२० बैशाख २०८१, बिहिबार

अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन, स्थायी कमिटीको काम छैन : प्रधानमन्त्री ओली


केपी शर्मा ओली र प्रचण्ड सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । आज शनिबार बसेको सचिवालय बैठकमा उनले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताए ।

ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्को संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पारेका हुन् । ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी महाधिवेशन र संसदीय चुनावपछि पार्टी नेतृत्व र सरकारको नेतृत्व दुवै हस्तान्तरण गर्न तयार रहेको बताए ।

गोप्य स्रोतका अनुसार ओलीले विगतमा जस्तै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार रहेको बताए । उनले पार्टीभित्र आफूलाई घेराबन्दी पारी अप्ठ्यारो परिस्थिति सिर्जना गरी पद छाड्न वाध्य पार्न खोजिएकोमा त्यसको सामना गर्ने चुनौती समेत दिए ।

पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन तल्लाका कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका थिए । नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन् ।

ओलीले आफू सहमतिको पक्षमा रहेपनि बखेडा झिकिएको भन्दै असन्तुष्टि पोख्दै पार्टीका अर्का अध्यक्ष प्रचण्ड लगायत विरोधी समूहलाई घुमाउरो पाराले चेतावनी दिएका थिए ।

ओलीले यस्तो बताएपछि आइतबारका लागि स्थायी समिति बैठक बोलाइएको छ भने ओलीले अब स्थायी समितिको फेस गर्नुपर्ने भएको छ । स्थायी समितिमा दुबै अध्यक्षको प्रस्ताव छलफलका लागि पेश हुनेछ भने ओलीलाई दुईमध्ये एक पद छाड्न बाध्य बनाउने रणनीति इतर समूहको छ ।

स्थायी कमिटी लगायत पार्टी कमिटी सबै अन्तरिम भन्दै त्यसको निर्णयमाथि नै चुनौती दिदै उनले स्थायी कमिटी काम नलाग्ने भइसकेको समेत बताएका थिए । स्थायी कमिटीमा पार्टी अध्यक्षद्वयको प्रस्ताव छलफलका लागि लगिने तय हुँदा ओलीले यस्तो बताएपछि उनी लगायत समूहले सहभागिता नजनाउने सम्भावना बढेको छ ।

यसले नेकपाभित्रको आन्तरिक विवाद झन् चर्किने सम्भावना बढेको छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् । उनले अल्पमतमा हुने जान्दा जान्दै आफूले पार्टी एकीकरणका लागि त्याग गरेको बताएका थिए ।

ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न लगाएर सहमति निकाल्ने प्रयास भइरहँदा उनले कुनैपनि पद नछाड्ने अडान लिएका छन् । यसले नेकपाभित्रको विवादलाई अझ जटिल मोडमा लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !