२७ बैशाख २०८१, बिहिबार

मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल


निर्वाचन आयोग नेपाल

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा मतदानमा सहभागी हुन अपिल गरेको छ । आयोगले इलाम र बझाङमा आज शनिबार हुने उपनिर्वाचनमा सहभागी हुन सम्पूर्ण मतदातालाई अपिल गरेको हो ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (१) मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो ।

यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !