१४ बैशाख २०८१, शुक्रबार

किन आइतबार आउदैछ चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल ?


चीन र नेपाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजन भएसँगै उत्तरी छिमेकी चीनको गम्भीर चासोका साथ सक्रियता बढेको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढिरहेको बेला बेइजिङबाट अर्को चिनियाँ कम्युनिष्ट पार्टीको टोली उच्चस्तरीय टोली भोलि आइतबार आउने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको ४ सदस्यीय टोलीले काठमाडौं भ्रमण आउन लागेको हो । बेइजिङबाट प्रस्थान गरेको टोली छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिने कार्यक्रम छ ।

लगभग दुई तिहाइको सरकार चलाएको नेपाल कम्युनिष्ट पार्टीले संसद् विघटन गर्नुका साथै पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको छ । तथापि चिनियाँ अधिकारीहरूले भ्रमणको उद्देश्यको बारेमा भने प्रष्ट खुल्न सकेको छैन ।

नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्न लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल आउन लागेको सो टोलीले नेकपाका नेताहरुलाई भेट्ने बताइएपनि क-कसलाई भेट्नेछ भन्ने कुरा खुल्न बाँकी नै छ ।

तत्कालिन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापना हुनुका साथै समय-समयमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच प्रशिक्षण कार्यक्रमहरु पनि हुने गर्थे । नेपालको सत्तारुढ दल नेकपामा विभाजन आएपछि चीन झन् सक्रिय भएको हो ।

राजनीतिक वृत्तमा चीनको सक्रियतालाई शंकाको दृष्टिले हेरिँदै आएकोमा यो पटक फेरि बेइजिङबाटै उच्च अधिकारीहरु आउनुलाई विशेष चासोका साथ हेरिएको छ । पछिल्लो समय नेपाललाई प्राथमिकतामा राखेर चासो दिइरहेको चीन दुवैलाई नेकपा विभाजन एउटा अप्रत्याशित घटना भएकोमा चीनले नेपालको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको प्रष्ट देखिन्छ ।

छिमेकी देश चीनले भने फुट आएका यी दुई समूहबीच पुनः एकताको सम्भावना कति छ भन्ने बुझ्न थालेको छ । नेकपा विभाजन भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत यान्छी यिनै प्रश्न बोकेर नेताहरुसँगको भेटघाट बाक्लो पारेकी छिन् । नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न सक्रियता बढाएकी राजदूत यान्छीले नेताहरुसँगको भेटमा पुन: नेकपा एकताको सम्भावनाबारे चासो राखेको नेताहरुले बताएका छन् ।

नेकपा विभाजनबारे चीनको गम्भीर चासो बढेर चिनियाँ राजदूत यान्छीको सक्रियता बढिरहेको बेला बेइजिङबाट अर्को उच्चस्तरीय टोली आउन लाग्नुले के नेकपा विभाजन जोगाउला त भन्ने चासो बढेको छ । राजनीतिक विश्लेषकका अनुसार विभाजन जोगाउने सम्भावना एकदम न्यून भएतापनि पूरै नसकिसकेको बताउछन् किनकी राजनीतिमा स्वार्थ मिल्यो भने कस्ता-कस्ता असम्भव कुरा पनि सम्भव नेपालमा हुने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !