पाशुपत दर्शन अनुसार सबै जीव पशु हुन् । पति ईश्वर हुन् । जीव परतन्त्र छ र ईश्वर स्वतन्त्र छ । पतिका अधिनमा पशु अथवा जीव हुन्छन् । अतः भगवान् श्रीपशुपतिनाथ समस्त जीवका पति हुनुहुन्छ । भगवान् श्रीपशुपतिनाथ लिङ्ग रूपमा विराजित हुनुहुन्छ । प्रकृति पुरुषात्मकं जगत यस सिद्धान्त अनुसार यो जगत् प्रकृति र पुरुषको संयोगबाट बनेको छ । प्रकृति स्त्रीतत्वर पुरुष चाहिँ पुरुषतत्व हो । प्रकृति जड र पुरुष चेतन हो ।
पाशुपत दर्शन अनुसार सबै जीव पशु हुन् । पति ईश्वर हुन् । जीव परतन्त्र छ र ईश्वर स्वतन्त्र छ । पतिका अधिनमा पशु अथवा जीव हुन्छन् ।
प्रकृति पुरुषात्मकं जगत् यस दार्शनिक सिद्धान्तलाई शिवलिङ्गमा मूर्तरूपमा प्रस्तुत गरिएको छ । शिवलिङ्गको जलहरि भाग प्रकृति अथवा स्त्रीतत्त्वको प्रतीक हो । अतः शिवलिङ्गको जलहरि योनिको आकारमा निर्माण गरिएको हुन्छ । योनि प्रजनन र उर्बरको प्रतीक हो । जलहरिको जल निकाशको मार्गलाई शास्त्रीय भाषामा योनिमार्ग भनिन्छ । योनिमार्गलाई उत्तरबाहिनीको रूपमा उत्तरतिर फर्काउने विधान छ ।
शिवलिङ्गको जलहरि नागर, द्रविड र वेसर गरी तीन प्रकार हुन्छन् । द्रविडशैलीको जलहरि अष्टकोणाकारको हुन्छ र दखिन भारतमा द्रविडशैलीको जलहरिको प्रचलन रहेको छ । नागरशैलीको जलहरि चतुष्कोणाकारको हुन्छ र उत्तर भारतमा नागरशैलीको जलहरिको प्रचलन रहेको छ । द्रविडशैली र नागरशैलीको मिश्रण वेसरशैली हो । वेसरशैलीको जलहरि गोलाकारको हुन्छ । यथार्थमा वेसरशैलीको गोलाकार जलहरिले योनिको प्रतिकृति प्रस्तुत गर्दछ ।
नेपालमा नागरशैली र वेसरशैलीका जलहरिहरु पाइएका छन् । अहिलेसम्म प्राप्त अभिलेखयुक्त शिवलिङ्गहरुमा मानदेवका रानी क्षेमसुन्दरीको काठमाण्डौ, लाजिम्पाटको शक संवत् ३९० (वि.सं. ५२५) को शिवलिङ्ग, स्वयं मानदेवकै काठमाण्डौ, विष्णुपादुकाको फेदीको शक संवत् ३९६ (वि.सं. ५३१) को शिवलिङ्ग, सार्थवाह विमलसङ्घको काठमाण्डौं, देउपाटनको शक संवत् ४०७ (वि.सं. ५४२) को शिवलिङ्ग र आभिरी गोमिनीको पशुपतिको शक संवत् ४६२ (वि.सं. ५९७) को शिवलिङ्गका जलहरिहरु नागरशैलीका चतुष्कोणाकारका छन् ।
यसैगरी सार्थवाह रत्नसङ्घको काठमाण्डौ, देउपाटनको शक संवत् ४०२ (वि.संं. ५३७) को शिवलिङ्ग, मानदेवका अर्का रानी गुणावतीको काठमाण्ठौ, लाजिम्पाटको शक संवत् ४१९ (वि.सं. ५५४) को शिवलिङ्ग, मानदेवका छोरुी विजयवतीको पशुपति, सूर्यघाटको शक संवत् ४२७ (वि.संं. ५६२) को शिवलिङ्ग र पशुपति पारि मृगस्थलीस्थित एकमुखे शिवलिङ्गका जलहरिहरु वेसरशैलीका गोलाकारका छन् । यी जलहरिहरु मध्ये गुणवतीको काठमाण्डौ, लाजिम्पाटको शिवलिङ्गको जलहरि र पशुपतिमा दक्षिणामूर्तिको मन्दिरको प्राङ्गणमा अवस्थित शिवलिङ्गको वेसरशैलीका जलहरिले ठीक योनिको प्रतिकृति प्रस्तुत गर्दछ ।
भगवान् श्रीपशुपतिनाथको प्राचीन शिवलिङ्गको जलहरि कुन शैलीको थियो, त्यसबारे थाह पाउन सकिएको छैन । पशुपति, देउपाटनमा बाबु पशुपति र दाज्यू पशुपति नामका दुइटा शिवलिङ्गहरु छन् । यसमध्ये एउटा मुखलिङ्ग पूर्व मध्यकाल ताकाको देखिन्छ । यस शिवलिङ्गलाई शमसुद्दिनको आक्रमणभन्दा अघिको शिवलिङ्ग मानिएको छ र उक्त शिवलिङ्गको जलहरि वेसरशैलीको छ । भगवान् श्रीपशुपतिनाथको वर्तमान शिवलिङ्गको जलहरि वेसरशैलीको छ । यस आधारमा भगवान् श्रीपशुपतिनाथको शिवलिङ्गको जलहरि प्राचीन कालदेखि नै वेसरशैलीको गोलाकारको रहेको बुझिन्छ ।
शिवलिङ्गका तीनवटा खण्ड हुन्छन् । शिवलिङ्गको तल्लो खण्ड ब्रह्मभाग हो । शिवलिङ्गको ब्रह्मभाग चतुष्कोणाकारको हुन्छ । शिवलिङ्गको मध्यखण्ड विष्णुभाग हो । शिवलिङ्गको विष्णुभाग अष्टकोणाकारको हुन्छ । शिवलिङ्गको माथिल्लो खण्ड रुद्रभाग हो । शिवलिङ्गको रुद्रभाग गोलाकारको हुन्छ । शिवलिङ्गको यही रुद्रभागमा शिवको पूजा गरिन्छ ।
अतः शिवलिङ्गको रुद्रभागलाई पूजाभाग भनिन्छ । शिवलिङ्गको ब्रह्मभाग र विष्णुभाग जालहरिभित्र दबिएर रहेको हुन्छ । रुद्रभाग चाहिँ जलहरिमाथि ठड्याएर राखिएको हुन्छ । शिवलिङ्गको यही रुद्रभागमा भगवान् शिवको पूजा गरिन्छ । अतः शिवलिङ्गको रुद्रभागलाई पूजाभाग पनि भनिन्छ । यही रुद्रभाग अथवा पूजाभागमा मुखाकृति अङ्कित गरिएको हुन्छ । मुखाकृति अङ्कित गरिएको शिवलिङ्गलाई मुखलिङ्ग भनिन्छ ।
शिवलिङ्गका पाँच मुखमध्ये पूर्व मुख तत्पुरुष ब्रह्मा हुन् । ब्रह्मा ठोस पदार्थ पृथ्वीतत्व हो । पश्चिम मुख सद्योजात अथवा सद्य-भर्खरै जात-जन्मेका बालकको जस्तो कलकलाउँदो मुख भएका विष्णु हुन् । विष्णु तरल पदार्थ जततत्व हो । उत्तर मुख वामदेव अथवा वायाँ भागमा शक्ति धारण गरेका अद्र्धनारीश्वर हुन् । वामदेव गतिशिल वायुतत्वहुन् । दखिन मुख अघोर अथवा डर लाग्दो भएर पनि शान्त स्वरूपका भैरव हुन् । भैरव तेज अथवा अग्नितत्वहो । शिवलिङ्गको उध्र्वमुखमा कुनै आकृति अङ्कित गरिएको हुँदैन । अतः शिवलिङ्गको उध्र्वभाग निराकारको हुन्छ । शिवलिङ्गको उध्र्वमुख ईशान हुन् । यस सन्दर्भमा ईशान भन्नाले आकाशतत्वबुझनुपर्दछ । सर्वव्यापक तर अव्यक्ततत्वनै आकाशतत्वहो ।
तन्त्रशास्त्रको चरम विकास भएपछि शिवलिङ्गको अधरभागमा पनि भगवान् शिवको मुखको ध्यान गरियो । भगवान् शिवको उक्त मुख कालाग्नि रुद्र कहलाउँदछ । भगवान् शिवका उक्त षट्वक्त्रबाट तन्त्रशास्त्रका षट्अम्नायको विकाश भयो ।
भगवान् श्रीपशुपतिनाथको लिङ्गमूर्तिको उध्र्वभागमा श्रीखण्डचन्दन र रक्तचन्दनको लोपद्वारा श्रीयन्त्र लेखेर श्रीयन्त्रको वैन्धवचक्रमा राजराजेश्वरी परम महारिका श्रीत्रिपुरसुन्दरीको पूजा गर्ने विधान छ । कौलाचार र समयाचार गरी दुई प्रकारका श्रीयन्त्र हुन्छन् । कौलाचार पद्धति अनुसारको श्रीयन्त्रमा शक्तितत्वप्रधान हुन्छ । समयाचार पद्धति अनुसारको श्रीयन्त्रमा शिवतत्वप्रधान हुन्छ ।
श्रीयन्त्रमा नौवटा त्रिकोणको संयोजन गरिएको हुन्छ । यी नौवटा त्रिकोण मध्ये चारवटा त्रिकोण तलबाट माथितिर फर्किएका हुन्छन् र चारवटा त्रिकोण माथिबाट तलतिर फर्किएका हुन्छन् । तलबाट माथितिर फर्किएका उध्र्व त्रिकोणहरु लिङ्गका प्रतीक हुन् ।
लिङ्ग पुरुषको चिह्न हो र लिङ्ग चेतनको प्रतीक हो । अतः श्रीयन्त्रका ती उध्र्व त्रिकोणहरु श्रीखण्डचन्दनको लोपद्वारा लेखिन्छ किनभने शिव अर्थात् पुरुषको वीर्य सेतो वर्णको हुन्छ । यसैगरी माथिबाट तलतिर फर्किएका अधो त्रिकोणहरु योनिका प्रतीक हुन् । योनि स्त्रीको चिह्न हो र योनि प्रजनन एवं उर्बरको प्रतीक हो । त्यसकारण श्रीयन्त्रका ती अधोत्रिकोणहरु रक्तचन्दनको लेपद्वारा लेखिन्छ किनभने शक्ति अर्थात् स्त्रीको रज रातो वर्णको हुन्छ ।
श्रीयन्त्रका नौवटा त्रिकोणमा केन्द्रवर्ति त्रिकोणको महत्ववपूर्ण स्थान रहेको हुन्छ । समयाचार पद्धति अनुसारको श्रीयन्त्रमा उक्त केन्द्रवर्ति त्रिकोण तलबाट माथितिर फकिएको हुन्छ र कौलाचार पद्धति अनुसारको श्रीयन्त्रमा उक्त केन्द्रवर्ति त्रिकोण माथिबाट तलतिर फर्किएको हुन्छ । उक्त केन्द्रवर्ति त्रिकोणको मध्यभागमा रक्तचन्दन र श्रीखण्डचन्दनको लेपद्वारा बिन्दु अङ्कित गरिएको हुन्छ । जसरी पुरुषको वीर्य र स्त्रीको रजबाट जातकको जन्म हुन्छ, यसैगरी बिन्दु–बिन्दु महाबिन्दु अथवा शिवतत्व स्वरूप शुक्लबिन्दु र शक्तितत्व स्वरूप रक्तबिन्दुको संयोजनबाट यस चराचर जगतको सृष्टि हुन्छ ।
आधुनिक विज्ञानले यस महाबिन्दुलाई डट् (.) भनेको छ र अहिले त्यही डट् (.) कमबाट यो संसार परिचालित छ । यथार्थमा श्रीयन्त्रको त्यस केन्द्रवर्ति महाबिन्दुबाट नै आधुनिक विज्ञानले डट् (.) कमको आविष्कार गरेका हुन् । अतः सारा जगत्लाई परिचालन गर्ने आधुनिक डट् (.) कमको आविष्कार समस्त चराचर जगत्का स्वामी भगवान् श्रीपशुपतिनाथको लिङ्गस्वरूप श्रीविग्रहको उध्र्वभागमा अवस्थित श्रीयन्त्रको वैन्धवचक्रमा अङ्कित महाबिन्दुबाट भएको हो । त्यसकारण आज हामीले भगवान् श्रीपशुपतिनाथको श्रीविग्रहको ज्ञान-विज्ञानको तत्व बुझ्न र बुझाउन नितान्त आवश्यक छ ।
गोपाल वंशावलीमा बंगालका सुल्तान शमसुद्धिनले आक्रमण गरेर भगवान् श्रीपशुपतिनाथको लिङ्गलाई तीन टुक्रा बनाइदिएको उल्लेख छ । त्यसपछि पूर्वमध्यकालको अन्तताका जयसिंहरामवद्र्धनले भगवान् श्रीपशुपतिनाथको शिवलिङ्ग स्थापना गरे ।
भगवान् श्रीपशुपतिनाथको श्रीविग्रहमा सुनको धारापात्रबाट जल र दूधको धारा चढाइन्छ । यसैगरी सुनको शंखबाट भगवान् श्रीपशुपतिनाथलाई जल अर्पण गरेर भगवान्का भक्तहरुलाई सुनको शंखबाट शंख जलको अभिषेक दिइन्छ । भगवान् श्रीपशुपतिनाथका पूजाका भाँडाहरु सबै सुन र चाँदीका छन् ।
भगवान् श्रीपशुपतिनाथको लिङ्गविग्रहको जलहरिलाई भगवानका भक्तहरुले विभिन्न समयमा तामा र चाँदीको पाताबाट मोडेका थिए । यस क्रममा श्री ५ रणबहादुर शाहले भगवान् श्रीपशुपतिनाथको जलहरिलाई चाँदीको पाताले मोडेको र उक्त चाँदीको पाता जीर्ण भई वि.सं. २०२४ मा श्री ५ महेन्द्र वीर विक्रम शाह देवबाट उक्त चाँदीको जलहरिको जीर्णोद्वार भएको व्यहोरा थाह पाइएको छ ।
वर्तमानमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको अग्रसरता, पशुपति विकाश कोषको सकृयता र भक्तजनहरुको सहभागिताबाट भगवान् श्रीपशुपतिनाथको जलहरिलाई सुनको पाताले मोडेर अत्यन्तै शोभनीय एवं प्रशंसनीय कार्य सुसम्पन्न भएको छ । अझै भगवान् श्रीपशुपतिनाथको श्रीविग्रहलाई सुवर्णकोषद्वारा अलङ्कृत गर्न सके भगवान् श्रीपशुपतिनाथको स्वर्णमय श्रीविग्रह अत्यन्तै शोभयमान हुने थियो ।
।। तन्मे मन : शिव संकल्पमस्तु ।।
*डा. जगमान गुरूङ नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा उपकुलपति हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व
नेपालको गौरव र नेपालीको स्वाभिमान : नेपालको राष्ट्रिय झण्डा
वैशाख शुक्ल पूर्णिमा र घाटु नृत्य नाटिका
वैशाख शुक्ल पूर्णिमा – सिद्ध गोरखनाथ जयन्ती
वैशाख शुक्ल पूर्णिमा – लुम्बिनी