१२ श्रावण २०८१, शनिबार

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल


ओली र प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच आज बिहान खुमलटारमा भेटवार्ता भई सकिएको छ । अचानक प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार गएपछि के विषयमा छलफल भयो भन्ने चासो नेपाली राजनीतिक वृत्तमा ह्वात्तै बढेको छ ।

ओली-प्रचण्डवीच खुमलटारमा १ घण्टा भेटवार्ता भएको छ । बिहान ११ बजे खुमलटार पुगेका ओली १२ बजेपछि खुमलटारबाट बाहिरिएका छन् । शुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपाल पनि खुमलटार पुगेका थिए । ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका थिए भने गौतम पुगेको आधा घण्टापछि नेपाल खुमलटार पुगेका हु्न् ।

‘प्रचण्ड’ सँग भेटवार्ता सकिए लगतै ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक मन्त्री क्वाटर पुगेका थिए । साथै प्रधानमन्त्री ओलीले आज पुल्चोक मन्त्री क्वाटरमा मन्त्रीहरूसँग आकस्मिक भेट गरेका छन् । नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली गृहमन्त्री थापा लगायत अन्य मन्त्रीसँग आकस्मिक भेट गर्नुलाई पनि राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पुल्चोकमा पुगेर उनले गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा कुमारी अर्यालसँग आकस्मिक भेट गरेका हुन् ।

आज खुमलटारमा प्रधानमन्त्री ओलीले कार्यकारी अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर सहमतिमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली प्रचण्डलाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा अगाडि बढ्न आग्रह गरेका थिए । तर प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको बुझिएको छ । उनले आफ्नो अडान कायमै रहेको भन्दै पार्टी एकतालाई बलियो बनाउन आफ्नो प्रतिवेदन उपर्युक्त रहेको जवाफ दिएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिइदिनुपर्यो भन्ने पुरानै आग्रह दोहोर्‍याएका थिए । तर अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्षमा पुगौं भनेर जवाफ दिएका थिए ।

खुमलटार स्रोतका अनुसार आजको छलफलमा चर्चा र अपेक्षा गरिएजस्तो कुनै ठोस सहमति हुन नसकेको बुझिएको छ । नेकपाभित्र जारी विवादकै निरन्तरता स्वरूप आजको छलफल भएको स्रोतले बताएको छ । सधै बालुवाटारमा हुने छलफल आज खुमलटारमा मात्र भएपनि अरू कुनै उपलब्धिमूलक निष्कर्षमा नपुगेको बुझिएको छ ।

पार्टी विवाद समाधान हुनुको साटो झन् बढी रहेका बेला सत्तारूढ नेकपाका अध्यक्षद्वबीच भेटवार्ता बढेको छ । हिजो शुक्रबार साँझ प्रधानमन्त्री ओलीसँग भएको भेटमा दुई अध्यक्षले सामूहिक प्रस्ताव तयार पार्नेबारेमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको थियो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सामूहिक प्रस्ताव नल्याए आगामी आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक बस्न कठिन हुने देखिएको छ । यता प्रचण्ड-नेपाल समूहले भने प्रचण्डकै प्रतिवेदन पारित गर्ने योजना बनाएको छ ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई एक पद छोड्न बाध्य बनाउने रणनीतिमा प्रचण्ड-नेपालको तयारी छ । प्रधानमन्त्री ओली यसका लागि तयार नभए उनीहरुले केन्द्रीय कमिटीबाटै निर्णय गर्ने सोच समेत बनाइसकेका छन् ।

प्रचण्डसँग वामदेव गौतमको उपस्थितिमा छलफल भएपनि सार्थक नतिजा ननिस्केपछि प्रधानमन्त्री गृहमन्त्री निवास पुगेका हुन् । नेकपाभित्र देखिने विवाद समाधान गर्नमा उपाध्यक्ष वामदेव गौतमका साथै गृहमन्त्री थापाको भूमिका पनि महत्वपूर्ण रहने गरेको छ ।

नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली पुल्चोक मन्त्री क्वाटर पुग्नुलाई पनि राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ । नेकपाभित्रको विवाद ‘भुसको आगो’ झैं भित्रभित्रै सल्किरहेको अवस्थामा नेताहरुबीचको भेटले सहमतिको प्रयास पनि तीव्र बनेको हो की भन्ने अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले शनिबार एकाएक सक्रियता बढाएसंगै राजनीतिक वृत्तमा चासोपूर्ण रुपमा हेरिनुको साथै नेकपामा के को खिचडी पाकिरहेको छ भन्ने जिज्ञाषा बढेको छ । विभिन्न शंका उपशंकाको आंकलन हुदै गर्दा त्यो अव केहि समयभित्र नेकपामा देखिने विकसित घटनाक्रम र धुर्वीकरणले अझ प्रष्ट हुनेछ किनकी विगतमा नेपालको राजनीतिक विश्लेषण गर्ने कतिपय माहिर राजनीतिक विश्लेषकको विश्लेषण समेत झुट्टा सावित हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !