२४ बैशाख २०८१, सोमबार

ललिता निवास जग्गा प्रकरणका विचौलिया सुवेदी दम्पती पक्राउ


ललिता निवास

काठमाडौं । वालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विचौलियाको भूमिका खेल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा प्रकरणका मुख्य आरोपीमा उनीहरुलाई गएराति स्वयम्भूबाट पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी रहेको प्रहरीले जनाएको छ । प्रहरीले व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा सुवेदी र उनकी पत्नीलाई पक्राउ गरेको छ ।

उनीहरु दुवैलाई यसअघि नै भूमाफिया भनी किटान गरिएको थियो । उनीहरू अहिले सीआईबीको नियन्त्रणमा रहेको बताइएको छ । उनीहरुलाई म्याद थपका लागि काठमाडाैं जिल्ला अदालतमा लगिएको छ ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

वालुवाटारको जग्गा हिनामिना भएको पुष्टि भएपछि सुवेदी दम्पति फरार थिए । सुवेदीविरुद्ध २ वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । अख्तियार अनुसन्धान आयोगले पनि उनीहरुबिरुद्ध २०७६ सालमै मुद्धा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !