
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज अपरान्ह पोखराबाट काठमाडौँ आइपुगेका छन् । लगभग एक महिना पोखरा बसेर पूर्वराजा शाह समिट एयरको चार्टर जहाजमार्फत आज काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन विमानस्थल बाहिर उनका समर्थकहरुले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन् । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।
पूर्वराजा शाह काठमाडौं ओर्लिनासाथ शक्ति प्रदर्शन गरेर विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्याउने तयारी राजावादी समूहले गरेका छन् ।
राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गरेका हुन् । संवैधानिक राजतन्त्र स्थापनाका लागि आफूहरुले आन्दोलन गरेको राजावादीको दावी छ ।