१३ बैशाख २०८१, बिहिबार

म पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : प्रचण्ड


प्रचण्ड, झलनाथ र वामदेव

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । आज आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताएका हुन् ।

‘हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो होइन,‘हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्तालाई ल्याउन म अध्यक्ष छोड्न तयार छु ।’ भन्ने आफ्नो धारणा बैठकमा प्रचण्डले राखेको एक स्थायी कमिटी सदस्यले बताए ।

यसअघि प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए । नेकपाको जारी विवादबारे बोल्दै प्रचण्डले यसको दोष प्रधानमन्त्री ओलीलाई नै दिए ।

‘उहाँले सुरूमा फायरिङ खोलेपछि हामीले पनि जवाफी फायरिङ गर्दा अहिलेको परिस्थिति आएको हो,’ प्रचण्डले बैठकमा भने,‘हामीले बैठकका लागि पत्रमात्र लेखेका थियौं । अनौपचारिक छलफलबाट त्यसको समाधान निस्कन्थ्यो । तर उहाँ सार्वजनिक रूपमा उत्रिनुभयो ।’

यसैबीच नेकपाको आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डले छुट्टाछुट्टै रूपमा सचिवालयमा राखेका प्रस्तावहरूलाई छलफलको एजेन्डामा राखिएको छैन । आजको बैठकमा पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याबारे छलफल गर्ने एजेन्डा बनेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

आज बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए । उनले आफू बैठकमा उपस्थित नहुनाको कारणसहित दुई पेजको पत्र पठाएका थिए । कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी बैठकमा नआएको बुझिएको छ । ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् ।

हिजो शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफूले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान दोहोर्‍याएका थिए । उनले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताएका थिए । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्को संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पारेका थिए । मंसिर २८ गते फेरि बस्ने गरी आजको बैठक सकिएको छ ।

यो पनि पढ्नुहोस्

धुम्बाराहीमा ओली बिनै नेकपा स्थायी समिति बैठक शुरु, आज के होला ?

ओलीलाई अर्को धक्का : साझा कार्यदलको प्रस्ताव सचिवालय बैठकबाट अस्वीकृत

अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन, स्थायी कमिटीको काम छैन : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !