२० बैशाख २०८१, बिहिबार

माधव नेपालको घरमै पनि पुगेर सीआईबीले लियो बयान


माधवकुमार नेपाल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि बयान लिएको छ ।

सीआईबीको टोलीले नेपालसँग आइतबार राती उनको निवासमै पुगेर बयान लिइएको थियो । सीआईबीका एसएसपी दिनेश आचार्यले अध्यक्ष नेपालसँग गएराति बयान लिएको बताए ।

नेपाल नेतृत्वको तत्कालिन मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो । नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।

गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो । ललिता निवास प्रकरणमा विगतदेखि दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको नाम जोडिदै आएको छ ।

सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न निर्देशनात्मक आदेश जारी गरेसंगै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो । सर्वोच्चले उक्त प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान नलिएको भन्दै तीव्र आलोचना हुँदै आएर चौतर्फी दबाब बढ्दै गएपछि सीआईबीले उनीहरुको बयान लिएको हो ।

यो पनि पढ्नुहोस्

आफ्नो निवासमा सीआईबीका अधिकारीलाई बोलाएर बाबुरामले दिए बयान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !