१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीको पक्षमा किन उभिए गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ?


राम बहादुर थापा र लेखराज भट्ट

काठमाडौं । तत्कालिन पूर्वमाओवादी तर्फबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको पक्षमा उभिएका छन् । ओलीको संसद विघटन गर्ने कदमप्रति प्रचण्ड-नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिँदा गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले आफ्नो कित्ता क्लियर गरेर प्रधानमन्त्री ओलीलाई साथ दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरेपछि आपत्ति जनाउँदै प्रचण्ड-नेपाल समूहका वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्तिबहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजीनामा दिएका हुन् ।

७ जना मन्त्रीले सिंहदरबारमा राजीनामाको घोषणा गर्दा बादल र भट्ट बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै थिए । हिजो शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थापाको मन्त्री क्वाटर पुल्चोक पुगेर थप सरसल्लाह गरेका थिए । थापा सरकारमा सामेल भएसँगै प्रधानमन्त्री ओली निकट बनेका थिए । तर अन्तिम समयमा पूर्व माओवादी एक ठाउँमा रहने पूर्व माओवादी कित्ताको अपेक्षा विपरित थापा र भट्ट सरकारमै बसेका हुन् ।

नेकपाको सचिवालय बैठकमा समेत थापाले प्रधानमन्त्री ओलीको पक्षमा धारणा राख्ने गरेका थिए । तर झम्सिखेलमा प्रधानमन्त्रीलाई हटाउन गरिएको भनिएको भेलामा सहभागी भएर उनले प्रचण्ड खेमामै रहेको जानकारी समेत दिएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थायी समिति बैठकमा पेश गरेको कागजमै थापा र भट्टलाई हटाउन प्रचण्डले आफूलाई भनेको उल्लेख गरेका थिए ।

नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापा प्रायः विवादका बेला उनको मौनताले प्रधानमन्त्रीलाई फाइदा पुगेको देखिएको थियो । सरकारको मन्त्री भएका कारण अहिले खुलेर ओलीविरुद्ध लाग्न नमिल्ने र आफ्नो अप्ठ्यारो बुझिदिन प्रचण्डलाई आग्रह समेत गरेका थिए ।

सुदुरपश्चिममा भीम रावलसँग प्रचण्ड नजिकिएपछि भट्ट ओली कित्तामा पुगेका थिए । नेकपाका अध्यक्ष प्रचण्डले थापा र भट्टलाई हटाउन प्रधानमन्त्री दवाव दिएपछि अन्तत: प्रचण्डसँग टाढिएका उनीहरु प्रधानमन्त्री ओलीको कित्तामा पुगेको स्पष्ट रुपमा देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल समूहका मन्त्रीले किन दिन लागे सामूहिक राजीनामा ?

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन, नयाँ निर्वाचनको मिति घोषणा

अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक गृहमन्त्री थापाले गरे बहिष्कार

किन खुलेर नबोली र कुनै समूहमा नलागी चुपचाप छन् गृहमन्त्री थापा ?

ओली–दाहाल बोलचाल बन्द, कुन पक्षमा गृहमन्त्री थापा ?

गौतमको ढुलमुले चरित्रले ओली र प्रचण्डको तानातानमा गृहमन्त्री थापा, थापाले प्रचण्डको साथ छोडेकै हुन् त ?

प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !