, वैशाख शुक्ल पूर्णिमा - लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

बुद्ध जननी मायादेवीको मूर्तिलाई समई माईको रुपमा पूजा गरिन्थ्यो र पशुवलि पनि चढाइन्थ्यो

डा. जगमान गुरुङ

डा. जगमान गुरुङ

लुम्बिनीलाई मानिसले भगवान् शाक्यमुनि बुद्धको जन्मभूमि भनेर बिर्सिसकेका थिए । त्यहाँ स्थित खण्डहरुलाई रुम्मिनदेईको मन्दिर भनिन्थ्यो । बुद्ध जननी मायादेवीको मूर्तिलाई समई माईको रुपमा पूजा गरिन्थ्यो र पशुवलि पनि चढाइन्थ्यो ।

श्री ३ महाराज वीरशमशेर राणासंग खडाजङ्गी परेपछि वि. सं. १९४३ चैतमा जनरल खड्ग शमशेर राणालाई अर्घाखाँचिको ठाडामा निस्कासित गरियो । उनका मामा केसरसिंह थापालाई सल्यान पठाइयो । त्यसको दुई वर्षपछि वि. सं. १९४५ मा जनरल खड्गशमशेर राणा पाल्पा गौँडाका बडाहाकिम पदमा नियुक्त भए ।

त्यति खेरको पाल्ही, माझखण्ड, बुटवल, खहहनि, स्युराज अर्थात् अहिलेको नवलपरासीदेखि कपिलवस्तु आदि प्रगन्ना पाल्पा गौँडा अन्तरगत पर्दथ्यो । मधेशका अतिरिक्त पहाडमा बागलुङ र पर्वत पनि पाल्पा गौँडा अन्तरगत पर्दथ्यो ।

अघि सेनकालमा नवलपुरदेखि कपिलवस्तुसम्मको जङ्गलका वन हात्ती पक्रेर अवधका नवाफलाई उपहार चढाएर पाल्पा राज्यले उक्त ईलाकाको जग्गा भोग गर्दथे । त्यस ईलाकामा घना वन जङ्गल भएको हुँदा त्यहाँको काठ कटानी गरी भारततिर निकासी गर्दा प्रशस्त आम्दानी हुन्थ्यो । त्यसकारण पडरिया ईलाकाको जङ्गलको काठ जाट्न र सिकार खेल्न पाल्पा गौँडाका बडाहाकिम खड्गशमशेर राणा पडरिया गए । रुम्मिनदेईको खण्डहरमा खड्गशमशेर राणाले एउटा अचम्भको शिलास्तम्भ भूईँमा गाडिएर रहेको अवस्थामा देखे ।

खड्गशमशेर राणा कलकत्तामा पढेको र राम्ररी अंग्रेजी बोल्न जान्ने फुर्तिला नवयुवक थिए । त्यसकारण खड्गशमशेर राणालाई आधुनिक वस्तुस्थितिको जानकारी थियो । अत: खड्गशमशेर राणाले उक्त स्तम्भको उत्खनन् गरे । शिलास्तम्भको फेदको ३ फिट भाग बाँकी राखेर अरु सबै खनी सकेको मानिएको छ । यसरी उत्खनन् गरेतापनि खड्गशमशेर राणालाई लिपि र भाषाको समस्या थियो ।

पाल्पा गौँडाका बडाहाकिमका हैसिततले गर्दा भारतको सीमावर्ति क्षेत्रका जमिनदारहरुसंग खड्गशमशेर राणाको चिनजान थियो । उनी अंग्रेजी लेख्न र बोल्न पनि जान्दथे । त्यसकारण खड्ग शमशेर राणाले लखनउका जमिनदार डा. ह्वेलाई उक्त शिलाभिलेखको प्रतिलिपि उतार पठाएर यसबारे जानकारी लिए । डा. फुहररले भन्दा पहिले नै खड्गशमशेर राणाले ईलाहवादबाट प्रकाशित Pioneer पत्रिकामा यस सम्बन्धी ३ वटा लेख प्रकाशित गरिसकेको मानिएको छ । यस सम्बन्धमा अझै विस्तृत अध्ययन गर्न आवश्यक छ ।

यसै ताका भारतको पुरातात्त्विक सर्वेक्षण विभागले भारतको गोरखपुर नजिक रोहिणी नदीको छेउछाउतिर बुद्धको जन्मभूमि खोज्दै थियो । यस सन्दर्भमा भारतको बलरामपुरका जमिनदार जसकरनसिंहले भारतको पुरातात्त्विक सर्वेक्षण विभागलाई सन् १८९३ मार्चमा नेपाल तराईमा अभिलेखयुक्त शिलास्तम्भ छ भनेर जानकारी दिए । यसको आशय निगलिहवाको अशोक स्तम्भ हुन सक्छ ।

त्यसपछि भारतको पुरातात्त्विक सर्वेक्षण विभागले त्यस क्षेत्रमा अध्ययन गर्नका लागि नेपाल सरकारसंग स्वीकृति माग्यो र नेपालले सन् १८९५ को फरवरिमा त्यसका लागि स्वीकृति दियो । त्यसपछि सन् १८९५ मार्चको पहिलो साता डा. फुहरर नेपालगन्ज आए । बलरामपुरको उत्तरमा नेपालगन्ज पर्ने हुँदा डा. फुहरर पहिले नेपालगन्ज आएको बुझिन्छ तर अभिलेख भएको ठाउँ यो होइन भन्ने थाह पाएपछि त्यहाँबाट डा. फुहरर निगलिहवा आए ।

निगलिहवाको अशोक स्तम्भलाई स्थानीय जनता भीमसेन निगल भन्दथे । निगलको अर्थ चुरोट हो । त्यसकारण यस शिलास्तम्भलाई भीमसेनको चुरोट भीमसेन निगल र भीमसेन निगल भएको ठाउँलाई निगलिहवा भनेको हो ।

भारतको पुरातात्त्विक सर्वेक्षण विभागको टोलीलाई त्यस क्षेत्रको अध्ययनमा सहयोग गर्नू भनेर वीरशमशेर राणाबाट आदेश आएपछि अंग्रेजी पढेका चल्दापुर्जा खड्ग शमशेर राणाले त्यस क्षेत्रमा आफ्नै हिसाबले पनि अध्ययन गरेको बुझिन्छ । त्यसकारण निगलिहवाको अशोक स्तम्भको बारेमा पनि खड्ग शमशेर राणालाई थाह थियो किनभने खड्ग शमशेर राणाले नै डा. फुहररलाई निगलिहवाको अशोक स्तम्भको वस्तुस्थिति बताएका थिए तर डा. फुहररले खड्ग शमशेर राणाको उल्लेखै नगरी सन् १८९५ मार्चमा आफुले निगलिहवाको अशोक स्तम्भ फेला पारेको भनेर प्रचार गरेर आफू एकलैले त्यसको जस लिए ।

निगलिहवाको अशोक स्तम्भ फेला पारेको नौ महिनापछि मात्र सन् १८९६ दिसेम्वर १ मा मात्र डा. फुहरर लुम्बिनी आएकाछन् । निगलिहवादेखि यति नजिकको लुम्बिनीमा किन डा. फुहरर नौ महिनापछि मात्रै आए ? यो कुरा विचारणीय छ । निगलिहवाको अशोक स्तम्भा फेला पारे पछि डा. फुहरर निगलिहवादेखि नजिकै पश्चिम- उत्तरमा अवस्थित सग्रहवाको लम्बुसागरको जङ्गलमा गएर प्राचीन बौद्ध चैत्य र अन्य स्मारकहरु खोतल्न थाले।त्यहाँबाट डा. फुहररले प्रशस्तै खजाना हात पारे ।

सग्रहवा नजिकको लम्बुसागरलाई अघि कोशलका राजा विरुढकले कपिलवस्तुका शाक्यहरुलाई बध ठाउँ मानिएकोछ । विरुढकले वध गरिएका ती शाक्यहरुको पुण्यस्मृतिमा त्यहाँ चैत्य र अन्य स्मारकहरु निर्माण गरिएका थिए । डा. फुहररले तिनै चैत्यहरु खोतलेर खजाना हात पारेका हुन् । वास्तवमा डा. फुहरर पुरातत्वविद नभएर एउटा Antique Collector मात्र भएको बुझिन्छ । त्यसो भएर नै उनले लम्बुसागर्का पुरातात्त्विक स्मारकहरुको वैज्ञानिक उत्खनन् नगरी ती स्मारकहरुलाई नाशेर त्यहाँका खजाना मात्र हात पारेका छन् ।

डा. फुहररले लम्बुसागरमा फेला पारेका पुरातात्त्विक सामग्रीहरुको कुनै सूचि पनि छैन । यसरी डा. फुहररले उत्खननको नाउँमा नेपालको पुरातात्त्विक सम्पदा मासेर सम्पत्ति हात पारेका छन् । डा. फुहरर सन् १८९६ दिसेम्वर १ मा जनरल खड्गशमशेर राणालाई भेट्न पडरिया आइपुगे । त्यहाँ डा. फुहररले खड्गशमशेर राणाले उत्खनन् गरेर ठिक्क पारेको लुम्बिनीको अशोक स्तम्भ देखे । त्यसपछि सन् १८९६ दिसेम्वर २० मा ईलाहवादको Pioneer पत्रिकामा त्यस सम्बन्धी खबर पठाए ।

सन् १८९६ दिसेम्वर २३ मा Pioneer पत्रिकामा उक्त खबर छापियो । सन् १८९६ दिसेम्वर २८ मा London Times मा पनि उक्त खबर छापियो । त्यसपछि Pro. Buhler ले उक्त स्थान भगवान् शाक्यमुनि बुद्धको जन्मभूमि हो भनेर ठहर गरे । यसरी लुम्बिनीको अशोक स्तम्भ प्रकाशमा आयो ।

आजकल डा. फुहरर पडरिया आएर उनले लुम्बिनीको अशोक स्तम्भ देखेको दिनलाई लुम्बिनीको अशोक स्तम्भ पत्ता लागेको दिन मानिन्छ तर कुरा त्यसो होइन किनभने खड्गशमशेर राणाले लुम्बिनीस्थित अशोक स्तम्भको टुप्पो कहिले देखे ?, कुन दिनदेखि उनले त्यहाँ खन्न थाले ?, कुन दिन अभिलेख देखियो ?, कुन दिन खड्गशमशेर राणाले डा. ह्वेलाई स्तम्भको प्रतिलिपि उतार पठाए ? डा. ह्वेले के जवाफ पठायो ?, डा. फुहररले भन्दा पहिले खड्गशमशेर राणाले Pioneer पत्रिकामा लेख छपाएको हो कि होइन ? यी यावत् कुराहरुको छिनोफानो गरेर मात्रै लुम्बिनीको अशोक स्तम्भ पत्ता लागेको मिति ठहर गर्नुपर्छ, किनभने आफ्नो मानिसलाई मान्छे नगन्ने र विदेशीलाई नै ठूलो मान्ने हाम्रो प्रवृत्ति छ । त्यसकारण खड्गशमशेर राणाले लुम्बिनीमा गरेका सम्पूर्ण कार्यहरुको समुचित अध्ययन गरिनुपर्छ । यो नै न्यायोचित हुन्छ । नत्र भने खड्गशमशेर राणाप्रति अन्याय हुन जान्छ ।

त्यसपछि सन् १८९९ फरवरिदेखि मार्चसम्म पुरातत्त्वविद पूर्णचन्द्र मुखर्जीले कपिलवस्तु र लुम्बिनीको स्थलगत अध्ययन गरेर तिलौराकोटलाई प्राचीन कपिलवस्तुको रुपमा मान्यता दिए । लुम्बिनीको अशोक स्तम्भलाई राम्ररी पढे । समई माई भनेर पूजा गरिने मूर्ति बुद्धजन्मको दृश्य अङ्कित मायादेवीको मूर्ति हो भनेर ठहर गरे ।

यसरी रुम्मिन्देई ता भगवान् शाक्यमुनि बुद्धको जन्मभूमि लुम्बिनी रहेछ, समई माई भनेर पूजा गरिने मूर्ति ता बुद्धजन्मको दृश्य अङ्कित मायादेवीको मूर्ति रहेछ भनेर थाह पाए । त्यसपछि केशरशमशेर राणा र देवला मित्र र नेपालको पुरातत्त्व विभागले लुम्बिनीमा उत्खनन् गरे । त्यसपछि सन् १९७६ मा लुम्बिनी विकाश कोषको स्थापना भयो ।

अहिले लुम्बिनीमा अतिथि गृहको भवन भएको ठाउँमा उत्खनन् गर्दा दस Layers सम्म फेला परेकोछ र अन्तिम Layer मा Mud Wall फेला परेको छ । यहाँ NBP Ware पनि फेला परेकोछ । यस ठाउँमा गुप्तकालदेखि ईपू छैटौँ शताब्दिसम्मको संकृत्यनुक्रम फेला परेको छ । यो ठाउँलाई प्राचीन लुम्बिनी ग्रामको थलो मानिएको छ ।

लुम्बिनीको उत्खननमा ईपू दोस्रो शताब्दि ताकाको मथुराशैलीको बुद्धको मृत्तिकामूर्तिको शीर्षभाग फेला परेको छ । यसैगरी बत्तिसवटा Spokes भएको Terracotta को धर्मचक्र र सिद्धार्थ गौतमले गृहत्याग गरेको दृश्य अङ्कित Terracotta फलक फेला परेको छ ।

लुम्बिनीदेखि दखिनपट्टि बन्जरहीको उत्खननमा कुनै औजारको प्रयोग नगरी केवल हातबाट मात्र बनाइएको नारीको मृत्तिका मूर्तिको शीर्षभाग पाइएको छ।यो मूर्तिलाई ईपू तेस्रो शताब्दी ताकाको मानिएको छ । लुम्बिनीको बन्जरहीमा पाइएको यस नारीमूर्तिलाई नेपालमा हालसम्म पाइएको सर्वप्राचीन कलाकृति मानिएको छ ।

निगलिहवाको अशोक स्तम्भमा रिपु मल्ल चिरं जयतु१२३४ लेखिएकोछ । यसबाट जुम्लाका राजा रिपु मल्लले शक संवत् १२३४ ( वि. सं. १३६९) मा कपिलवस्तु र निगलिहवाको भ्रमण गरेको देखिन्छ । लुम्बिनीको अशोक स्तम्भमा पनि रिपु मल्ल चिरं जयतु संग्राम मल्लश्च लेखिएको छ । यहाँ रिपु मल्लले आफ्ना छोरा संग्राम मल्ललई आफ्नो उत्तराधिकारीको रुपमा रखेको पाइन्छ । रिपु मल्लको लुम्बिनीको अभिलेखमा भने संवत् उल्लेख गरिएको छैन ।

गोपाल वंशावलीमा ने. सं. ४३३ ( वि. सं. १३६९) मा रिपु मल्लले बुङमतिका करुणामयलाई कोष चढाएको, देउपाटनका पशुपति भट्टारकलाई प्रसन्न पारेको र स्वयम्भूमा व्रतबन्ध गरेका जतिलाई भोज ख्वाएको उल्लेख छ । त्यसकारण रिपु मल्लले कपिलवस्तु र लुम्बिनीको बाटो भएर नेपाल उपत्यकाको भ्रमण गरेको देखिन्छ ।

यसरी विक्रमको चौधौँ शताब्दिको उत्तरार्द्धसम्म कपिलवस्तु र लुम्बिनी क्षेत्रमा तीर्थालुहरुको आवत जावत भएको र त्यसपछि विस्तारै बिर्सँदै गएको बुझिन्छ । यसरी बिर्सँदै गएको लुम्बिनीलाई अहिले आएर पाल्पा गौँडाका बडाहकिम जनरल खड्ग शमशेर राणाको भूमिका र सहयोगमा भारतको पुरातात्त्विक सर्वेक्षण विभागका डा. फुहररले लुम्बिनीलाई सम्झाइ दिए ।

रुम्मिनदेईको मन्दिरमा नेपाल सरकारले पाण्डे थरका एकजना स्थानीय मधेशी ब्राह्मणलाई लालमोहर दिएर पुजारी नियुक्त गरेको भनिन्छ । पुस्ता पुस्तासम्न पूजारी परम्परा चल्दै आएको थियो । पछिल्लो समयमा आएर उक्त पूजारी परम्परा छोरी ज्वाइँमा सय्रो । ती ज्वाइँ पूजारीलाई ता मैले पनि देखेको थिएँ । अहिले लुम्बिनी विकाश कोषले मायदेवीको मन्दिरबाट उक मधेशी ब्राह्मण पुजारीलाई मुक्त गरिदिएको छ।

नेपालका बौद्धहरुका संस्था धर्मोदय सभाले लुम्बिनीमा धेरै सुधार र विकाशका कार्यहरु गरेको छ । वि. सं.२०१२ मा धर्मोदय सभा स्थापना भएपछि लुम्बिनीको मायादेवी मन्दिरमा पशुवलि चढाउने प्रथा बन्द गरियो ।

मायादेवीको मन्दिरमा स्थानीय मधेशी समुदायका मानिसहरु अहिले पनि आफ्ना छोराहरुको व्रतबन्ध गराउँदछन् । मधेशमा विशेष अवस्थमा कन्या केटीहरुको पनि मुण्डन गर्ने चलन छ ।

यसैगरी मायादेवीको मन्दिरमा कराही चढाएर पूजा गरिन्छ । मन्दिर कै परिसरमा चुह्लो बनाई फलामको करहीमा तोरिको तेलको बान बसालेर गहुँको पिठोको पुरि पकाएर देवी देवतालाई भोग लगाउनुलाई कराही चढाउने भनिन्छ ।

यसरी कराही चढाएपछि वायु मुक्त हुन्छ, पितृहरु तृप्त हुन्छन् र देवी देवताहरु प्रसन्न हुन्छन् भन्ने मान्यता छ । यसरी लुम्बिनीमा बौद्धहरुका साथ साथै स्थानीय समुदायको पनि सहभागिता रहेको छ ।

लुम्बिनीस्थित अशोक स्तम्भाभिलेख
देवान पियेन पियदसिन लाजिन वीसती वसाभिसितेन
अतन आगाच महीयिते हिद बुधे जाते सक्यमुनी ति
सिलाविगडभी च कालापित सिलाथभे च उसपापिते
हिद भगवं जातेति लुमिनि गामे उवलिके कटे
अठभागिये च
(देव= सामन्त शासकहरुका प्रिय । सबैलाई प्रिय दृष्टिले हेर्ने= आर्यावलोकितेश्वर। राजा= अशोकले आफ्नो राज्याभिषेकको
बिसौँ वर्षमा यहाँ आएर पूजा गरे । यहाँ शाक्यमुनि बुद्ध जन्मेको हुनाले ढुङ्गाको पर्खाल लगाए । ढुङ्गाको स्तम्भ पनि खडा गरे । यहाँ भगवान् बुद्ध जन्मेको हुनाले लुम्बिनी गाउँमा वलि = नगद कर र अष्टभाग = अन्नादि जिन्सिबाट बुझाइने कर पनि माफ गरियो) ।

।।शुभम्।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व

पापेन पापं भवति, पुण्येन पुण्यं भवति

अमूर्त सांस्कृतिक सम्पदा र मन्त्रविद्या

नेपालको एकीकरण र तान्त्रिक साधना

समन्वयको परिवेशमा विकसित नेपाली राष्ट्रियता