१५ बैशाख २०८१, शनिबार

लघुकथा – जड्याहाहरुको राजनीति गफ


रामचन्द्र तिम्सिना

राजनीतिक फेरबदल भैरहने देशमा अकस्मात् केपि ओलिले ताजा जनादेश लिने भन्दै चुनावको घोषणा गर्‍यो ।
गाउँ, टोल र गल्लीका चिया-पसल र भट्टीहरूमा राजनैतिक चहलपहल शुरु भयो ।
नेताहरू प्रतिको कुण्ठा र वितृष्णा छताछुल्ल हुन थाले।

भ्रष्टाचारी, अपराधी र बिदेशी दलालहरूको चङ्गुलबाट देशले कहिले उन्मुक्ति पाउला र खै ?
एक हात पुर्पुरोमा लगाउँदै अर्का हातले
गिलास उठाएर एक चुस्की कोदो सुरुप्प पार्दै डाँडा घरे माईलोले दुखेसो पोख्यो ।

के गर्नु देशमा समृद्धि ल्याउँछु भनेर सत्तामा पुगेकाहरू आफै समृद्ध भए ।गरिबी उन्मुलन गर्ने नेता आफै धनी भए, रोजगारी दिलाउँछु भन्नेहरु आफै जागिरे भए ।
भ्रष्टाचार र बेथिति बढ्दै गयो ।
देश र जनताको अवस्था सधैँ उस्तै अबको चुनावमा यिनीहरूलाई लाखापाखा लगाउनै पर्छ है पुच्छार घरे बिर्खेले अर्को चुस्की सुरुप्प पार्दै आफ्नो भावना ओकल्यो ।
सिरान घरे डल्लेले चुरोटको लामो सर्को तान्दै सहमतिको मुन्टो हल्लाई रह्यो ।

मूर्ख भेंडा हामी नै हौं । सधैं तिनीहरूलाई नै भोट दिईरह्यौ।
अब सचेत हुनैपर्छ है मंगलेले एक गिलास तनक्क तन्काउँदै आफ्नो तर्क पेश गर्यो ।

गतिलो राजनीतिक पार्टी छैनन ।
ईमानदार नेता छैनन् ।
भोट हाल्ने पो कसलाई हो र खै ?
गालामा हात राख्दै आँखा चिम्सो चिम्सो पार्दै हर्केले थप्यो ।

हारे पनि जिते पनि सत्तामा पुग्ने त तिनीहरू नै हुन् ।
हामी भुँई मान्छे भुँईको भुँई अब चाहिँ तिनिहरुको पछी लागेर भोट दिनु हुन्न है ! गिलासको अन्तिम घुट् तनक्क पार्दै डाँडा घरेले आफ्नो आशाय व्यक्त गर्यो ।

साँझ ६ बजे देखि शुर भएको यो भट्टिको राजनीतिक वार्तालाप रातको साँढे नौ बजे सम्म चल्यो ।
सबै लर्बराउँदै लाखापाखा लागे साउनीले घर्‍आमा जम्मा भएको पैसो गन्दै मनमनै सोच्न थालिन ।
काश भट्टिमा रक्सी गफ जस्तै मासमा पनि भैदिए सबैको मन यसरी नै मिल्दिए साच्चै नेपाल स्वर्ग बन्थ्यो होला ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !