२२ बैशाख २०८१, शनिबार

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला


निर्मला चौधरी

बेदकोट, कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आएकी छन् ।

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहन्छिन् । चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा छन् । “चित्र कोर्ने सानैदेखिको सोख हो । तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु । अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ”, उनले भनिन्, “पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ । कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु ।”

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट रु दुई सयदेखि दुई सय ५० सम्म पाइने गरेको छ । पढाइसँगै फुर्सदको समयमा चित्र कोरेर हुने आम्दानीले अध्ययनका साथै घरखर्च जोहो गर्न सहजता भएको निर्मलाको भनाइ छ । निर्मलाका आमाबुबासहित छ सदस्यीय परिवार छ । उहाँ जेठी छोरी हो । आमाबुबा सुन्दरीफाँटामै खेती गर्छन् । यहाँ निर्मलाको १५ कट्ठा जमिन पनि छ ।

“परिवारको आर्थिक अवस्थाले नधानेर माइली बहिनीले पढाइ छोडिन् । अहिले पसलमा काम गर्छिन् । अरु हामीहरु जेनतेन अध्ययन गरिरहेका छौँ”, निर्मलाले तीन बहिनीका समस्या सुनाउँदै भनिन्, “चित्रबाट प्राप्त हुने सीमित रकमले जेनतेन अध्ययन खर्च चलेको छ ।” पछिल्लो समय अत्याधुनिक प्रविधिको प्रयोग हुँदा चित्रकारले काम पाउन कठिन भएको उहाँको गुनासो छ । “काम पाइएको बेला राम्रै आम्दानी हुन्छ । प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ”, उनले भनिन् ।

विसं २०७५ मा उनले चित्र बनाउने र पेन्टिङको तालिम लिएकी थिइन् । चित्रकलामा महिलाको उपस्थिति नगन्य छ । जिल्लाभर चार–पाँच महिला मात्रै व्यावसायिक रुपमा चित्रकलामा आबद्ध रहेका नेपाल कमर्सियल आर्टिस्ट सङ्घका सल्लाहकार सुरेश पथिकले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !