२७ बैशाख २०८१, बिहिबार

उपनिर्वाचन : इलाम र बझाङमा आज मतदान सुरु


मतदानको व्यवस्था

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचनमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको हो ।

दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !