३ जेष्ठ २०८२, शुक्रबार

पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन बन्देज छैन : अध्यक्ष प्रचण्ड


प्रचण्ड फाइल फोटो

मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन् ।

आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका हुन् ।

उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले पनि उनीहरूलाई राजनीतिमा आउन नरोक्ने जिकिर गरे ।

प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै जोगाएर गणतन्त्र नजोगिने जिकिर गरे । उनले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताए ।

उनले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !