२१ बैशाख २०८१, शुक्रबार

ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिने, के व्युतिन्छ त तत्कालिन नेकपा एमाले ?


केपी शर्मा ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने भएको छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई पार्टी अध्यक्ष र केन्द्रीय सदस्य समेत नहरने गरी कारवाही गर्ने निश्चित भएको बताएका हुन् ।

तर नेकपाको साधारण सदस्य नरहने गरी कारवाही गर्ने की नगर्ने भन्ने सन्दर्भमा भने केन्द्रीय समितिले निर्णय लिने खनालले बताएका छन् । नेता खनालले पुस ७ गते बोलाइएको केन्द्रीय समितिको बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सक्ने बताएका हुन् ।

प्रचण्ड-नेपाल पक्षीय नेकपा सचिवालयको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयले गणतन्त्रको चीरहरण गरेको निष्कर्ष निकालेको छ । त्यसलगत्तै बसेको स्थायी समितिको बैठकले ओलीले चालेको कदम असंवैधानिक र निरंकुश रहेको ठहरसहित भत्र्सना गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि बसेको स्थायी कमिटी बैठकले ओलीले दुई पार्टीको ऐतिहासिक एकता, पार्टीमाथि जनताले गरेको विश्वास र भरोसामाथि प्रहार गरी देश, पार्टी र जनताको भविष्यलाई अन्धकारतिर धकेलेको ठहर गर्दै अनुशासनको कारबाही गर्न आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।

२०७७ साल भाद्र ३ गते बुधबार निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता भएको आयोगले जनाएको थियो । दल दर्ताका सबै प्रक्रिया पूरा गरेकाले आयोगको बैठकले दर्ता गर्ने निर्णय गरेको थियो । एमाले दर्ता भएसँगै आयोगमा १३२ दल दर्ता भएका छन् ।

झापाकी सन्ध्या तिवारी अध्यक्ष, मनिषकुमार उपाध्याय रहेको र ‘उदाउँदो सूर्य’ चुनाव चिह्न रहेको नेकपा (एमाले) को पार्टी निर्वाचन आयोगमा दर्ता भई सकेको छ । नयाँ दर्ता भएको पार्टीको विधानमा पूरा नाम ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत- मार्क्सवादी, लेनिनवादी)’ रहेको र छोटकरीमा ‘नेकपा (एमाले)’ रहेको आयोगले जनाएको थियो ।

एमाले दर्ताको निवेदन आयोगमा परेसँगै सत्तारुढ नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि दल दर्ता गराउन लगाएको आरोप लागेको थियो । नवगठित नेकपा (एमाले) मा रहेका पदाधिकारी ओलीसँगै सांसद महेश बस्नेत निकट रहेको नेकपाका नेताहरूले बताउँदै आएका छन् ।

नयाँ नेकपा दर्ता भएपछि सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा समेत छलफल भएर यसको बारेमा प्रधानमन्त्री केपी ओलीसँग स्पष्टिकरण समेत सोधिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो ? भनि प्रश्न गरेका थिए ।

जवाफका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए । ‘गोपाल किराँतीका माओवादी केन्द्र दर्ता छ त । मैले त यो कसले किन दर्ता गर्‍यो भनेर तपाईंलाई सोधेको छैन भनेर प्रधानमन्त्री ओलीले प्रचण्डलाई जवाफ दिएका थिए ।

यसरी नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । सत्तारुढ नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै अगुवाइमा दल दर्ताको प्रयास भएको आरोप प्रचण्ड सहितका नेताहरुले लगाएका थिए ।

नेकपाको जिम्मेवारीमै नरहेका युवायुवतीलाई केन्द्रीय समितिमा राखेर मदन भण्डारीको जन्मजयन्तीकै दिनमा पार्टी दर्ताका लागि निवेदन दिइनुले भोलि नेकपामा विभाजन आइहाले पार्टीको डोमेन सुरक्षित गर्ने राजनीतिक ध्येय लुकेको हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरुको प्रारम्भिक विश्लेषण समेत रहेको थियो ।

यसरी प्रचण्ड-नेपाल समूहले पुस ७ गते बोलाइएको केन्द्रीय समितिको बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेपछि अव के गर्लान् प्रधानमन्त्री ओलीले, के व्युतिन्छ त तत्कालिन नेकपा एमाले भन्ने जस्ता चासो र जिज्ञाषा बढेर गएको छ ।

यो पनि पढ्नुहोस्

संसद विघटनको संयुक्त रुपमा सशक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय

लोकतन्त्र चाहनेले निर्वाचनको विरोध गर्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

संसद विघटन हुनुअघि नै आज बिहान दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन, नयाँ निर्वाचनको मिति घोषणा

अन्ततः निर्वाचन आयोगले दर्ता गर्‍यो नेकपा एमाले नाममा नयाँ पार्टी, को छन् त अध्यक्ष ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !