१६ जेष्ठ २०८१, बुधबार

कांग्रेसले अडान नछाडेपछि सदनको अवरोध खुलाउने सभामुखको प्रयास निष्कर्षविहीन


सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ । सभामुख देवराज घिमिरले आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएको बैठक निष्कर्षविहीन भएको छ ।

सभामुख घिमिरेले संसदको अवरोध हटाउन राखेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा काँग्रेसले पुरानै अडान राखेको हो । गृहमन्त्री लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

सभामुख घिमिरले छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

संसदको बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुँदैछ । संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकहरुसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग-अलग भेट गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !