२१ बैशाख २०८१, शुक्रबार

चिनियाँ उच्चस्तरीय टोली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता, के प्रचण्डलाई मनाउला त ?


प्रचण्ड र गुओ येचौ

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको ४ सदस्यीय टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नका लागि प्रचण्ड निवास खुमलटार पुगेको छ ।

नेकपालाई विभाजनवाट जोगाउन के प्रचण्डलाई मनाउला त उक्त टोलीले भन्ने चासो पनि बढेको छ । चिनियाँ उच्चस्तरीय टोली हिजो आइतबार नेपाल आएदेखि आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त हुने भएको छ । प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधव नेपाललाई चिनियाँ टोलीले भेट्दैछ ।

आइतबार काठमाडौं आएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ । तर के के कुरा भयो भन्ने अझसम्म खुलिसकेको छैन । फुटिसकेको नेकपालाई पुनः जोडाउन चिनियाँ कम्युनिष्ट पार्टीको टोली अन्तिम प्रयासमा जुटेको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन उच्चस्तरीय टोली आइतबार नेपाल आएको हो । नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिष्ट पार्टीले खेलेको भूमिका निरर्थक सरह भएको थियो ।

चिनियाँ राजदूत होउ यान्छी केही समयदेखि नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय भएतापनि नेकपा विभाजन भई सकेको छ । चीन कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चाहेर सोही अनुसार उसले अन्तिम कसरत गरिरहेको छ ।

नेता येचौ २०७४ फागुनमा पनि नेपाल भ्रमणमा आएको ३ महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । तत्कालिन एमाले र माओवादीलाई एकता गराउने येचौ नेपाल आएपछि के फेरि उनले नेकपा विभाजन रोक्लान् त भनेर नेपाली राजनीतिक वृत्तमा विशेष चासो बढेको छ ।

नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले नेपालको भ्रमण गर्न लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।तर चीनले चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया नदिएतापनि चिनियाँ सरकारी सञ्चार माध्यममा प्रकाशित समाचारहरुले भने पछिल्लो घटनाक्रमप्रति चीन खुसी नभएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

फुटिसकेको नेकपालाई जोड्न चीन अन्तिम प्रयासमा

एमाले र माओवादीलाई एकता गराउने येचौ आइपुगे नेपाल : रोक्लान् त नेकपा विभाजन ?

किन आइतबार आउदैछ चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल ?

नेकपा विभाजनबारे चीनको गम्भीर चासो : के जोगाउला त विभाजन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !