आज साउने संक्रान्ति, एन्टीबायोटिक पर्व लुतो फाल्ने दिन Nepalpatra आज साउने संक्रान्ति, एन्टीबायोटिक पर्व लुतो फाल्ने दिन
९ श्रावण २०७८, शनिबार

आज साउने संक्रान्ति, एन्टीबायोटिक पर्व लुतो फाल्ने दिन


आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

ज्योतिषशास्त्रको निरयणपद्धति अनुसार साउने संक्रान्तिदेखि सूर्यको दक्षिणायनगति प्रारम्भ हुन्छ । सूर्यको दक्षिणायनगति प्रारम्भ भएपछि पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको किरण तेर्सो पर्दछ । सूर्यको किरण तेर्सो परे पछि पृथ्वीको उत्तरी गोलार्द्धमा दिन छोटो हुँदै जान्छ । भूमिको उष्णता पनि घट्दै जान्छ ।

सूर्यको उत्तरायणगति उर्धगति हो । सूर्यको दक्षिणायणगति अधोगति हो । अत: सूर्यको अधोगतिको अशुभ फलको परिहारको लागि लुतो फाल्ने गरिएको हो । वास्तवमा लुतो फाल्ने भनेको आफ्नै परम्परामा आफ्नै विधिले रोगको भाइरस, फंगस, एलर्जी आदि ब्याक्टेरिया सफा गर्ने एउटा एन्टीबायोटिक पर्व हो ।

यो थिति गाउँले परिवेशको चलन हो । असार महिना भरि हिलोमा चोबलियर, पानीले रुझेर धानको रोपाईँ गर्ने, थारो र कटेरोमा सुत्ने, खानपिनको पनि राम्रो व्यवस्था नहुने,प्युसा र भुसुनाले टोक्ने, मन माने पनि नमाने पनि करैले पनि काम गर्न पर्ने, यी शारीरिक एवं मानसिक शान्तिको लागि लुतो फाल्ने गरिएको हो ।

आ-आफ्नो गाउं ठाउँ र जात विशेष अनुसार लुतो फाल्ने चलन आफ्नै आफ्नै खालको हुन्छ । साउने संक्रान्तिको चमेरे साँझमा लुतो फालिन्छ । लुतो फाल्दा आगनको डिलको बान्ना माथीको ढुङ्गाको ठूलो छप्पनिलाई गाई वा गोरुको गोबरले पोतेर त्यस माथी गाई वा गोरुको गोबरको दुईटा डल्लो राखिन्छ ।गोबरको त्यस डल्लोलाई काँक्राको फूल लगाइदिन्छ । कर्कलाको पातमा हरियो मकैँ, हरियो खुर्सानी ,साउने आरु र खनिया आदि राखिन्छ ।

त्यसपछि निगाला व बाँसको सिन्काको दुइटा मुठोमा आगो बालेर घरभित्र अगेनाबाट राँकोलाई घर बाहिर निकालिन्छ । त्यस राँकोलाई गोबरको डल्लो र कर्कलाको पातको दायाँ-बायाँ राखिन्छ र त्यस राँकोमा नौनी घिउ मलेको तितेपातीको धूप हालिन्छ । त्यसपछि घरभित्र अगेनाबाट चारवटा भर्भराउँदो अगुल्टो निकालेर लुतो लैजा, लुतो लैजा भनेर चारै दिशातिर अगुल्टो फालिन्छ।अगुल्टो फाल्दा बन्दुक पड्काएर बढाइँ पनि गरिन्छ ।

लुतो फाले पछि घरको मूल ढोका माथी लुत्ते झार, कुकुर डाइने, पैयुँ पाटे सिउँडी आदिलाई चोयाले बाँधेर राखिन्छ।यी वनस्पतिहरु सबै एन्टीबायोटिक हुन् ।यसरी लुतो फाल्ने चलन खस परम्परा हो किनभने जहाँसम्म उल्का क्षेपन गरिन्छ अथवा अगुल्टो हानेर लुतो फालिन्छ, त्यहाँसम्म सिजापतिको मुलुक हो भन्ने मान्यता छ ।

हाम्रा संस्कृति परम्परा र अनुकूलन गरी दुई प्रकारका छन् । आफ्नो जात वंशमा अघि सनातनदेखि चली आएको थिति परम्परा हो । देश, काल, वातावरण र परिस्थिति अनुसार कालान्तरमा अङ्गीकार गरिएको चलन अनुकूलन हो ।

अत: कुनै समुदायको परम्पराले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई हित गर्छ भने त्यस्ता हितकारी चलनहरु अँगाल्दा कल्याण नै हुन्छ । त्यसकारण आदिम परिस्थितिमा लुतो फाल्ने चलन खस परम्परा अनुसारको भएतापनि यस परम्पराले नेपाली समाजमा एकता कायम गराएको छ र लुतो फाल्ने प्रचलनले केवल नेपालीलाई मात्रै नभएर सबै मानव समुदायलाई नै कल्याण गर्दछ।

गुरुङहरु साउने संक्रान्तिका दिन स्येउथेब- आफ्ना दिवङ्गत पितृहरुलाई मान भाउ दिएर पुकारा गर्दछन् । गुरुङहरुको डाँफेचरन र माछा चरन हुने भएकाले डाँफेको मासु, असला माछा, झिनुवा चामलको भातिको जाँड चढाएर पितृपूजा गर्दछन् । अचेल डाँफेको मासुको सट्टा कुखुराको मासु चढाउँछन् । घले र घ्याबृँले कुखुराको मासु नखाने हुँदा असला माछाले पितृपूजा गर्दछ्न् । यति पदार्थ अनिवार्य छ।अरु खाद्य पदार्थ जति सक्यो, त्यति फर्माएर राख्ने हो ।

गुरुङहरु साउने संक्रान्तिको भोलिपल्ट अगुल्टो बार्दछन् र खेत बारिमा काम गर्दैनन् । त्यसदिन बाबू माइतिले छोरीचेलीलाई बोलाएर भात खान दिन्छ्न् । छोरीचेलीहरु माइतमा भात खान जाँदा खालि हात जाँदैनन् । एक एक बोतल रक्सि लिएर जान्छन् । यो एक छाक भात र एक बोतल रक्सि केही पनि होइन तर त्यसको ठूलो मूल्य छ । मध्य वर्खामा शरीर थाकेको र मन विरानो भएको बेला बाबू माइतिकहाँ गएर भलाकुशारी गरेर भात खाँदा मन हलुका हुन्छ ।त्यसकारण यो थिति एउटा अप्रत्यक्ष मानसिक उपचार हो ।

जे होस् , साउने संक्रान्तिमा लुतो फालेर सबैलाई आनन्द होस्, सबैलाई पारीवारिक सुख सन्तोष होस्, चेली-माइति , मामाली – ससुराली, ज्वाइँ, भाञ्जा- भाञ्जी, सबै डोरो बाटो, नाता कुटुम्बमा सद्भाव बढोस्। सबैको जय कल्याण होस् । पितृहरु तृप्त हुन् र शुभ आशीर्वाद दिउन् ।
।। शुभम् ।।

*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

बेला बखतका कुरा : डा. जगमान गुरुङ

गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व

नेपालको गौरव र नेपालीको स्वाभिमान : नेपालको राष्ट्रिय झण्डा

नेपाल राष्ट्रका लागि जागौँ 

वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका

वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती

वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी

वैशाख शुक्ल पूर्णिमा – कूर्म जयन्ती

वैशाख शुक्ल पूर्णिमा र यसको महत्त्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !