१५ बैशाख २०८१, शनिबार

नेता पौडेलले भने, ‘ओली सरकारले अधिनायकवादी चरित्र देखायो’

आफूलाई जनतासामु पुग्न नदिन सरकारले निषेधाज्ञा लगाएकोमा लोकतन्त्रको मर्ममा प्रहार


रामचन्द्र पौडेल फाइल फोटो

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी केपी ओली नेतृत्वको सरकारले आफ्नो अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका छन् । ३ घण्टा प्रहरी हिरासतमा बसेपछि उनलाई साँझ साढे ५ बजेतिर रिहा भएपछि उनले सरकारले शक्ति दुरूपयोग गरेको पनि बताएका छन् ।

साथै उनले सरकारले स्थानीय सरकारको कार्यक्रमलाई सुरक्षा दिनुको साटो अवरोध गर्न ठिक नभएको बताउदै आफूलाई जनतासामु पुग्न नदिन सरकारले निषेधाज्ञा लगाएकोमा लोकतन्त्रको मर्ममा प्रहार भएको बताएका छन् । राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्तत: लोकतन्त्रलाई नै आघात पुर्‍याउँने भएकोले सरकारको यो कृत्यको विरोध गर्न आवश्यक भएको प्रष्ट गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर पार्टीका वरिष्ठ नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए । सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेपछि उनलाई प्रहरीले जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ जिल्ला प्रहरी स्रोतले जानकारी दिएको छ ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्ग समेत केहि समय अवरुद्ध गरेको थियो ।

तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई सुरक्षाको कारण देखाउदै प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको थियो ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसका वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम विथोल्ने गरी निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग भएको बताउदै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनु सरकारको तानाशाही प्रवृत्ति भएको बताएका छन् ।

साथै नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप नियोजित राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको भन्दै ओलीका लागि निकै महँगो पर्ने समेत चेतावनी दिएका थिए ।

यो पनि पढ्नुहोस्

पौडेल ३ घण्टा प्रहरी हिरासतमा बसेपछि भए रिहा, आखिर किन पक्रियो प्रहरीले उनलाई ?

नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप ओलीका लागि निकै महँगो पर्नेछ : नेता थापा

नेता पौडेलको पूर्व निर्धारित कार्यक्रम विथोल्न निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला

किन र कसरी अचानक कांग्रेस नेता रामचन्द्र पौडेल पुगे प्रहरी हिरासतमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !