२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित


विमला घिमिरे

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) की विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रियसभाको आज बुधबार बसेको बैठकमा भएको मतदानबाट घिमिरे राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी एमालेकी घिमिरेको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि घिमिरेको नाम स्वीकृत भएको घोषणा गरेका हुन् ।

राष्ट्रियसभा सदस्य घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । मतदानमा जम्मा ५५ जना सांसद उपस्थित थिए भने घिमिरेको पक्षमा ३९ मत र विपक्षमा १६ मत परेको थियो ।

घिमिरेलाई राष्ट्रियसभामा उपाध्यक्ष पदको उम्मेदवारका लागि एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले प्रस्ताव गरेकी थिइन् भने नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीले समर्थन गरेका थिए ।

राष्ट्रियसभाको उपाध्यक्ष पदको लागि घिमिरे र नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनी गरी दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

यसअघि आजै केही समयअघि राष्ट्रियसभा सदस्य पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । उक्त मतदानमा पुडासैनीको विपक्षमा बहुमत सदस्यले मतदान गरेपछि पुडासैनीको नाम अस्वीकृत भएको थियो ।

उक्त मतदानमा जम्मा ५५ जना सांसद उपस्थित थिए भने पुडासैनीको पक्षमा १६ मत र विपक्षमा ३९ मत परेको थियो । कांग्रेसकी उम्मेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका थिए ।

घिमिरे २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ । नवनिर्वाचित राष्ट्रियसभाकी उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै अध्यक्ष दाहालले कार्यकालको सफलताको कामना व्यक्त गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !