२५ बैशाख २०८१, मंगलबार

संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने


बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन प्रमुख तीन त्राजनीतिक दलबीच सहमति भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गर्ने सहमति गरेको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।

आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । बैठकपछि नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानन्यायाधीश नियुक्तिका लागि एमालेको तर्फबाट सहयोग रहने बताए ।

प्रधानमन्त्री प्रचण्डले लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको उक्त प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा बैठक बोलाउने छन् । बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि अघि बढाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओली, सभामुख घिमिरे र तीन राजनीतिक दलका सचेतकहरु पनि सहभागी थिए ।

यो पनि पढ्नुहोस्

एउटै गाडी चढेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड र देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !