२५ बैशाख २०८१, मंगलबार

सीआईबीले सरकारी वकिल कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन


ललिता निवास प्रकरण

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरिरहको सीआईबीले मुद्दाको फाइल आज मंगलबार सरकारी वकिलमा बुझाएको हो ।

पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्रीसँग पनि नेपाल सीआईबीले हिजो बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा बयान लिएको थियो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग सीआईबीले बयान लिएको थियो भने पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार रहेको सीआईबीले जनाएको थियो ।

बालुवाटार जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ ।

गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिलाई प्रतिवादी बनाउन राय दिइएको छ ।

ललिता निवासका तत्कालीन भोगाधिकारी हाटकशमशेर राणा पनि प्रतिवादीको सूचीमा रहेका छन् । भूमाफियाहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकारका रूपमा राखिएको छ ।

सीआईबीले आइतबार राति पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपालको कोटेश्वर र डा. बाबुराम भट्टराईसँग टोखास्थित निवासमै पुगेर बयान लिएको थियो ।यस्तै तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई भने सीआईबीले कार्यालयमै बोलाएर कागज गराउँदै छाडेको थियो ।

साथै उक्त प्रकरणमा अहिले भाटभटेनी सुपरमार्केटमा मालिक मीनबहादुर गुरुङ र पूर्वसचिव सुधीर शाह हिरासतमा छन् भने पक्राउ परेकामध्ये ५ जना अदालतको आदेशमा छुटिसकेका छन् ।

ललिता निवास प्रकरणमा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाहसहित १७ जना पक्राउ परेका थिए । सञ्चार सचिव राउत भने तत्कालै छुटिसकेका छन् भने कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी अदालतको स्टे अर्डरका आधारमा छुटेका हुन् ।

अहिले गुरुङ, शाह, धर्मप्रसाद गौतम, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देव नारायण महर्जन, लोकहरि घिमिरे, धुव्रप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्रप्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र विनोद पौडेल हिरासतमा छन् ।

बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सिआईबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।

यो पनि पढ्नुहोस्

गच्छदारसहित तीन पूर्वमन्त्रीसँग पनि सीआईबीले लियो बयान, एक पूर्वमन्त्री फरार

माधव नेपालको घरमै पनि पुगेर सीआईबीले लियो बयान

आफ्नो निवासमा सीआईबीका अधिकारीलाई बोलाएर बाबुरामले दिए बयान

ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !