१८ बैशाख २०८१, मंगलबार

हङ्कङलाई हराउदै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश


नेपाली क्रिकेट टीम

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङलाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङ्कङलाई हराएर नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङ्कङलाई आठ विकेटले पराजित गरेको हो । हङ्कङले दिएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सवभन्दा बढी ४० रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई भुर्तेल र शेखले ५.३ ओभरमा ७० रन बनाउदै शानदार सुरुवातको योगदान दिएका थिए ।

कप्तान रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई ११४ रनको लक्ष्य दिएको थियो । हङ्कङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका थिए ।

त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाएका थिए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका अभिनाश बोहोराले ३ विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे ।

लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेलबाट दुई अंकको हङकङ चौथो स्थानमा रहेको छ ।

यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल यही वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !