२४ बैशाख २०८१, सोमबार

आफ्नो निवासमा सीआईबीका अधिकारीलाई बोलाएर बाबुरामले दिए बयान


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) समक्ष बयान दिएका छन् ।

हिजो आइतबार अपरान्ह सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास टोखा बोलाएर डा. भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे बताएको जानकारी दिएको उनको सचिवालय स्रोतले जनाएको छ ।

सामाजिक संजालमा ट्वीट गर्दै भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो पालाको मन्त्रीपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी आफ्नो शुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआइबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका छन् ।

उनले यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना समेत गरेका छन् ।

ललिता निवास प्रकरणमा विगतदेखि दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको नाम जोडिदै आएको छ । सर्वोच्च अदालतले उक्त प्रकरणमा विगतदेखि चर्चा भएर नाम जोडिदै आएका दुई पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुल्ला गरिदिएको छ ।

सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न निर्देशनात्मक आदेश जारी गरेसंगै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो । सर्वोच्चले उक्त प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !