२१ जेष्ठ २०८१, सोमबार

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी पुग्यो कार्यालयमा


कैलाश सिरोहिया

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी उनको कार्यालयमा पुगेको छ । आज मंगलबार सिरोहियालाई प्रकाउ गर्न प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयमै पुगेको हो ।

सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीकोसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेको हो ।

धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा सिरोहियालाई पक्राउ गर्न प्रहरी पुगेको हो । यसअघि सिरोहिया पक्राउ पूर्जी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !