१८ बैशाख २०८१, मंगलबार

कारोना भाइरस र डेंगुबाट संक्रमित युवकको मृत्यु


कोरोना मृत्यु

सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।

नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।

यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो । खासगरी सीमा नाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ ।

कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एकवर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्यु दर शून्य थियो । सङ्क्रमण पुनःबढ्न थालेपछि कोरोना भाइरस विरुद्धको बुस्टर डोज(खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !