१४ बैशाख २०८१, शुक्रबार

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?


नेकपा सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायत सचिवालय सदस्य सहभागी भएका छन् । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज शनिबार जारी सचिवालय बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोपको सवाल जवाफ दिन पेश गर्ने प्रस्ताव तयार परेका छन् । गत मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई १० दिन चाहिने बताएका थिए ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रधानमन्त्री पक्षधर नेताहरूले यसलाई आरोप-पत्र भनेका छन् । प्रचण्डले राजनीतिक रूपमा लगाएको आरोपको जवाफ दिने र फौजदारी आरोप प्रमाणित गर्न चुनौती दिने तयारी प्रधानमन्त्रीको रहेको उनी निकट स्रोतले बताएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले प्रतिवेदनमा भ्रष्टाचार प्रमाणित गरे आफू जेल बस्न तयार रहेको समेत चेतावनी दिएका छन् । त्यस्तै समाजवाद भनेको परिवार पोस्ने नरहेको भनेर पनि प्रतिवेदनमा ओलीले उल्लेख गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीमाथि लगाइएका आरोपको तथ्यसहित जवाफ आउने बताएका छन् ।

कम्युनिष्ट आन्दोलनको आजको कार्यभार र भूमिका के हो, यो कसरी अघि बढ्नुपर्छ र जनमत जोगाएर एकताको औचित्य र भूमिका कसरी अघि बढ्छ भन्ने चासो प्रधानमन्त्रीलाई सधैं रहेको उनले बताएका छन् । ओलीले प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको स्रोतले बताएको छ ।

प्रचण्ड, नेपाल र खनाल समेत बिपक्षमा भएकोले ओलीले पार्टी नेतृत्व यूवामा हस्तान्तरण हुनुपर्ने प्रस्ताव तयार परेको हुनुपर्ने राजनीतिक विश्लेषकहरुको धारणा रहेको छ किनकि अव हुने महाधिवेशनमा ओली अध्यक्षमा नउठ्ने अघि नै घोषणा गरिसकेका छन् ।

उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलका अनुसार अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपपत्रको खण्डन गर्ने र सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषयहरु समेटिएर ओलीको प्रस्ताव आउने बताएका छन् ।

ओलीको प्रस्ताव सरकार र पार्टी सञ्चालन, पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुर्‍याउने र एकतालाई अक्षुण्ण राख्ने साथै पहिला नै तोकेअनुसार महाधिवेशनको टुंगो लगाउने जस्ता विषयमा केन्द्रित छ ।

आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त, पार्टीले सरकारका काममा सहयोग गर्न नसकेका विषयदेखि समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै अबको महाधिवेशनसम्म जाने विधि र बाटोका विषय पनि आउने बालुवाटार स्रोतले बताएको छ।

प्रधानमन्त्रीले महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विषयलाई पनि आफ्नो प्रस्तावमा महत्व दिएर उठाउन लागेका छन्। ओलीले आफ्नो प्रस्ताव उपप्रधानमन्त्री पोखरेल, संसदीय दलका नेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायतसँग छलफल र परामर्शका आधारमा तयार पारेका हुन् ।

दाहालले यसअघि ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसपछि ३ मंसिरमा बसेको बैठकमा ओलीले झुटा लाञ्छना नसहने स्पष्ट पार्दै जवाफ दिने बताएका थिए । दाहालले बैठकमा राखेको प्रस्ताव ‘प्रस्ताव’ नै नभएको ओलीको तर्क थियो ।

उनले दाहालले ल्याएको प्रस्तावमा उल्लिखित सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबैलाई खारेज गर्ने बताएका थिए। आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई पूर्ण रूपमा अस्वीकार गर्ने भन्दै उनले यथोचित जवाफ लिखित रूपमै दिने बताएका थिए । प्रचण्ड-नेपाल पक्षीय केन्द्रिय नेताहरू पनि प्रधानमन्त्री ओलीको प्रस्ताव हेरेपछि नै पार्टीको आगामी यात्राबारे थप विश्लेषण गर्न सकिने बताउँछन् ।

यो पनि पढ्नुहोस्

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

सचिवालय बैठकमा महासचिव पौडेल भए आक्रोशित ल्याए आश्चर्यजनक प्रस्ताव

नेकपामा ओलीको प्रतीक्षा, आफूमाथि लगाइएको आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष पद छोड्नुपर्ने ओलीको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !