
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राजावादीहरुको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री भाजपा नेता योगी आदित्यनाथको तस्वीर देखिएको छ ।
लगभग एक महिना पोखरा बसेर राजधानी काठमाडौँ फर्केका पूर्वराजा शाहको स्वागतमा गएका राजावादीहरुले त्रिभुवन विमानस्थल गेटमा अनौठो दृश्यको रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर देखिएपछि नेपाली राजनीति तरंगित भएको छ ।
र्यालीमा एकातिर आदित्यनाथ र अर्कोतिर पूर्वराजा शाहको तस्बिर प्रयोग भएको देखिएको हो । योगी आदित्यनाथसहितको ब्यानरमा ‘राजसंस्था पुनर्स्थापना गरौँ’ नारा प्रयोग गरिएको थियो ।
नेपालमा राजा फर्काउने नामको अभियानको ब्यानरमा भारतीय भाजपा नेता आदित्यनाथको तस्वीर प्रयोगप्रति सामाजिक संजालमा टिक्काटिप्पणी पनि हुन थालेको छ । त्यो ब्यानरमा राजावादी प्रदीपविक्रम राणाको नाम लेखिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले केही समयअघि भारतमा आदित्यनाथलाई भेटेका थिए । उनी भारतबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध कटाक्षसहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत अब चुप लागेर नबस्ने बताएका थिए ।