२५ बैशाख २०८१, मंगलबार

संसदको बैठक फागुन ८ गते बस्ने गरी स्थगित, आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अर्को बैठक फागुन ८ गते दिउसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको थियो । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरेका थिए ।

एमालेका सांसदहरुले ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यादा कायम गर’ भन्ने जस्ता नारा लगाएका थिए । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

सभामुख सापकोटाले महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र भएका बैठकमा पनि अवरोध कायम हुँदा आम नागरिकका दैनिक समस्या सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने तथा महत्वपूर्ण विधेयक विचराधीन रहेकाले बैठकमा अवरोध नगरी नियमित सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका थिए । उनको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि उनले कार्यसूचीलाई अगाडि बढाएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८’ पेश गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यसूचीमा परेन । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएअनुसार नै सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज संसद एमसीसी पेश नगर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !