, बेला बखतका कुरा : डा. जगमान गुरुङ

बेला बखतका कुरा : डा. जगमान गुरुङ

काठमाडौँ, भदौ १२ । जेठ, असारमा बाडि आएर खोला बढेपछि आफ्नो अस्तित्त्व जोगाउन माछाहरु ठूलो खोलाबाट ठाडो खोलातिर लाग्दछन् । त्यसकारण जेठको निख्लदोदेखि माछाको शिर उँभोतिर फर्केको हुन्छ ।

भदौको १२ मा सगर गर्जेपछि खण्ड वृष्टि हुन्छ र खोलामा पानी घट्न थाल्छ । त्यसकारण भदौ १२ देखि माछाहरु ठूलो खोलातिर फर्कछन् र भदौ १२ देखि माछाको शिर उँधोतिर फर्केको हुन्छ ।

माछाको यो प्रकृति थाह पाएपछि मानिसले भदौ १२ देखि ठाडो खोलामा तीब्र (बाँसको कप्टेराको टाँड) थापेर माछा मार्दछन् । भदौको १२, तिबको तारा, हरियो दुना, पहेँलो चोक्टा हुन मन लाए बस, होइन भने हिँड भाई हो भनेर भदौ १२ देखि माछाहरु उँधो लाग्छन् भन्ने कहावत छ ।

त्यसैगरी गरी भदौ १२ देखि हिमालबाट चिसो सिरेठो चल्न थाल्छ । भदौ ११ सम्म भेडाको टाउको उँभोतिर फर्केको हुन्छ । भेडाको मूली माउले हिमालबाट चिसो सिरेठो चल्न थालेको थाहा पाउँछ र भदौ १२ देखि भेडाको मूली माउले उँधोतिर टाउको फर्काउँछ । भेडाको मूली माउले उँधोतिर टाउको फर्काएको देखेपछि भेडी गोठालाले एक कान्ला मुन्तिर गोठ सार्दछ।उँधौली भने कै त्यही हो ।

माघमा आरु फुलेपछि वर्खा लाग्छ । फागुन १२ मा सगर गर्जेपछि धर्ती कम्लाउँछ र खेतबारीमा जोत चास गर्ने बेला हुन्छ । त्यसकारण फागुन १२ देखि बेसिको गोठ लेकतिर सार्न थालिन्छ ।

फागुन-चैतमा कय्राङ कुरुङ चरा दखिनबाट उत्तरतिर लाग्दछ । आकाशमा कय्राङ कुरुङ चरा उँभो लागेपछि धर्तिमा न्याउली चरा कराउन थाल्दछ । सर्पले कुरबाट टाउको बाहिर निकालेर आफ्नो दुइटा जिब्रो फट्कार्न थाल्दछ ।

भदौमा पैयुँ फुले पछि हिउँद लाग्दछ । साउन-भदौमा कय्राङ कुरुङ चरा उत्तरबाट दखिनतिर लाग्दछ । आकाशमा कय्राङ कुरुङ चरा दक्षिणतिर लागेपछि धर्तिमा झ्याउँकिरी कराउन थाल्दछ ।

गाड कुलो चल्ने बेसिका सिम खेतहरुमा जेठको २२/२३ देखि नै धानको रोपाइँ गर्न सकिन्छ । असारको १६ गतेदेखि पृथ्वीको उत्तरी गोलार्द्धमा घाम छड्के पर्दछ र भूइँको तापक्रम सेलाउन थाल्दछ।त्यसकारण असार १५ मा खले गरो रोपी सक्नुपर्छ । त्यसपछि असार महिना भरमा धानको रोपाइँ सकेर साउने संक्रान्तिमा लुतो फाल्नु पर्दछ ।

साउन महिना भरि झरी बादल हुनुपर्छ । साउनमा झरी बादल भयो भने टारी खेतमा भल छोपुवा गरेर रोपेको धानले पनि पानी पाउँछ । भदौ लागेपछि झरी बादल हुनुहुदैन । घाम पानी-घाम पानी हुनुपर्छ । घाम पानी भयो भने घामको तापले धानको गांज भरिलो हुन्छ । त्यसकारण साउन झरिलो, भदौ भरिलो भन्ने कहावत छ ।

असोजको पहिलो सारादेखि धानले फूल खेल्न थाल्छ । धानको फूलको वास्न र भात ओथिएको वास्न उस्तै उस्तै हुन्छ । धानले फूल खेल्ने बेलामा हावा हुरी र झरी बादल हुनुहुँदैन । हावा हुरी र झरी बादल भयो भने धान भुसिन्छ ।

असोजको १०/१२ देखि धान दुधिलो हुन्छ । असोजको २०/२२ देखि धानमा चामल पसिसक्छ । चामल पसेपछि धानको बाला नुहिन्छ र धान झुल्न थाल्दछ ।
कात्तिकको १०/१२ देखि धान पहेँलो पहेँलो हुन थाल्दछ । कात्तिकको २२/२३ सम्म ता धान पहेँलपुर भएर पाकी सक्छ ।

जहाँ गोबर त्यहाँ दोबर भन्ने कहावत छ । भैंसीको मल भन्दा गाईको मल पोसिलो हुन्छ । त्यसकारण हिउँदभरि गाईको गोठले मलेको खेतको धान रसिलो र पोसिलो हुन्छ ।

नाश भएर जाने वस्तु क्षत हो । नाश भएर नजाने वस्तु अक्षत हो । त्यसकारण कुल पितृ, देवी देवता, नाग नागिनी र अयँर भयँरलाई शुद्ध मनले चढाएको शुद्ध भूमिमा उब्जाएको अशल धानको चामल अक्षता कहलाउँदछ ।

अन्न ब्रह्म हो।अन्नाद्वै प्रजा प्रजायन्ते । अन्नबाटनै प्राणीहरु जन्मन्छन् । अन्न भैषज्य – औषधि हो । अत: अन्न खाएर नै प्राणीहरु बाँच्दछन् । प्राणीको देहान्त भएपछि उसको सत्ता अन्तरिक्षमा पुग्दछ । अन्तरिक्षबाट पर्जन्य अथवा वर्षातको पानीसंग संगै प्राणीको सत्ता फेरि यस मर्त्यमण्डलमा वर्षन्छ र प्राणीको सत्ताले अन्न र फलफूलको कोषिकामा प्रवेश गर्दछ । प्राणीले ती अन्न र फलफूल खान्छन् र त्यसपछि फेरि प्राणीले जन्म लिन्छ । यो क्रम नै प्राणीको भवचक्र हो ।

यी कुराहरु कुनै बकम्फुसे गफ होइनन् । प्रकृति , प्राणी, अन्न, वनस्पति , खगोल-भूगोल र त्यस सम्वन्धी मानिसका तीक्ष्ण ज्ञानका अनुपम नमूना र तत्त्वविज्ञान हुन् । यी अनुसन्धानको विषय हुन् । अत: यी कुराहरुको बातै पिच्छे एक-एक वटा विद्यावारिधि अनुसन्धान हुनसक्छ ।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व

नेपालको गौरव र नेपालीको स्वाभिमान : नेपालको राष्ट्रिय झण्डा

नेपाल राष्ट्रका लागि जागौँ 

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व