२२ बैशाख २०८१, शनिबार

ओलीले फेरि किन देखाए वामदेवलाई प्रधानमन्त्रीको ललिपप ?


केपी ओली र बामदेव गौतम

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई प्रधानमन्त्रीको ललिपप देखाएका छन् । हिजो बुधबार साँझ बालुवाटारमा बसेको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा ओलीले वामदेव गौतमको नामै लिएर बामदेवलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

ती सदस्यका अनुसार बैठकको अन्तिममा प्रधानमन्त्री ओलीले हामी ५ जनामध्ये बामदेवजी प्रधानमन्त्री नभएको उहाँलाई कतैबाट चुनाव लडाएर प्रधानमन्त्री बनाउन भनेर प्रस्ताव गरेका थिए । आफूले प्रधानमन्त्री छोड्न परे नयाँ पुस्तालाई मात्र हस्तान्तरण गर्ने उनको अडानका कारण ओलीले बामदेवलाई सत्ता सुम्पिने आफ्नो इच्छा अभिव्यक्त गरेको बुझ्न गार्हो छैन ।

यसअघि पनि ओलीले गौतमलाई पटक-पटक प्रधानमन्त्री बनाउने आश्वसन दिदै आएका थिए । कोरोना महामारीको वेला लकडाउनमा भएको बेला वैशाखमा पनि उनले गौतमलाई कोरोनाको महामारी सकिएपछि भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर ललिपप देखाएका थिए ।

प्रधानमन्त्री ओलीले आफूले यदि प्रधानमन्त्री पद छोड्नुपर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए । तर यसलाई दाहाल-नेपाल समूहले ओलीले अल्झाउन फालेको कार्डमा रुपमा लिने गरेका छन् । गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा कुनै कानुनी र व्यवहारिक आधार नदेखिएपनि उत्साहित भएका गौतमको सामाजिक संजालमा चर्को आलोचना भएको थियो ।

नेकपामा गौतमलाई अडान नभएको नेताको रुपमा हेरिन्छ । यसभन्दा अघि पनि गौतमले प्रतिनिधि सभामा जान अनेक जस्केला प्रयोग गर्न खोजेपनि जनताले गरेको चर्को आलोचनाले पछि हटेका थिए । नेकपामा विवाद चर्किदै गर्दा प्रधानमन्त्री ओलीले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताउँदै आएका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए ।

हिजोको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशनसम्म अध्यक्ष र अर्को चुनावसम्म प्रधानमन्त्री नछाड्ने समेत बताएका थिए । ओलीले आफू पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्को संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पनि पारेका थिए । तर कुनै कारण प्रधानमन्त्री पद छोड्नै पर्ने स्थिति आएमा उनले वामदेवलाई भावी प्रधानमन्त्रीको अग्रिम कार्ड फालेको हुनसक्ने राजनीतिक विश्लेषकहरुको धारणा रहेको छ ।

त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । मंसिर २१ आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताएका थिए ।

यद्यपि गौतम विगतमा उपप्रधानमन्त्री भईसकेको लामो राजनीति अनुभव भएको प्रधानमन्त्री हुने सक्ने परिपक्क नेता भएपनि चुनाव हारेको नेतालाई अहिलेको संवैधानिक व्यवस्थाले प्रधानमन्त्री बन्ने कल्पना गरेको छैन । राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संसोधनका लागि दुईतिहाई बहुमत चाहिने भएकोले वामदेवलाई प्रधानमन्त्री बनाउने सवालमा नेकपाभित्रै सहमति जुट्न नसक्ने भएकोले यो प्रक्रिया पनि जटिल र असम्भव जस्तै छ ।

यसरी कालुले बाघ नआउदा पनि बाघ आयो भनेर गाउँलेलाई पटक-पटक झुक्याउने गरेकोले अन्तिममा बाघ आउँदा पनि नपत्याएर गाउँलेहरु नआएको कथा हामीले सुनेको झैँ प्रधानमन्त्री ओलीले पनि पटक-पटक बामदेवलाई प्रधानमन्त्री बनाउछु भन्दै ललिपप मात्र देखाएर पूरा नगरेकोमा गौतमलाई आजकल ओलीले प्रधानमन्त्री बनाईदिने कुरा गर्दा एलर्जी भएर टाउको दुख्नेसम्म हुने गरेको विश्लेषण गर्न सकिन्छ । वामदेवलाई प्रधानमन्त्रीको ललिपप देखाएर आफूतिर तान्ने ओलीको रणनीति दाहाल-नेपाल समूहले सहजै पत्याउन पनि गार्हो छ ।

यो पनि पढ्नुहोस्

म पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन, स्थायी कमिटीको काम छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीको आलोचना गर्दै उपाध्यक्ष गौतमले भने, “म ओलीको पक्षमा छैन्”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !