त महकाली प्याकेज भनेर त्यति खेरै पूरै महाकाली नै भारतलाई सुम्पिदिएछन् तर नेपालका कुनै कपुतले लोभानी पापानीमा फसेर देशको माटो बेच्दैमा के नेपाल बेचिन्छ ? कालो सन्धि गरेर छलकपट र कीर्ते गरेर नेपालको भूमि हडप्दैमा के नेपालको भूमि बेचिएको हुन्छ र ? त्यसकारण कालोसन्धि र छलकपटले नेपालको भूमि बेचिदा पनि बेचिदैन, किनेको पनि ठर्दैन । त्यसकारण भारतले मिचेको, किचेको र थिचेको नेपालको सम्पूर्ण नेपालले फिर्ता पाउनुपर्छ ।

भारतको नारा के हो ? सत्यमेव जयते । के सत्यमेव जयतेको नारा दिएर भारतले आफ्ना छिमेकीलाई थिचो मिचो गर्न पाइन्छ ? भारतले सत्यमेव जयते ता भन्यो तर सत्यको जय कसरी हुन्छ ? त्यो कुरा भारतलाई थाह छैन ।

सत्यं सत्येन विजयते – सत्यको सत्य पूर्वक नै विजय हुन्छ । नेपाल सत्यवतीको सत्य देश हो । त्यसकारण अन्ततोगत्वा नेपाल कै विजय हुनेछ । सबै नेपालीले आमाको दूध नखाएर सिउँडिको बीष खाएको ता छैन होला ? सबै नेपाली मरेको स्याल जस्ता र पुच्छर लुकाएर भाग्ने लुते कुकुर जस्ता पनि छैनन् होला ? सबै नेपाली साँझ पख चौबाटोमा मरेको बिरालो काखी च्यापेर ठिमि जाने बाटो कता भनेर उभिइ राख्ने पागल जस्ता ता अवश्य पनि छैनन् होला ? नेपालीहरु गरिब छन् । नेपालीलाई भारतको कालापहाड नगई निर्वाह हुँदैन । त्यो पनि यथार्थ हो तर नेपालीहरु गरिब भएतापनि हरिप भने पक्कै छैनन्, किनभने नेपालीलाई आफ्नो देशको माया छ र भरिया भएपनि आफ्नै स्वाभिमानमा बाँच्न चाहन्छ ।

आज हामीले नेपालको अस्मिता बचाएका हाम्रा महान् पूर्वजहरु मानदेव, नरेन्द्रदेव, जयस्थिति मल्ल, यक्ष मल्ल, मुकुन्द सेन, पृथ्वीनारायण शाह, बहादुर शाह, जङ्गबहादुर राणा, चन्द्रशमशेर राणा, श्री ५ महेन्द्र र बिपि कोइराला र मदन भण्डारीको योगदानबाट प्रशस्त प्रेरणा लिएर राष्ट्र निर्माणको बाटोमा अघि बढ्न सक्नुपर्छ । आज नेपालमा कुनै सपूत जन्मेको रहेन छ त भोलि जन्मला । भोलि पनि जन्मन सकेन भने पर्सि ता अवश्य पनि जन्मने छ र तिनै सपुतले नेपालको अस्मिता जोगाउने छ, गरिमा बढाउने छ ।

आज हामी समस्त नेपालीहरुले कविवर धरणीधर कोइरालाको जाग जाग जागन अब जाग कविताको मर्म बुझेर आफ्नो राष्ट्रको लागि जाग्न पर्ने बेला आएको छ । गीतकार नारायणभक्त श्रेष्ठ रायनको गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ गीतबाट प्रेरणा लिएर राष्ट्रको लागि जुरुक्कै उठ्ने बेला आएको छ, किनभने राष्ट्रकवि माधव घिमिरेले भने जस्तै नेपाली हामी रहौँला कहाँ नेपालै नरहे । हामी नेपालीहरु अरु कसैको विरुद्धमा उठ्ने होइन, नेपाल राष्ट्रको सुदृढिकरण र नेपाली राष्ट्रियताको दिगो विकासका लागि उठ्ने हो ।

त्यसकारण हे नेपाली हो !
विज्ञेषु किमधिकम् ।
तस्मादुत्तिष्ठ राष्ट्राय कृत निश्चय: ।।
।।शुभमस्तु नित्यम्।।शिवम्।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व