१५ बैशाख २०८१, शनिबार

कोभिड–१९ : २३ जनाको नमूना सङ्कलन


कोरोना संक्रमित

राँझा, १६ चैत । बाँकेमा भारतलगायत तेस्रो मुलुकबाट आएका २३ जनामा कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँ पठाइएको छ । शनिबार मात्रै कतारबाट फर्किएका पाँच, मलेशियाबाट फर्केका दुई, भारतबाट आएका दुई र दुबईबाट आएका एक गरी १० जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि पठाईएका १३ जनामध्ये सात जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । सरकारले बुटवलदेखि पश्चिमको कोरोना भाइरस (कोभिड–१९) शङ्कास्पद बिरामीको नमूना सङ्कलनका लागि नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज पठाउने गरेको छ । शनिबार औषधि बोकेर आएको नाइन एन एकेयु कलसाइन विमान नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा धवनमार्गबाट चिप्लिएर दुर्घटना भएपछि अर्को विमानमार्फत १० जनाको नमूना काठमाडौँ पठाइएको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

३८ जना क्वारेन्टाइनमा

बाँकेमा कोभिड–१९ को आशङ्कामा ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बाँकेको खजुरा गाउँपालिकाले वडा नं. १ राधापुरस्थित मैटहवा माध्यमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा एक महिलासहित २८ जनालाई राखेको छ ।

उनीहरु भारत र विदेशबाट आएका हुन् । क्वारन्टाइनलाई खाने, बस्ने, इन्टरनेट व्यवस्थासहित सुविधा सम्पन्न बनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जकै एक होटललाई क्वारेन्टाइनको रूपमा प्रयोग गरेर १० जनालाई निगरानीमा राखेको उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !