१४ बैशाख २०८१, शुक्रबार

रामकुमारीलाई पक्राउ गरेको ५ घण्टामा नै किन रिहा गर्यो ओली सरकारले ?

यसकारण रामकुमारीलाई पक्राउ गरेको ५ घण्टामा नै ‘ब्याक’ भयो ओली सरकार


रामकुमारीलाई पक्राउ गरेको ५ घण्टामा नै किन रिहा गर्यो ओली सरकारले ?

काठमाडौँ । प्रहरीले राज्यविरुद्धको कसूर गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्री अन्ततः निःशर्त रिहा भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले आज बिहीबार दिउँसो १ः१० बजेतिर काठमाडौँ महानगरपालिका-३१ बानेश्वरस्थित शंखमूलनिवासबाटै प्रहरीले पक्राउ गरेको थियो भने करिब ५ घण्टा हिरासतमा रहेपछि साँझ ६ः२० बजे रिहा गरिएको हो ।

उनलाई प्रहरी पकाउ गर्न जाँदा आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन् । प्रहरीले उनलाई ‘राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८’ को कसुर अन्तर्गतको अनुसन्धानको लागि भन्दै पक्राउ पुर्जी थमाएको थियो ।

राज्य विरुद्धको अपराध अन्तर्गत दफा ५८ को उपदफा २ मा दफा ९१० बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद वा ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको थियो । राज्य विरुद्धको कसूरमा अन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको थियो ।

सरकारले उनलाई मुद्दा हालेर लामै समय जेल कोच्ने तयारी गरेको हुनसक्ने आंकलन धेरै नेपालीले गरेका थिए । यही आशंकाले गर्दा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । अनेरास्ववियूले झाँक्रीलाई रिहा नगरे नेपाल बन्द गर्ने चेतावनी दिँदै विज्ञप्ति निकालेको थियो ।

अन्य नेताहरुले भाषण गर्दै सरकारको आलोचना गर्न पछि परेनन् । यद्यपि सबैको अनुमान विपरित प्रहरीले आजै बेलुकी रामकुमारीलाई सामान्य बयान लिएर उनलाई अन्ततः निःशर्त रिहा गरेको छ ।

हिजो भृकुटीमण्डपमा भएको बृहत जनसभामा उनले मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएर ‘बोल्न पाइन्छ’ भनेर कुर्लिदै राष्ट्रपति विद्यादेवी भण्डारीको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएकी थिइन् । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध टिप्पणी गरेपछि उनको आलोचना हुँदै आएको थियो ।

ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेकाले पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

रामकुमारीलाई पक्राउ गरेको ५ घण्टामा नै रिहा गरेर किन ‘ब्याक’ भयो ओली सरकार ? भन्ने चासो आम नेपाली नागरिकमा बढेको छ । महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार उनलाई सोधपुछ गरी श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको जानकारी दिएका छन् ।

सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन् । आफूले नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेको उनले बताएकी थिइन् । बयानपछि उनलाई मुद्दा चलाउनु पर्ने आवश्यकता नदेखिएको र राखिराख्ने कुरा नभएको प्रहरीले बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले नेत्री रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न एक प्रेस विज्ञप्ति जारी गर्दै माग गरेको थियो । उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको आरोप लगाएका थिए ।

उक्त समूहका अध्यक्ष माधव नेपालले रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेकोमा विरोध गरेका थिए । नेकपा सोखुलुम्बुको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले कुनै पनि मान्छे आलोचनाभन्दा माथि हुन नसक्ने बताएका थिए ।

नेपाली कांग्रेसले राज्य विरुद्धको कसूरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको थियो । आज बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेका थिए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका थिए । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्य द्रोहको मुद्दा लगाउन चुनौती दिएका थिए ।

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा आपत्ति जनाएका थिए ।

प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्री किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको थियो ।

उनलाई प्रहरीले पक्राउ गरेर महानगरीय अपराध अनुसन्धान महाशाखामा लगेर राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा झाँकीलाई पक्राउ गरेको भन्दै सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक दल र तीनका नेताले कडा आलोचना गर्दै रिहाइको माग गरेका थिए ।

यस्तै नेकपाका कार्यकर्ता उनको रिहाइको माग गर्दै सडकमै आए भने सो क्रममा प्रहरी र नेकपाका कार्यकर्ताबीच बानेश्वरमा झडप नै हुन भएको थियो । चौतर्फी आलोचना, दबाव र आगामी दिनमा थप आन्दोलन चर्किन सक्ने देखिएसँगै ओली सरकार अप्ठ्यारोमा पर्ने देखिएको थियो भने नेकपाकै नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतले महाशाखामै गएर प्रहरीसँग छलफल र सहजीकरण समेत गरेका थिए ।

स्रोतका अनुसार उनलाई प्रहरीको चाहनामा भन्दा पनि प्रधानमन्त्री केपी ओली र उनका सहयोगीहरुको जोडबलमा पक्राउ गरिएको हो । राजनीतिक विषयमा हात नहाल्ने मूडमा रहेको प्रहरी ओली, उनका सहयोगी र गृह मन्त्रालय समेतको निरन्तरको दवावपछि नै उनलाई पक्राउ गर्न निवाससम्म पुगेको थियो ।

विशेष स्रोतका अनुसार झाँक्रीलाई पक्राउ गरिएकोमा राष्ट्रपति कार्यालयले समेत असन्तुष्टि जनाएको बुझिएको थियो । यसरी चौतर्फी बिरोध भएपछि उनलाई हिरासतमा राखिराख्न प्रहरीले चाहेको थिएन भने सोही कुरा बालुवाटार र सरकारी निकायले समेत ‘महसुस’ गरेपछि झाँक्रीलाई ५ घण्टामै रिहाइ गर्न सरकार बाध्य भएको हो ।

यो पनि पढ्नुहोस्

रिहाइपछि झाँक्रीले भनिन्, ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, ओलीसँग हामीलाई छुन सक्ने हैसियत छैन’

पक्राउ परेको ५ घण्टा नबित्दै रिहा भइन् रामकुमारी झाँक्री

राज्य विरुद्धको अपराधमा पक्राउ परेकी रामकुमारीलाई कति वर्ष कैद हुनसक्छ ?

रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग

प्रचण्ड भन्छन्, ‘ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो’

प्रहरीद्वारा रामकुमारी झाँक्रीलाई बुद्धनगर निवासवाट गिरफ्तार

झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुद्वारा नाराबाजी

झाँक्रीका समर्थक कार्यकर्ताहरुको नाराबाजी : रामकुमारी झाँक्री हाई, हाई, केपी, विद्या बाई बाई !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु