१० माघ २०८१, बिहीबार

प्रचण्डलाई हेग पुर्याउने ओलीको चेतावनी : ‘५ हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ भन्नुको अर्थ के हो ?


ओली प्रचण्ड संघर्ष फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो जवाफी ३८ पृष्ठ लामो ५३ बुँदे प्रतिवेदनमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घुमाउरो शैलीमा अन्तर्राष्ट्यि अदालत (हेग) पुर्याउने चेतावनी दिएका छन् ।

आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा राजनीति प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् । उनले प्रचण्डले राखेको राजनीतिक प्रस्ताव खारेजको समेत माग गरेका छन् । कतिपय बुँदामा प्रचण्डलाई चर्काचर्का प्रश्न गरिएको छ ।

ओलीले पेश गरेको ५३ बुँदे प्रतिवेदनको ४१ नम्बर बुँदामा शान्ति प्रक्रियाबारे उल्लेख गरेका छन् । ओलीले प्रचण्डले विगतमा दिएको अभिव्यक्तिलाई कोट्याउदै हेग शव्द प्रयोग नगरेपनि प्रश्न गरेका छन्, ‘तपाईंले भनेको ‘५ हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ?’

ओली यतिमा मात्रै रोकिएका छैनन । ‘तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस् । खेलबाड गर्ने गल्ती नगर्नुस्’, शव्द नरम भएपनि उनले चेतावनी दिएका छन् । त्यस्तै उनले शान्ति प्रक्रियाका काममा प्रचण्डले आफूलाई दोषी देखाउने दुश्साहस गरेको पनि दावी गरेका छन् ।

‘तपाईंले मलाई शान्ति प्रक्रियाका कामहरु अल्झिनुमा समेत दोषी देखाउने दुस्साहस गर्नुभएको रहेछ । म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ’, ओलीले भनेका छन्, ‘तर यस्ता आरोप सुन्दासुन्दा कहिलेकाँही दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ? यस्तो सुनेर द्वन्द्वमा ज्यान गुमाएका, वेपत्ता र घाइते पारिएकाहरुको ‘आत्मा’ ले के भन्दो हो ? छातिमा हात राखेर भन्नुस् त, यो विषय यतिका वर्षसम्म कसले अल्झाइरहेको छ ?’

यस विषयमा अस्ति भर्खर आफुले मलाई विश्वास गर्नुस्, म सकारात्मक टुङ्गो लगाउँछु भनेको स्मरण गर्दै ‘होइन भने मुख्य सरोकार राख्ने तपाईं दुई पक्ष (तत्कालीन माओवादी र काङ्ग्रेस) मिलेर जे विकल्प दिनुहुन्छ, म अगाडि बढाउँछु । तपाईँले नै होइन, आयोगमा नाम सिफारिसको प्रबन्ध गरेको ?’भनेर प्रचण्डलाई प्रतिप्रश्न गरेका छन् ।

ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने विषयमा प्रचण्ड लगायतका सुझावलाई अक्षरशः कार्यान्वयन गरेको भन्दै सरकार प्रमुखको हैसियतमा पीडितहरुको सरोकार सुन्नका लागि राष्ट्रव्यापी छलफल र परामर्शको व्यवस्था गरेको दावी पनि गरेका छन् । ओलीले यस्तो संवेदनशील विषयमा सत्तापक्ष र विपक्षलाई एकै थलोमा उभ्याएर हरेक विषय सहमतिका आधारमा अगाडि बढाउने काम गरेको दावी गर्दै यससँग सम्बन्धित संशोधन विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएका छन् ।

‘मैले अन्तर्राष्ट्रिय मञ्चहरुमा यसको समाधान नेपाल स्वयंले गर्ने र यसो गर्ने सामथ्र्य नेपालसँग रहेकोले यसलाई अनावश्यक रुपमा विवादित विषय नबनाउन आह्वान गरेको छु । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने बारेमा हाम्रा पाँचवटा नीतिगत आधारका बारेमा स्पष्ट पारेको छु । बेलाबेलामा यस विषयलाई लिएर हुने अनुचित वाह्य टिप्पणीको विधिवत प्रतिवाद गरेको छु’, ओलीले आफ्नो जवाफी प्रतिवेदनमा भनेका छन् ।

ओलीले शान्ति प्रक्रियाको विषय ज्यादै संवेदनशील विषय भन्दै नेपालको प्रतिवद्धता र विश्वसनीयता जोडिएको तथा पीडितहरुको संवेदना जोडिएको र विश्व समुदायको पनि चासो र सरोकार रहेको उल्लेख गर्दै घुमाउरो भाषामा निहुँ खोजे आफु चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई ओलीको जवाफ : तपाईको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं

ओलीको प्रचण्डलाई प्रश्न : म दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु, तपाईं तयार हो ?

प्रचण्डलाई ओलीको प्रश्न – यो स्वस्थ नीतिगत बहस हो कि वार कि पारको लडाइँ ?

तीन दशकसम्म नेतृत्व सम्हाल्नेले पदका लागि झगडा गर्नु उपयुक्त हुदैन : प्रधानमन्त्री ओली

प्रचण्डको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीको ५३ बुँदे जवाफी प्रतिवेदन (पूर्णपाठ)

नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न : यस्तो भयो निर्णय

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !