१५ बैशाख २०८१, शनिबार

​बैंगलोरलाई पराजित गर्दै हैदरावाद आइपिएल च्याम्पियन


ipl

रोयल च्यालेन्जर्स बैंगलोरलाई घरेलु मैदानमा स्तब्ध तुल्याउँदै इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि हैदरावादले जितेको छ। आइतबार भएको फाइनलमा हैदरावादले बैंगलोरलाई ८ रनले पराजित गरेको हो।

नवौँ सिजनको आइपिएलमा एक मात्र विदेशी कप्तान रहेको हैदरावादले पहिलो पटक आइपिएलको उपाधि उचालेको हो। बैंगलोर यसअघि सन् २००९ र २०११ मा पनि फाइनलमा पराजित भएको थियो।

हैदरावादले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य पछ्याएको बैंगलोरले पूरै ओभर ब्याटिङ गर्दा ७ विकेटको क्षतिमा २ सय रनमात्र बनाउन सक्यो।
बैंगलोरका लागि क्रिस गेलले सर्वाधिक ७६ रन बनाए पनि जित दिलाउन सकेनन्। उनले ३८ बलमा ८ छक्का र ४ चौका प्रहार गरेका थिए। त्यस्तै बैंगलोरका कप्तान विराट कोहलीले ३३ बलमा अर्धसतकसहित ५२ रन बनाए। कोहली आइपिएलमा एक हजार रन बनाउनबाट २७ रनले चुके।

आइपिएलकै सर्वाधिक रन बनाएका कोहलीले ९ सय ७३ रन बनाएका थिए। सेन वाट्सन ११ रनमा आउट भए भने एबिडी भिलियर्स मात्र ५ रनमा आउट भए।

बैंगलोरलाई रोक्ने क्रममा हैदरावादका बेन कटिङले २ विकेट लिए। कुनैपनि विकेट नलिए पनि प्रतियोगिताका सर्वाधिक विकेट लिएका भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेका थिए। उनले ४ ओभर बलिङ गर्दै मात्र २५ रन खर्चिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले पुरै ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २०८ रन बनाएको थियो।
हैदरावादका लागि सबैभन्दा धेरै रन कप्तान डेभिड वार्नरले बनाए। उनले ३८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। प्रतियोगिताभर उत्कृष्ट ब्याटिङ गरेका वार्नरले प्रतियोगिताभर ८ सय ४८ रन बनाए। उनी सर्वाधिक रन बनाउने दोश्रो खेलाडी हुन्।

त्यस्तै १५ बलको सामना गरेका बेन कटिङले ३९ रन प्रहार गरे। त्यसैगरी युवराज सिंहले ३८ तथा शिखर धवनले २८ रन बनाए।
बैंगलोरका लागि क्रिस जोर्डनले ३ तथा श्रीनाथ अरविन्दले २ विकेट लिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !