१८ पुस २०८१, बिहीबार

नेकपा विभाजनबारे चीनको गम्भीर चासो : के जोगाउला त विभाजन ?


नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीवीच कार्यशाला

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजन भइसकेको छ । नेकपा विभाजित भएसँगै उत्तरी छिमेकी चीनको चीनको गम्भीर चासोका साथ सक्रियता बढेको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढिरहेको बेला बेइजिङबाट अर्को उच्चस्तरीय टोली आएको स्रोतले बताएको छ ।

गोप्य स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गो इजोउ नेतृत्वको एक टोली नेपाल *आउन लागेको बुझिएको छ । सो टोली नेपालमा विकसित कम्युनिष्ट पार्टीभित्रको अवस्थाबारे बुझ्नैको लागि नेपाल *आउन लागेको  स्रोतको दावी छ । नेपाल *आउन लागेको  सो टोलीले नेकपाका नेताहरुलाई भेट्ने बताइएपनि क-कसलाई भेट्नेछ भन्ने कुरा खुल्न बाँकी नै छ ।

तत्कालिन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापना हुनुका साथै समय-समयमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच प्रशिक्षण कार्यक्रमहरु पनि हुने गर्थे । नेपालको सत्तारुढ दल नेकपामा विभाजन आएपछि चीन झन् सक्रिय भएको हो ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेकपा विभाजन भइसकेपछि मंगलबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् । उनी र राष्ट्रपतिबीच भएको कुराकानीबारे दुवै पक्षले केही नखुलाएपनि राष्ट्रपतिसँग उनको भेटको सन्दर्भ भने संसद विघटनपछिको अवस्था र नेकपामा देखिएको संकट नै रहेको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

साथै नेकपाको प्रचण्ड-नेपाल समूहका दुबै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई भेटेकी छन् । गत मंगलबार राष्ट्रपति भण्डारीसँग शीतल निवासमा गएर पार्टी विभाजनबारे चासो राखेकी यान्छीले बिहीबार खुमलटार पुगेर प्रचण्डसँग भेटेकी थिइन् भने हिजो शुक्रबार अध्यक्ष नेपालसँग कोटेश्वर पुगेर भेटेकी हुन् ।

नेकपामा विवाद शुरु भएपछि राजदूत यान्छीको सक्रियता बढाएर यसअघि गत वैशाखमा नेकपामा आन्तरिक विवाद चुलिएपछि यान्छीको सक्रियतामा नेकपाको विवाद मत्थर पारेपछि गत असारदेखि भदौसम्म चर्केको विवादमा पनि यान्छी सक्रिय भएकी थिइन् ।

राजदूत यान्छीले यसअघि गत भदौमा नेकपामा गम्भीर विवाद देखिएपछि सक्रियता बढाएकी थिइन् । त्यसबेला उनले ओली, प्रचण्ड र नेपाललाई समेत भेटेर मिलेर जान सुझाएका थिइन् । उनले विभाजन रोक्न दबाब दिइसकेपछि त्यसबेला पार्टी फुटबाट जोगिएको थियो । यान्छीको सक्रियता र नेकपा उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावले त्यसबेला नेकपा फुट्नबाट जोगिएको थियो ।

तर, यो पटक भने उनी नेकपाको विभाजन रोक्न असफल किन भइन् भन्ने पनि राजनीतिक वृत्तमा एकदम चासोका साथ विश्लेषण गरिएको थियो । नेकपामा यसअघि विवाद बढेर गम्भीर संकट देखिँदा सक्रिय हुने चिनियाँ राजदूत यान्छी यो पटक पार्टी विभाजन भइसकेपछि मात्रै सक्रिय भइन् ।

राजदूत यान्छीको सक्रियता मिल्नका लागि दवाव दिन हो या अन्य कारण छ त्यसबारे नेताहरुले बोल्न मानेका छैनन् । यद्यपि केही दिनभित्रै चिनियाँ राजदूतले राष्ट्रपति, पूर्वसभामुख कृष्ण बहादुर महरा, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल लगायतसँग भेटिसकेकी छिन् ।

राजनीतिक वृत्तमा चीनको सक्रियतालाई शंकाको दृष्टिले हेरिँदै आएकोमा यो पटक फेरि बेइजिङबाटै उच्च अधिकारीहरु आउनुलाई विशेष चासोका साथ हेरिएको छ । पछिल्लो समय नेपाललाई प्राथमिकतामा राखेर चासो दिइरहेको चीन दुवैलाई नेकपा विभाजन एउटा अप्रत्याशित घटना भएकोमा चीनले नेपालको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको प्रष्ट देखिन्छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालको व्यक्तिगत स्वार्थ र सत्ता संघर्षका कारण एकीकरण नटुंगिदै नेकपा विभाजन भएको हो । ओलीलाई कुनै हालतमा सत्ताबाट हटाइ छाड्ने प्रचण्ड-नेपालको योजना संसद सचिवालयमा अविश्वासको प्रस्तावसम्म पुगेतापनि उक्त प्रस्तावलाई सभामुख अग्नि सापकोटाले प्रक्रियामा लान नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यही आइतवार संसद विघटन सिफारिस गरेर केही घण्टा ‘होल्ड’ राखेर राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यान्वयन गरिदिएकी थिइन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश हुँदै संसद् विघटनसम्मका कदम चालेपछि सत्तारुढ दल नेकपा औपचारिक रुपमा विभाजित भएको छ । तथापि यसको वैद्यतालाई लिएर कानुनी लडाईं सुरु भएको छ । ओली र प्रचण्ड-नेपाल समूह दुवै आफूलाई नै आधिकारिक नेकपा दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् ।

छिमेकी देश चीनले भने फुट आएका यी दुई समूहबीच पुनः एकताको सम्भावना कति छ भन्ने बुझ्न थालेको छ । नेकपा विभाजन भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत यान्छी यिनै प्रश्न बोकेर नेताहरुसँगको भेटघाट बाक्लो पारेकी छिन् । नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न सक्रियता बढाएकी राजदूत यान्छीले नेताहरुसँगको भेटमा पुन: नेकपा एकताको सम्भावनाबारे चासो राखेको नेताहरुले बताएका छन् ।

नेपालका राजनीतिज्ञले देशको विकास र जनताको जीवन स्तरमा सुधार गर्ने भन्दा पनि आफ्नो स्वार्थ र आफ्ना नातेदारको लागि राजनीति गरेको छर्लंग देखिएको छ । देश र जनताको लागि राजनीति गरेको भए अलि नैतिकताको विषयले आफ्ना व्यक्तिगत स्वार्थलाई किनारा लगाएर पार्टी नै विभाजन हुने अवस्थामा पुग्ने थिएन ।

नेकपा विभाजनबारे चीनको गम्भीर चासो बढेर चिनियाँ राजदूत यान्छीको सक्रियता बढिरहेको बेला बेइजिङबाट अर्को उच्चस्तरीय टोली आउन लाग्नुले के नेकपा विभाजन जोगाउला त भन्ने चासो बढेको छ । राजनीतिक विश्लेषकका अनुसार विभाजन जोगाउने सम्भावना एकदम न्यून भएतापनि पूरै नसकिसकेको बताउछन् किनकी राजनीतिमा स्वार्थ मिल्यो भने कस्ता-कस्ता असम्भव कुरा पनि सम्भव नेपालमा हुने गरेका छन् ।

भनिन्छ, ‘राजनीतिमा स्थायी मित्र र स्थायी शत्रू कोही पनि हुदैन रे, असम्भव पनि केही हुदैन’ रे । राजनीतिलाई चाणक्यले त्यस्तो शास्त्र मानेका छन् कि यसको कुनै सिद्वान्त नै हुन्न र कुनै रुपरंग पनि हुन्न रे । यो भनाई फेरि अनौपचारिक रुपमा विभाजन भई सकेको नेकपालाई चीनको सक्रिय भूमिकाले चरितार्थ पार्न सक्ने हो की अनुमान गर्न त सकिन्छ ।

*सच्चाइएको


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु