२३ बैशाख २०८१, आइतबार

साउने संक्रान्ति र यसको महिमा


साउने संक्रान्ति

काठमाडौं, साउन १ । आज साउने संक्रान्ति । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिका रुपमा मनाइन्छ । यसै दिनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन सुरु हुन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्थतर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दू धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

भगवान शिवको पूजा गर्ने महिनाका रुपमा साउनलाई लिइन्छ । महिलाहरु हरिायो चुरा, हरियो पोते र हरियो सारी लगाएर सजिने गर्छन् । शिव भगवान प्रकृतिप्रेमी भएकाले पनि उनलाई खुशी तुल्याउन महिलाहरुले उनको आरधना गर्दा हरियो लगाउने चलन रहेको छ। साउनलाई शिवको महिना र सोमबारलाई शिवबार पनि भन्ने गरिन्छ । यो महिनाभर देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

एक महिनासम्म निरन्तर खेतमा काम गरेर रोपाईं गर्ने किसानहरु असारभर व्यस्त रहे । मानो रोपेर मुरी फलाउने किसानहरु असारभर थकित रहे । उनीहरुको रमाइलो गरेर थकान मेट्ने र दुःखसुख आदानप्रदान गर्ने दिनका रुपमा साउन १ पर्दछ । उनीहरु यस दिन आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । खानपिन पनि चल्ने गर्छ । मीठोमीठो खानेकुराहरु खाएर यो दिनलाई सुखद गराउने गर्छन् ।

अधिकांश नेपालीहरु खेती किसानीमा लाग्ने भएकाले असार महिनाभर कृषिकार्यमा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिन्छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ-आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । छिमेकीहरुको नाम पुकारेर लुतो लैजा भन्ने चलन पनि छ ।

धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्ति प्रतिको बुझाई ‘काण्डरक नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड’ हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरू पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र मान्दैनन् ।

किरात समुदायमा ‘काण्डरक’ नामक राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यर्सथ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ ।

नेपालको पूर्वीक्षेत्र लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजीकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल, र पात(च्योङ)हरू सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरी घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानापिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन् ।

थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् । यसरी, खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रू चोर, डाका आदिलाई खेदाइएका हुँदैनन्। विचरा किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख-पीडा’लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् ।

यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक-साँस्कृतिक विकृति-विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेका हुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके । यसकारण, अब हामी कम्तीमा ६ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाएका हुन् रे उनीहरू ।

त्यस्तै संयोगवस, नेपालमा पुरानो आर्थिक वर्ष समाप्ती र नयाँ आर्थिक वर्ष शुभाराम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-साँस्कृतिक रूपमै कहाँ, के कति राजनीतिक रूपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रूपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ । वैज्ञानिक मतमा साउने सङ्क्रान्तिको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति (Tropic of Cancer, or Northern Tropic) पनि भन्ने गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !