२५ बैशाख २०८१, मंगलबार

ललिता निवास प्रकरणका विचौलिया दम्पतीलाई ५ दिन थुनामा राख्न आदेश


ललिता निवास

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा विचौलियाको भूमिका खेल्ने सुवेदी दम्पतीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदीलाई अनुसन्धनाका लागि म्याद थप गरिएको हो ।

माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरू ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।

प्रहरीले व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा सुवेदी र उनकी पत्नीलाई पक्राउ गरेको थियो । उनीहरु दुवैलाई यसअघि नै भूमाफिया भनी किटान गरिएको थियो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

वालुवाटारको जग्गा हिनामिना भएको पुष्टि भएपछि सुवेदी दम्पति फरार थिए । सुवेदीविरुद्ध २ वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । अख्तियार अनुसन्धान आयोगले पनि उनीहरुबिरुद्ध २०७६ सालमै मुद्धा दायर गरेको थियो ।

उनीहरू लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । यसअघिको सिआइबीको अनुसन्धानले उनीहरूसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

यो पनि पढ्नुहोस्

ललिता निवास जग्गा प्रकरणका विचौलिया सुवेदी दम्पती पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !