८ पुस २०८१, सोमबार

प्रचण्डलाई बिहान भेटेर साँझ किन पुगे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा ?


केपी ओली र विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । उनी केही बेरअघि राष्ट्रपति निवास प्रवेश गरेको शीतल निवास स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवाद लगायत विषयमा जानकारी गराउने उद्धेश्यले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् ।

सरकारले ल्याएको संवैधानिक परिषद् सम्वन्धी अध्यादेशको चौतर्फी विरोध भएपछि पार्टीको स्थायी समितिको बैठकले फिर्ता लिन निर्देशन दिएको थियो भने उनले अध्यादेश राष्ट्रपति भण्डारीसँगको सल्लाह र परामर्शपछि मात्रै फिर्ता लिने अडानमा थिए । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने वा नलिने भन्ने विषयमा राष्ट्रपतिसँग पराशर्म गर्नका लागि शितलनिवास गएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले आज बिहानैदेखि नेकपाभित्रको विवाद समाधानका लागि राजनीतिक भेटघाट तीव्र पारेका छन् । बिहान ११ बजे खुमलटार पुगेका ओलीले प्रचण्डसँग १ घण्टा छलफल गरी १२ बजेपछि खुमलटारबाट बाहिरिएका थिए । शुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपाल पनि खुमलटार पुगेका थिए । ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका थिए भने गौतम पुगेको आधा घण्टापछि नेपाल खुमलटार पुगेका हु्न् ।

आज खुमलटारमा प्रधानमन्त्री ओलीले कार्यकारी अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर सहमतिमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली प्रचण्डलाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा अगाडि बढ्न आग्रह गरेका थिए । तर प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको बुझिएको छ । उनले आफ्नो अडान कायमै रहेको भन्दै पार्टी एकतालाई बलियो बनाउन आफ्नो प्रतिवेदन उपर्युक्त रहेको जवाफ दिएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिइदिनुपर्यो भन्ने पुरानै आग्रह दोहोर्‍याएका थिए । तर अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्षमा पुगौं भनेर जवाफ दिएका थिए ।

खुमलटार स्रोतका अनुसार आजको छलफलमा चर्चा र अपेक्षा गरिएजस्तो कुनै ठोस सहमति हुन नसकेको बुझिएको छ । नेकपाभित्र जारी विवादकै निरन्तरता स्वरूप आजको छलफल भएको स्रोतले बताएको छ । सधै बालुवाटारमा हुने छलफल आज खुमलटारमा मात्र भएपनि अरू कुनै उपलब्धिमूलक निष्कर्षमा नपुगेको बुझिएको छ ।

‘प्रचण्ड’ सँग भेटवार्ता सकिए लगतै ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक मन्त्री क्वाटर पुगेका थिए । साथै प्रधानमन्त्री ओलीले आज पुल्चोक मन्त्री क्वाटरमा मन्त्रीहरूसँग आकस्मिक भेट गरेका छन् । मन्त्रीहरुसँगको भेटमा ओलीले समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ ।

यसरी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीवीच भेटवार्ता भईरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा पनि भेटवार्ता भई रहेको छ ।

नेकपाभित्रको आन्तरिक विवाद चरम उल्कर्षमा पुगेर त्यसलाई सामधान गर्नको लागि आफ्नै पार्टीका शीर्ष नेताहरु र मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले सक्रियता बढाई भेटघाट गरेकै दिन अन्तत: साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो पनि पढ्नुहोस्

देउवा भेट्न बुढानिलकण्ठमा किन पुगे जसपा शीर्ष नेताहरू ?

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !