१२ श्रावण २०८१, शनिबार

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ


कैलाश सिरोहिया

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेका छन् । आज मंगलबार सिरोहियालाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेको थियो ।

धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो । यसअघि सिरोहिया पक्राउ पूर्जी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धानका क्रममा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको जानकारी दिँदै थप अनुसन्धानका लागि जनकपुर लैजाने तयारी भइरहेको बताए ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो ।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !