, वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

घाटु नृत्य नाटिका वसन्त ऋतुमा गाइने एउटा राग हो

डा. जगमान गुरुङ

डा. जगमान गुरुङ

वास्तवमा घाटु वसन्त ऋतुमा गाइने एउटा राग हो । नेवारहरुको दाफा भजनमा पनि वसन्त ऋतु अर्थात् चैत-वैशाखमा घाटु गाउने चलन छ । बङ्गालका बोटेहरुले पनि वसन्त ऋतुमा घाटु गाउँदै डुङ्गा खियाएर रमाइलो गर्छन् भन्ने सुनेको छु । अहिले यहाँ चर्चा गर्न लागिएको घाटु चाहिँ गण्डकी प्रदेशका गुरुङ, मगर, दरैँ, कुमाल र थारु समुदायमा प्रचलित नृत्य नाटिका हो । घाटुको आफ्नै कथावस्तु छ । त्यसकारण घाटु केवल नृत्य मात्र नभएर लौकिक नाटिका हो ।

तनहूँको कुन ठाउँमा हो ? ठकुरीहरुले घाटु नाच्छन् भन्ने सुनेको छु । यसैगरी त्रिशूली नुवाकोटका गुरुङहरुले घाटु नचाउन छोडेको हुँदा त्यहाँ बाहुनहरुले घाटु नचाउन थालेकाछन् भन्ने सुनेको छु । यो कुन ठाउँमा हो ? पत्ता लगाउन पर्नेछ । गुरुङहरुले घाटु नाच्न छोड्नु, बाहुनहरुले घाटु नचाउन थाल्नु, माल पाएर पनि चाल नपाउनु भने कै यही हो । यसरी नै एकातिर संस्कृति मासिदै जान्छ र अर्कोतिर संस्कृति पुष्टिँदै जान्छ । अनि फलाना ढिकानाले हाम्रो संस्कृति मास्यो भनेर विरोध गर्छन्, आफ्नो कमी कमजोरीको ख्याल गर्दनन् ।

वास्तवमा घाटु वसन्त ऋतुमा गाइने एउटा राग हो । घाटु चाहिँ गण्डकी प्रदेशका गुरुङ, मगर, दरैँ, कुमाल र थारु समुदायमा प्रचलित नृत्य नाटिका हो । घाटु केवल नृत्य मात्र नभएर लौकिक नाटिका हो ।

घाटु न्रुत्य नाटिकाको चरित्र बिचार गर्दा शास्त्रीय गीत र नृत्य कै लौकिक प्रस्तुति घाटु हो भन्ने बुझिन्छ । राग र तालमा कस्तो शक्ति हुन्छ र यसले कस्तो प्रभाव पार्दछ भन्ने कुराको प्रत्यक्ष अनुभव घाटुमा गर्न पाइन्छ । घाटुमा राग र तालबाट नै घाटुनीहरुमा देवता चडाइन्छ र राग र तालबाट नै विसर्जन गराइन्छ । यो नै घाटुको करामत हो ।

सती घाटु र बाह्रमासे घाटु गरि घाटु दुई प्रकारका छन् । सती घाटु यस नृत्य नाटिकाको अधिकारिक भाग हो । यसैमा घाटुको कथावस्तु फलाकिन्छ । सती घाटुका गायक र नर्तकीहरु सबै महिला हुन्छन् । सती घाटुमा मादल बजाइँदैन । केवल हातको थपडी मात्र बजाउन्छ ।

बाह्रमासे घाटु यस नृत्यको प्रासाङ्गिक भाग हो । सिकार खेल्ने, धानको रोपाइँ गर्ने, फूलको गीत आदि बाह्रमासे गीत हुन् । बाह्रमासे घाटुमा पनि सती अथवा नृत्यको मुख्य अधिकारिक भागको पनि मन्चन गरिन्छ । बाह्रमासे घाटुका गाउने र बजाउनेहरु सबै पुरुष हुन्छन् । घाटुनीहरु चाहिँ कन्या कुमारीहरु हुन्छन् ।

यलल, ढिले र चम्के गरी घाटु गीतका तीन थरी लय हुन्छन् । यलल भनेको राग हो । यलल भाकामा मादल र थपडी बजाइँदैन । देवताको आह्वान गर्ने, विसर्जन गर्ने र सतीका मुख्य मुख्य भागहरु यलल अथवा रागमा प्रस्तुत गरिन्छ । ढिले भनेको विलम्वित अथवा ढिलोगरी गाउने र नाच्ने गीत हो । चम्के चाहिँ द्रुततर अथवा चम्किलो पाराले गाउने र नाच्ने गीत हो । ढिले र चम्के दुवैमा मादल र थपडी बजाइन्छ ।

हिउँचूली, वरचूली, देउचूली र गङ्गाचूली गरि घाटुका चारवटा देवता छन् । हिउँचूली र गङ्गाचूली अन्नपूर्णहिमालमा छन् । कास्कीको घान्द्रुङबाट पूर्व-खिनमा हिउँचूली र गङ्गाचूली अवस्थित छ । वरचूली र देउचूली महाभारत पर्वतमा अवस्थित छ । नवलपुरको कावासोतिबाट उत्तरतिर वरचूली र देउचूली देखिन्छ । वरचूली पूर्वतिर र देउचूली पश्चिममा पर्दछ । देउचूली भन्दा वरचूली अग्लो छ । त्यसकारण वरचूलीलाई दिदी र देउचूलीलाई बहिनी मानिन्छ ।

देउचूली र वरचूलीमा चूलीबोजा र टेडिबोजा नामका मगर गाउँ छन् । यही चूलीबोजा बरालको आँशु पद्य संग्रहका सर्जक बहादुरसिंह बराल मगर र वहाँका छोरा पूर्व आइजिपी खड्गजित बराल मगरको थात थलो हो । देउचूलीलाई नवलपुरका थारुहरु आफ्नो शिरस्थान मान्दछन् । देउचूलीमा एउटा गुफा छ । त्यस गुफाका देवीलाई थारुहरु कुमारवर्ति माई मान्दछन् । नवलपुरबाट देउचूली जाने बाटोमा कीर्तिपुर नाम गरेको मगर गाउँ छ । नवलपुरका थारु र कीर्तिपुरका मगरहरु मिलेर चैते दशैँ पछिको देवीपूर्णिमाको दिनमा देउचूलीका कुमारवर्ति माईको पूजा गर्दछन् ।

घाटुको गीतमा सप्तगण्डकीलाई सातै जमुना भनेको छ । घाटुको विसर्जनको अवसरमा हिउँचूली, वरचूली, देउचूली र गङ्गाचूलीको देवता र गण्डकी प्रदेशका मुख्य सातवटा घाटहरु र विभिन्न एतिहसिक कोटहरुको गीतैको भाकाबाट पूजा गरिन्छ । सती घाटुको उठान श्रीपन्चमीमा गरिन्छ र वैशाख शुक्ल पूर्णिमा अथवा चण्डी पूर्णिमाको दिनमा विसर्जन गरिन्छ । यो अवधी भन्दा बाहिर सती घाटु गाउन र नाच्न पाइँदैन ।

बाह्रमासे घाटु बाह्रै महिना बाह्रै काल गाउन नाच्न पाइँन्छ । त्यसकारण यसलाई बाह्रमासे घाटु भनेको हो । यसो भएतापनि जेठपूर्णे पछि बाह्रमासे घाटु पनि नाच्न हुँदैन भन्ने वाचा छ, किनभने जेठपूर्णे पछि ता सबै खेतीपातीमा लाग्न पर्ने हुन्छ । घाटुको गीत पुरानो नेपाली भाषामा रचिएको छ । यसमा अवधी भाषको प्रभाव परेको पाइन्छ । गीतको उठान गर्ने गुरु बा, मादले , अरु सहयोगी र दर्शकहरु सबै बसेका हन्छन् । घाटुनीहरु उठ्दै बस्दै गरेर नाच्दछन् ।

कृष्णचरित्र र सोरठी जस्तो चट्किलो हुँदैन तर घाटु रसिलो हुन्छ।हिउँद लागेपछि फागुन-चैतमा आइरे कुकुरको घाँडो नबज्ने वन जङ्गल र घाटुको राग नगाउने गाउँको शोभा हुँदैन भन्ने कहावत छ । यसबाट घाटुको गरिमा र महत्त्व राम्ररी स्पष्ट हुन्छ ।

ठाउँ र समुदाय अनुसार घाटुको कथामा केही भिन्नता पाइन्छ । कतै पश्रामु राजा- यम्फावती रानी भन्छन् । कतै परशुराम रजा- अम्वावती रानी भन्छन् । तिनका बालकृष्ण नामको छोरा हुन्छ । छोरा जन्मे पछि चारै दिशा वैरी उठ्छ र पश्रामु राजा लडाइँमा जान्छन् । लडाइँमा पश्रामु राजाले ईन्द्रासन (वीरगति) प्राप्त गरेपछि राजाज्यूको पगरी साथमा लिएर यम्फावती रानी सती जान्छिन् र सती घाटुको समापन हुन्छ ।

घाटु सेलाउँदा गाउँ बाहिर चण्डीथान बनाएर त्यहाँ बाँसको लिङ्गो ठड्याएर विसर्जन गरिन्छ । वैशाख पूर्णेमा घाटु सेलाएपछि यथा समयमा खुवा खाएर रमाइलो गर्दछन् । यतिसम्ममा वर्खा लागि सकेको हुन्छ र त्यसपछि सबै खेतीपातीमा लाग्दछन् । घाटु नेपालको आफ्नै धर्ती, आफ्नै आकाश र आफ्नै परिवेश्मा नाचिने नृत्य नाटिका हो । घाटु नृत्य नाटिकाले नेपालको हिमाल, पहाड र मधेशलाई एक ठाउँमा जोडेको छ । आफ्नै हिमाल, आफ्नै डाँडाकाँडा, नदी नाला, घाट र कोटहरुलाई पूजेको छ । घाटुमा नेपाली जनजीवन प्रतिविम्वित भएको छ ।

यसरी घाटु नृत्य नाटिकामा नेपालको स्थानीयता छ, अपनत्व छ । स्थानीयता र अपनत्व भने कै राष्ट्रीयताको भावना हो ।त्यसकारण घाटु न्रुत्य नाटिकालाई नेपाली राष्ट्रियताको भावनाले ओतप्रोत भएको दैवीशक्तियुक्त लौकिक नृत्य नाटिका हो भन्दा अत्युक्ति हुँदैन । यस किसिमको घाटु नृत्य नाटिका हाम्रो अमूर्त सांस्कृतिक सम्पदाको एउटा अनुपम नमूना हो । अत: यस्तो अनुपम अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन हुन अत्यावश्यक छ ।
।।शुभम्।।

तस्वीर : टान नेपाल (TAAN Nepal)

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व