१५ बैशाख २०८१, शनिबार

एमसीसी अनुमोदन गर्नुपर्ने काँग्रेसको निर्णय, राष्ट्रघाती नभएको निष्कर्ष


काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले एमसीसी राष्ट्रघाती नभएकोले संसदवाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गरेर जनतामा जाने तयारी गरेको हो । कांग्रेसको कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गरेर जनतामा लैजाने निष्कर्ष निकालेको हो ।

काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा, नेता डा. शशांक कोइराला, नेता डा. रामशरण महत लगायतले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् ।

आजको बैठकमा सभापति देउवाले एमसीसीका विषयमा ब्रिफिङ गरिदिन पूर्वअर्थमन्त्री समेत रहेका नेता डा. महतलाई आग्रह गरेपछि महतले लामो व्याख्यासहित एमसीसी स्वीकार गर्नु नै बुद्धिमानी हुने निष्कर्ष सुनाएपछि कांग्रेसले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बैठकपछि पूर्वमहामन्त्री डा. कोइरालाले एमसीसी अनुुमोदन गरेर जनतामा जाने निर्णय गरेको जानकारी दिए । नेता कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको दावी गरे । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको जानकारी दिए ।

डा. महतको बिफ्रिङपछि देउवाले जनता र अन्य दललाई समेत कन्भिन्स गर्ने विषय आएको भन्दै छोटकरीमा लेखरे ल्याउन महतलाई आग्रह गरेका छन् ।

यस्तै कांग्रेसले एमसीसीलाई अन्योल बनाइराख्न नहुने पनि बताएको छ । कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशरण महतले एमसीसीलाई अन्योल बनाउन नहुने र संसद्लाई निर्णय गर्न दिनुपर्ने बताए । संसद्मा छलफल भए ठूलो बहुमतका साथ पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

त्यस्तै महतले एमसीसी संसद्मा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । उनले एमसीसीले संसद्मा प्रवेश नगराएर भ्रमको खेती गर्न नहुने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !