१५ बैशाख २०८१, शनिबार

कसैको लहडमा उपलब्धि समाप्त हुँदैन : नेपाल


माधव नेपाल फाइल फोटो

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सो पार्टीद्वारा आज धनगढीमा आयोजित विरोधसभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले इतिहासका पाङ्ग्रा फेरि पछाडि जान नसक्ने दावी गर्दै भन्नुभयो, “प्राप्त उपलब्धिको रक्षाका लागि जनताले हरेश खानुपर्ने आवश्यक छैन, तपाईँहरुको साथमा हामी छौँ ।” पार्टी राम्ररी चलाउनका लागि पार्टीका तर्फबाट दिइएको सुझाव प्रधानमन्त्रीले नसुन्दा समस्या उत्पन्न भएको तर्क गर्दै उहाँले कुर्चीको तानातान तथा हानाथापका लागि पार्टीमा समस्या सिर्जना नभएको प्रस्ट पार्नुभयो । नेता नेपालले निर्मला बलात्कार घटनाका दोषीलाई दण्डित गर्न सरकारसँग माग गर्नुभयो । भ्रष्टाचारलाई ढाकछोप नगर्न सुझाव दिँदै नेता नेपालले कोरोनाको प्रभावकारी उपचार व्यवस्थापन गर्न तथा सुशासन अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा ३०० सदस्य रहेको दाबी गर्दै उहाँले भन्नुभयो, “अर्को पक्षसँग १०० जना रहेकाले त्यो पार्टी नक्कली हो, जहाँ ३०० सदस्य छन् सूर्य चिह्न पनि त्यसकै हुन्छ ।” उहाँले जनता लोकतन्त्र र प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेको बताउनुभयो ।

सो पार्टीका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक परिस्थिति दुर्घटनाग्रस्त हुनबाट जोगाउनमा आफूहरु गम्भीर बनेको बताउनुभयो । प्रतिगमनको खतरालाई परास्त गर्न जनता पुनः एकपटक जुरमुराएको देख्दा आफूलाई गर्व लागेको भन्दै उहाँले भन्नुभयो, “जागिसकेका जनतालाई कसैले झुकाउन सक्दैन ।” विषेश परिस्थितिमा र कुनै अर्को विकल्प हुन नसकेमा मात्र संसद् विघटन गर्न सकिने भए पनि प्रधानमन्त्रीले विषेश परिस्थिति सिर्जना नहुँदा पनि प्रतिनिधिसभाको विघटन गरेर गल्ती गरेको आरोप उहाँले लगाउनुभयो । “सर्वाेच्च अदालतमा रहेको संसद् विघटनको मुद्दालाई अदालतले संविधान र लोकतान्त्रिक मान्यतालाई बुझ्ने छ, हामी सही फैसला हुनेमा विश्वस्त छौँ”, दाहालले भन्नुभयो, “संसद् भङ्ग भएको छैन, सरकार मात्र विघटन भएको हो ।”

नेकपा स्थायी समितिका सदस्य एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीमबहादुर रावलले पाँच वर्षका लागि नेकपाले पाएको जनमतको संसद् विघटन गरेर अपमान गरिएको आरोप लगाउनुभयो । कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, पार्टीका प्रदेश अध्यक्ष भानुभक्त जैशी, खगराज भट्टलगाएतले पनि समसामयिक राजनीतिका विषयमा आ–आफ्ना धारण प्रस्तुत गर्दै संसद् विघटन गलत भएको बताउनुभएको थियो । यसअघि धनगढीको ट्राफिक चोकबाट निस्किएको प्रदर्शन बजारका मुख्य भाग हुँदै खुलामञ्चमा पुगेपछि सभामा परिणत भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !