२३ बैशाख २०८१, आइतबार

माओवादी महाधिवेशन : आन्तरिक लोकतन्त्रको अब्बल अभ्यास


माओवादी महाधिवेशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को महाधिवेशनमा नेता तथा कार्यकर्ताले आन्तरिक लोकतन्त्र सर्वोत्तम अभ्यास गर्न पाएका छन् । उनीहरूले पार्टी नेतृत्वका कमी कमजोरीमाथि निर्मम प्रहार गर्नेदेखि फरक मतसमेत राखेर खबरदारी गर्न भ्याए । राष्ट्रिय विषयदेखि अन्तरराष्ट्रिय विषयमा जमेर बहस गरे ।

पार्टी बिग्रिएको चिन्तादेखि सङ्घीयता, समावेशीता र समानुपातिक प्रतिनिधित्वको नाममा भइरहेको लापरवाहीको पनि चर्को आलोचना बन्दशत्रमा भयो । अमेरिकी सहयोग परियोजना (एमसीसी) मा पार्टीको धारणा माग्नेदेखि चुरे संरक्षणको विषय नसमेटिएकोमा पार्टी नेतृत्वको कार्यकर्ताले ध्यानकर्षण गराए ।

माओवादीले यसलाई जनवादी केन्द्रीयता भन्ने गरेको छ । नेतृत्वको कमी कमजोरीमाथि निर्मम प्रहार गर्दै सर्वसहमतिले पारित गरेको नीति, योजना, कार्यक्रमलाई अक्षरशः लागू गर्न केन्द्रीत हुने प्रणालीलाई माओवादीले जनवाद र केन्द्रीयताको सन्दर्भसँग जोड्ने गरेको छ ।

आइतबारदेखि शुरु भएको महाधिवेशन आज शुक्रबारसम्म आइपुग्दा सकिएको छैन । नेतृत्व चयनको विषय अझै बाँकी छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज’ पेश गरेका थिए ।

दस्तावेजमाथि छलफल गर्न विभिन्न २५ समूह बनाइएको थियो । महाधिवेशनमा एक हजार ६३१ (पछि केही थप गरिएको) प्रतिनिधि सहभागी थिए । यस आधारमा एउटा समूहमा झण्डै ६५ जना प्रतिनिधि सहभागी थिए ।

समूहगत छलफलको समन्वयका लागि समन्वयकर्तासमेत तोकिएको थियो । राजनीतिक प्रतिवेदनको छलफलका लागि मङ्गलबार र बुधबार अपराह्नसम्मको समयसीमा तोकिएको थियो । छलफलमा सहभागी माओवादी नेताका अनुसार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि जीवन्त छलफल भएको थियो ।

समूह १४का नेता टंक राईले उठाउनुभएको विषय माओवादीले भन्दै आएको धरातलसँग जोडिएको थियो । नेता राईले आफ्नो समूहको निष्कर्ष सुनाउँदै भन्नुभएको थियो, “कम्युनिस्ट सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ? यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ ।” कम्युनिस्ट पार्टीले राजनीतिक आन्दोलनमा श्रेष्ठता प्राप्त गर्ने तर सरकारमा गएपछि किन जनमुखी काम गर्न सक्दैनन् भन्ने प्रश्नको खोजी गर्नुपर्ने उनको भनाइ थियो ।

पार्टीभित्र फरक मत राख्न पनि पाइन्छ । छलफल चलाउन पनि पाइन्छ भन्ने तथ्य स्थापित गर्दै युवा नेता लेखनाथ न्यौपानेले नेतृत्वको कमजोरीमाथि शाब्दिक प्रहार गर्नुभएको थियो । उहाँले नेताको सम्पत्ति छानबिन गरी कारबाही गर्न माग गरे ।

नेता न्यौपानेले १० बुँदे फरकमत राख्दै अध्यक्ष प्रचण्डको प्रतिवेदनले राजनीतिक दस्तावेजले विचार, दृष्टिकोण र दिशा समात्न नसकेको, नेपाली समाजको अन्तरविरोध, वर्ग सम्बन्ध र सङ्घर्ष, उत्पादन प्रणाली, उत्पादनको साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे ठोस विश्लेषण गर्न नसकेको टिप्पणी गरेका थिए ।

त्यतिमात्रै होइन उनले पार्टीमा कार्यशैलीगत समस्या देखिएको, नैतिकताको र आचरणको अभाव, सामन्ती र बुर्जुवा चिन्तन पद्धति हाबी रहेको भन्दै नेतृत्वलाई सचेत मात्रै गराएनन् पार्टीमा विकास भइरहेको गलत प्रवृत्तिको जिम्मेवारी नेतृत्वले लिनुपर्नेमा जोड दिएका थिए ।

नेता न्यौपानेले राख्नुभएको फरक मतलाई भिन्न मतकैरूपमा बन्दशत्रले स्वीकार गरेको छ । अध्यक्ष प्रचण्डले पनि त्यसलाई स्वीकार गर्दै सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीभित्र न्यौपानेको फरक मतको बहस तथा छलफल गर्न सक्ने निर्णय बन्दशत्रले गरेको प्रवक्ता कृष्णबहादुर महराको भनाइ छ । उनका अनुसार फरक मतलाई सम्मान गरिएको र छलफल गर्न सक्ने व्यवस्थाले माओवादीभित्र आन्तरिक लोकतन्त्र(जनवाद) कुन हदसम्म छ भन्ने प्रष्ट पारेको छ ।

बन्दशत्रमा सशस्त्रद्वन्द्वका शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते तथा अपाङ्गता भएकासमेतले पार्टी नेतृत्वमाथि प्रश्नै प्रश्नको वर्षा गरे । उनीहरूले खोई माओवादी ब्राण्ड भन्दै अध्यक्ष प्रचण्डमाथि औला ठड्याएर प्रश्न गरे । चितबुझ्दो जवाफसमेत खोजे ।

गण्डकी प्रदेशका तर्फबाट समूहगत धारणा राख्दै प्रदेश अध्यक्ष रहेकी गायत्री गुरुङले खोई माओवादी ब्राण्ड भन्दै प्रश्न गरेकी थिइन् । उनले त्योभन्दा अगाडि बढेर माओवादीका नेताको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेकी थिइन् । अध्यक्ष प्रचण्डले संसारका १० धनीको सम्पत्तिको विवरण राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको सन्दर्भ जोड्दै अध्यक्ष गुरुङले आफ्नो समूहमा रहेका प्रतिनिधिले माओवादीका १० नेताको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको बताएका थिए ।

यस्तै, माग थियो, प्रदेश–२ का तर्फबाट आफ्नो धारणा राखेका सत्यनारायण भगतको पनि । उनले ‘जनयुद्ध’ गरेर आएका नेताको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्न निष्कर्ष सुनाएका थिए ।

यस्तै सरकारी विद्यालयको शैक्षिकस्तर सुधार गर्ने हो भने नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पठाउनुपर्ने, अन्यथा लेख्नका लागि लेखिदिएको भरमा राज्यको ठूलो लगानी भएको शिक्षा क्षेत्रले प्रतिफल नदिने प्रतिनिधिको जोड थियो ।

माओवादीको बन्दसत्रमा चुरे संरक्षणको विषयसमेतले प्राथमिकता पाएको छ । अध्यक्षको प्रतिवेदनमा चुरे संरक्षणको विषय समेटिनुपर्ने माग प्रदेश–२ का तर्फबाट भवानी थापाले गरेका थिए । उनले भने, “चुरे संरक्षणको विषय अध्यक्षको दस्तावेजमा आएन, चुरेका कारणले सिङ्गो मधेस जोखिममा छ । ”

समूहगत धारणा राख्ने क्रममा टोली नेताले सशस्त्रद्वन्द्वका शहीद परिवार, बेपत्ता तथा घाइते योद्धाको सवालमा उचित निर्णय गर्न नसक्दा निराशा पैदा भएको छैन, तत्काल स्पष्ट कार्ययोजनाका साथ काम गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । शान्ति सम्झौताका क्रममा ६० दिनभित्र बेपत्ता नागरिकको अवस्था पत्ता लगाउने भनिए पनि वर्षौं बित्दासमेत अवस्थामा कुनै सुधार आउन नसकेको भन्दै गुनासो गरेका थिए ।

राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता तथा समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता एजेण्डा माओवादीको भए पनि नेतृत्व गर्ने स्थानमा नहुँदा जनताले वास्तविक अर्थमा लाभ हासिल गर्न नसकेको भन्दै पार्टीलाई पहिलो बनाउने योजना र कार्यक्रमको माग गरेका थिए ।

प्रतिनिधिले पार्टी नेतृत्वमाथि प्रश्नै प्रश्नको वर्षा गरिरहन्थे । कमजोरीमाथि औला ठड्याउँथे र सोध्थे ‘कमरेड के सोचेथे जिन्दगीमा के के भयो आज ?’ समूहगत निष्कर्ष अद्योपान्त सुन्नुभएका अध्यक्ष प्रचण्डले आज जवाफ दिने क्रममा भने “हो, खास अर्थमा हामीले लोकतन्त्रको अभ्यास गर्यो ।”

अध्यक्ष प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उद्घोष गरे । कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौँको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ प्रतिवेदनमाथि जवाफ दिने क्रममा उनले भने, “तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।”

पार्टीमा खास अर्थमा जनवादको अभ्यास भएको भन्दै उनले नेता तथा कार्यकर्ताबाट प्राप्त सुझावलाई अक्षरशः कार्यान्वयन गर्ने र गल्ती कमजोरी सच्याउन आफैबाट शुरु गर्ने विश्वास दिलाए । कार्यकर्ताको प्रश्नै प्रश्नको सामना गर्नुभएका अध्यक्ष माओवादी अध्यक्षले भने, “बन्दशत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्तरूपमा सम्बोधन गर्ने विश्वास दिलाउँछु ।”

महाधिवेशनको नाममा कर्मकाण्ड मात्रै नगरेको तथा विचारको विकासलाई प्रमुख स्थानमा राखेको र पार्टी रुपान्तरणमा केन्द्रित गरेको उनको भनाइ थियो । यद्यपी नेतृत्व चयन प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने सवाल पनि यसैमा आन्तरिक लोकतन्त्रको अर्को पाटोमा जोडिएर आएको छ । महाधिवेशनस्थल कमलादीमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले भने, “शनिबार नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !